जिसस मकवानपुरको प्रमुखमा घलान निर्वाचित

तु खबर संवाददाता
२०७९ असार २,बिहीबार १६:१०

मकवानपुर । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको प्रमुखमा नेकपा माओवादी केन्द्रका ललित कुमार घलान निर्वाचित भएका छन् । बिहीबार सम्पन्न मतगणना अनुसार, घलान १७ मतसहित जिसस प्रमुख पदमा निर्वाचित भएका हुन् ।

उनले सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका थिए । त्यस्तै, नेकपा एमालेबाट उम्मेदवार बनेका बुद्धिराम डिम्डुङ ३ मतसहित पराजित भएका छन् ।

यसैगरी, जिससको सदस्यतर्फ गठबन्धनका उम्मेदवारहरु निर्वाचित भएका छन् । महिला सदस्यमा तारा ढुंगाना, विष्णुमाया थपलिया र सुमित्रा थिङ १७ मतसहित निर्वाचित भएका छन् । उनीहरु नेपाली कांग्रेसबाट उम्मेदवार बनेका थिए । एमालेबाट उम्मेदवार बनेका बिना कुमारी थिङ लामाले ३ मत प्राप्त गरेकी छिन् ।

यस्तै, सदस्य तर्फमा खड्गबहादुर पुलामी, सुवर्ण गोपाली र बिरेन्द्र कुमार लामा निर्वाचित भएका छन् । पुलामी र गोपालीले १७ मत प्राप्त गरेका छन् । उनीहरु माओवादी केन्द्रबाट उम्मेदवार बनेका थिए । नेकपा एकीकृत समाजवादी उम्मेदवार बनेका लामाले १६ मत प्राप्त गरेका थिए । एमालेका उम्मेदवार तोयानाथ तिमल्सिनाले ३ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा कांग्रेसका सानुकाजी लुईटेल र दलित तथा अल्पसंख्यक सदस्यमा एकीकृत समाजवादीकी सुनिता परियार भने निर्बिरोध निर्वाचित भएका छन् ।