हेटौंडामा चैत्र ४ गतेबाट अन्तरपालिका फुटबल प्रतियोगिता हुने

मकवानपुर । मकवानपुर जिल्लाको हेटौंडामा आगामी चैत्र ४ गतेबाट अन्तरपालिका फुटबल प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिता जिल्ला समन्वय समिति मकवानपुर प्रायोजन तथा जिल्ला खेलकुद विकास समितिको आयोजनामा हुने भएको हो ।
चैत्र ११ गतेसम्म संचालन हुने प्रतियोगिता हेटौंडा उपमहानपालिका वडा नम्वर ५ पिप्ले (क्याम्पा) रंगशालामा हुनेछ । प्रतियोगितामा जिल्लामा रहेको १० वटै पालिकाको सहभागिता रहने जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर घलानले जानकारी दिए ।
प्रतियोगिताको पहिलो दिन चैत्र ४ मा कैलाश र भीमफेदी गाउँपालिका बिच प्रतिस्पर्धा हुनेछ । यस्तै, दोस्रो दिन चैत्र ५ गते हेटौंडा र बकैया गाउँपालिका, राक्सिराङ र थाहानगर, तेस्रो दिन चैत्र ६ मकवानपुरगढी र इन्द्रसरोवर बिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
त्यस्तै, प्रतियोगितामा चैत्र ४ गतेको विजेतासँग मनहरीले र चैत्र ५ गते हुने राक्सिराङ र थाहा बिचको विजेतासँग बागमतीले खेल्ने छन् । मनहरी र बागमतीले खेलतालिका अनुसार ‘बाइ’ पाएका छन् ।
प्रतियोगितामा विजेताले नगद २ लाख र उप विजेताले नगद १ लाख रुपियाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा खेल अवधि भरको उत्कृष्ठ खेलाडीले नगद १० हजार पुरस्कार राशी तोकिएको छ ।
प्रतियोगितामा सहभागि हुनका लागि ३० वर्ष मुनिको सम्बन्धी पालिकाको खेलाडी हुनुपर्ने र विभागीय टोली वा ए डिभिजन खेलेका खेलाडीहरु समावेस गर्न नपाइने उल्लेख गरिएको छ ।