हेटौंडाको मेयरमा नेकपा एकीकृत समाजवादीबाट पोखरेल र लामा सिफारिस

तु खबर संवाददाता
२०७९ बैशाख ४, आईतवार ०८:४८

मकवानपुर । नेकपा एकीकृत समाजवादीले हेटौंडाको मेयरमा जिल्ला अध्यक्ष श्रीधर पोखरेल र बहालवाला उपमेयर मिना लामाको नाम सिफारिस गरेको छ । पार्टीको नगर कमिटिको शनिवार राति सम्पन्न बैठकले पोखरेल र लामाको नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो । गठबन्धनबाट चुनाव लड्ने केन्द्रीय गठबन्धनको सहमति भए पनि पार्टीका तर्फबाट वडादेखि उपमहानगरसम्मको नेतृत्व लिन उम्मेदवारहरूको नामबारे बैठकमा निर्णय भएको नेकपा एकीकृत समाजवादीले जनाएको छ ।

यस्तै, गठबन्धनको निर्णयप्रति पूर्ण प्रतिबद्ध रहँदै गठबन्धनका सम्पूर्ण उम्मेदवारलाई जिताउनका लागि नेकपा एकीकृत समाजवादी एक ढिक्का भएर लाग्ने निर्णय पनि गरिएको छ । बैठकले हेटौँडाको उपमेयर पदको उम्मेदवारको रूपमा तिलक अधिकारी, ध्रुव भुजेल, कविन पन्त र तारा ढुङ्गाना लामाको नाम सिफारिस गरिएको छ ।

यस्तै, हेटौँडाका १९ वटै वडाबाट अध्यक्षका उम्मेदवार पनि नगर कमिटीबाट जिल्ला कमिटीमा सिफारिस भएका छन् । हेटौँडा १ मा बेगम बराल, २ मा तारा ढुङ्गाना लामा र शिशिर पराजुली, ३ मा तेजराज बर्तौला, मेनुका पौड्याल र यादव गौतम, ४ मा निरज सिंह, ५ मा रविन्द्र पोख्रेल, ६ मा गोपालप्रसाद दाहाल, ७ मा राजु अधिकारी, रघुप्रसाद आचार्य, ८ मा बैकुन्ठप्रसाद सापकोटा, ९ मा सुकराम केसी, १० मा प्रेमकुमार गुरुङ, ११ मा देवकुमार श्रेष्ठ, १२ मा सोमलाल बल, १३ मा मनोज वाइवा, विष्णुमाया लामा, राजकुमार वाइवा, नवराज थिङ, १४ मा मोहनसिं मोक्तान, १५ मा दिपेश थिङ, प्रेमबहादुर भोम्जन, १६ मा लोकनाथ चौलागाईं, १७ मा कृष्णबहादुर सापकोटा, १८ मा केदार बानिया र १९ मा रामप्रसाद पौडेल अध्यक्षका लागि नगर कमिटीबाट पार्टी जिल्ला कमिटीमा सिफारिस भएका हुन् । बैठकले १९ वटै वडाका लागि चुनावी कमान्डरहरू पनि खटाएको छ ।