हेटौंडाको मेयर बन्न पूर्वलडाकु ‘प्रलोक’ को कसरत
मकवानपुर । नेकपा माओवादी केन्द्र उपत्यका विशेष प्रदेश कमिटीका उपाध्यक्ष प्रकाश पाण्डे (प्रलोक) ले हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने आकाँक्षा व्यक्त गरेका छन् । आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरको मेयर पदमा उम्मेदवारी दिने दावी गर्दै प्रलोक आन्तरिक कसरतमा जुटेका छन् ।
उनले आफू निकटका नेताहरुलाई आफ्नो पक्षमा माहौल सिर्जना गर्नसमेत आग्रह गरिसकेका छन् । प्रलोक निकट स्रोतका अनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पनि प्रलोकलाई मेयरको रुपमा अगाडि बढाउने विषयमा सकारात्मक रहेका छन् । उनी निकट स्रोतका अनुसार २ दशकभन्दा बढी माओवादी राजनीतिमा सक्रिय रही इमान्दार नेताको रुपमा छवि बनाएको भएपनि संसदीय अवसरबाट भने बञ्चित हुँदै आएका प्रलोकको लागि यो निर्वाचनमा हेटौंडाको मेयर बनाउन केन्द्रीय स्तरमा नै लभिङ भइरहेको छ ।
मकवानपुरमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाको संयुक्त गठबन्धन हुने बताइन्छ । गठबन्धनको तर्फबाट मेयरमा प्रलोकलाई अघि बढाउने तयारी भइरहेको माओवादी वृत्तमा चर्चा छ । ‘हेटौंडाको मेयर कांग्रेसले पाउने चर्चा छ, माओवादी केन्द्रले पाउँदा प्रलोकजीले नै पाउनुहुन्छ । उहाँकै कारण माओवादीले मेयर पाउने संभावना बढेर गएको हो ।’ माओवादी केन्द्रका एक नेताले भने ।
सशस्त्र द्धन्द्धकालमा माओवादीको बटालियन कमाण्डरसम्म भएका प्रलोकले माओवादी आन्दोलनमा उल्लेखनीय भूमिका निर्वाह गरेका छन् । प्रलोक स्वेच्छिक अवकाश रोजेका पूर्वलडाकुसमेत हुन् । केपी शर्मा ओली नेतृत्वको सरकारले प्रचण्डको सुरक्षा कटौती गरेपछि प्रलोककै नेतृत्वमा प्रचण्डको सुरक्षामा स्पेशल टिम खटिएको थियो ।
