मकवानपुरमा राप्रपा नेपालप्रति लचिलो बन्दै एमाले
मकवानपुर । आसन्न स्थानीय तह निर्वाचनमा नेकपा एमालेले बागमती गाउँपालिकाको अध्यक्षमा राप्रपा नेपालबाट उम्मेदवार तय गर्ने तयारी गरेको छ । हिजो मंगलबार एमाले र राप्रपा नेपालबीच भएको छलफलमा जिल्लाको सबै पालिकामा स्थानीय तहकै सिफारिसको आधारमा उम्मेदवार तय गर्नेसमेत निर्णय भएको हो ।
बैठकमा राप्रपा नेपाल मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटाले बागमती गाउँपालिकाको अध्यक्षसहित हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, मकवानपुरगढी, मनहरी र इन्द्रसरोवर गाउँपालिकामा आफ्नो पार्टीले उपप्रमुख र सबै स्थानीय तहमा हैसियत अनुसार वडाअध्यक्ष पाउनुपर्ने प्रस्ताव राखेका थिए । पहिलो चरणमा स्थानीय तहमा नै छलफल हुनुपर्ने र स्थानीय तहबाटै आएको सिफारिसको आधारमा अवस्था हेरेर उम्मेदवार तय गरिने सहमति जुटेपछि दुवै दलले स्थानीय तहको छलफललाई तीव्र पारेका छन् ।
तु खबरसँग कुराकानीको क्रममा राप्रपा नेपाल मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटाले बैठक निकै सकारात्मक भएको प्रतिक्रिया दिए । उनले भने ‘हामीले हिजो नेकपा एमाले जिल्ला कमिटीसँग चुनावी तालमेलको विषयमा छलफल गर्यौँ । बागमती गाउँपालिकाको अध्यक्ष, हेटौंडा उपमहानगरपालिकाको उप मेयर, थाहा नगरको उपमेयर, मनहरी, मकवानपुरगढी र इन्द्रसरोवर गाउँपालिकाको उपाध्यक्ष हामीले पाउनुपर्ने माग गरेका छौँ । अघिल्लो स्थानीय निर्वाचनमा एमाले पराजित भएको वडाहरुमा पनि हाम्रो पार्टीबाट उम्मेदवार बनाउन प्रस्ताव गरेका छौँ । छलफल निकै सकारात्मक भएको छ ।’
त्यस्तै एमाले अध्यक्ष एकलाल श्रेष्ठले चुनावी तालमेलको विषयमा दुवै दलबीच स्थानीय स्तरमा आवश्यक छलफल गरी जिल्लामा सिफारिस गर्ने र सोही आधारमा उम्मेदवार तय गर्ने सहमति भएको बताए । ‘हामीले स्थानीय तहलाई नै जिम्मेवारी दिएका छौँ । उहाँहरुको प्रस्ताव जायज छ । तर, उहाँहरुले माग गरेअनुसारकै पालिका भने नहुन पनि सक्छ । स्थानीय तहले कुन पालिकामा कुन उम्मेदवार बलियो छ भन्ने निचोड निकाल्छ, सोही अनुसार हामी अघि बढ्छौँ ।’ श्रेष्ठले भने ।
मकवानपुर, राप्रपा नेपालका अध्यक्ष कमल थापाको गृह जिल्ला हो । हालसालै राप्रपाबाट अलग्गिएका थापाले राप्रपा नेपाल स्थापित गरेका छन् । थापाको गृहजिल्ला पनि भएकोले यहाँ राप्रपा नेपालको उपस्थिति पनि बलियो छ । २०७४ को स्थानीय तह निर्वाचनमा तत्कालिन राप्रपाले मकवानपुरमा चौथो स्थानमा मत प्राप्त गरेको थियो ।
