‘इन्जिनियर बन्ने सपना त्यागेर जनयुद्धमा होमिएँ ’
मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्वर १२ का वडाध्यक्ष ललित घलान कर्मशील किसान पनि हुन् । व्यवसायीक पुष्पखेती गरेर चर्चामा आएका घलानले बेमौसमी तरकारी खेती पनि गरिरहेका छन् ।
वडा कार्यालयको काम सकेपछि उनी बारीमा पुग्छन् । जनताको कामको चटारोसंगै उनलाई फूल र बेमौसमी तरकारी बेच्न भ्याइनभ्याई छ ।
बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौँडामा हुने विभिन्न सभा/समारोह, कार्यक्रमहरुमा प्रयोग हुने फूलको माला उनैले उपलब्ध गराउँछन् ।
बर्षभरी नै बिक्रि हुने भएकोले फूल खेती अन्य खेतीको तुलनामा फाइदाजनक भएको उनी बताउँछन् । मकवानपुरमा अन्य जिल्लाहरुबाट तरकारी आयात गर्नुपर्ने अवस्था रहेकोले आफ्नो ध्यान तरकारी खेतीतर्फ पनि गएको उनको भनाई छ ।
उनले आफ्नै १३ कठ्ठा जमिनमा बेमौसमी तरकारी खेती पनि गरेका छन् । श्रीमती ललिता उनलाई खेतीपातीको काममा सघाउँछिन् । कृषिबाटै बार्षिक ३ लाखभन्दा बढी आम्दानी हुने गरेको घलान बताउँछन् ।

घलानको राजनीतिक यात्रा
घलानले मुलुकको व्यवस्था परिवर्तनका लागि बिसौँ बर्ष लगानी गरेका छन् । १५ बर्षको उमेरमै विद्यार्थी जीवनबाट उनले राजनीति सुरु गरेका हुन् । परिवर्तनका निम्ति भएका विभिन्न आन्दोलनहरुमा सहभागि भएका उनी तत्कालिन माओवादी पार्टीको नेतृत्वमा भएको जनयुद्धमा पनि सक्रिय थिए ।
साधारण परिवारमा जन्मेका घलानले विद्यार्थी जीवनबाटै राजनितिक जीवनको पाईला आगाडि बढाएका थिए ।
हेटौँडाको नवलपुरमा रहेको त्रिभुवन माविमा कक्षा ८ मा पढ्दादेखिनै उनले विद्यार्थी राजनीति सुरु गरेका थिए । बाल्यकालदेखिनै उनी ‘सबै समान हुनुपर्छ’ भन्ने सोच राख्दथे । जन्मकै आधारमा कोही ‘राजा’ र कोही ‘रैती’ हुनुहुँदैन भन्ने उनको धारणा थियो ।
जनताबाट चुनिएका जनताकै छोराछारीले योग्यता र क्षमताको आधारमा जनताको सेवा गर्न पाउनुपर्ने उनी ठान्दछन् ।
न्यु भिजन मल्टिपल डिल्लीबजारबाट ब्याचलरसम्मको अध्ययन पूरा गरेका घलान अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पसको उपाध्यक्ष बने । त्यसैगरी अखिलको केन्द्रिय सदस्य समेत बने । पार्टीको विभिन्न जनजातीसंग सम्बन्धीत भातृ संगठनमा उनले केन्द्रिय स्तरसम्मको नेतृत्वको अनुभव संगाले । २०५१ सालको निर्वाचनमा उनी सक्रिय भएर लागे । २०६० सालमा अनेराश्ववियू क्रान्तिकारीको जिल्ला अध्यक्ष समेत भएका घलान केन्द्रिय सदस्य र सचिव समेत भए ।
घलान राजनितिमा सत्ताबाहेक सबै भ्रम ठान्छन् । सत्तामा रहँदा जनहितका थुप्रै काम गर्न सकिन्छ, नत्र सोचेको जस्तो जनहितका काम गर्न सकिँदैन – उनी बताउँछन् ।
‘म अहिले सत्ताको नजिक भएकै कारण धेरै कामहरु गर्न सफल भएको हुँ, नत्र यत्तिका कामहरु गर्न संभव हुने थिएन’– उनले भने ।
जनताको लागि गाउँगाउँमा पुगेको र सबै आर्थिक अवस्थाका मानिसहरुलाई नजिकैबाट नियालेको उनी सुनाउँछन् । जनताहरु दमन शोषणमा परेको देखेँे, कमजोरलाई बलियाले अन्याय गरेको देखेँ । जात, धर्म पेशा लिङ्ग आदीका आधारमा विभेद भएको देखेँ, हाम्रो मान्यता विभेदको अन्त्य हुनुपर्छ भन्ने हो । हामी मुलुकमा आमुल परिवर्तनको खाँचो छ भनेर लागि परेका थियौँ र अझै निरन्तर लागिरहेका छौँ – उनले भने ।
तर बन्दुक बोकेर लँडाई झगडा गरेर मात्रै मुलुकमा परिवर्तन सम्बभ छैन भनेर हामी परिवार समाज र देशमै विकास र चेतनाको विस्तार गर्न लागि परेका छौँ । मुलुकमा युवाहरु बेरोजगार छन् । उनीहरुले अब कृषि क्रान्ति गर्नुपर्छ त्यसको सुरुवात म आफैँबाट गरेको छु । यो उनीहरुको लागि प्रेरणा पनि बन्न सक्नेछ भन्ने विश्वास छ – उनले भने ।
घलानको बाल्यकाल
घलानको जन्म २०३९ मंसिर १४ गते हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ मा भएको हो । आमा शान्तिमाया घलान र बाबु बीरबहादुर घलानको उनी जेठो छोरा हुन् । घलानको १४ जनाको परिवारमध्ये ४ दाजुभाई र एक छोरा छन् ।
साधारण परिवारमा जन्मेका घलान सानैदेखि असल र मिहेनती स्वभावका थिए । सानोमा उनको इन्जिनियर चाहाना थियो । तर जनयुद्धको प्रभाबका कारण राजनीतिमा आफु होमिन पुगेका उनीे बताउँछन् ।
बाल्यकालदेखिनै सोझो र इमान्दार भएकोले उनी सबैको विस्वासको पात्र बन्न पुगे । गाउँमै रहेको स्कुल पढेर आउने अनि गाइबस्तु चराउने र घाँस दाउरा गर्ने उनको दैनिकी थियो । ‘सानामा पनि कृषि पेशा गर्न रमाइलो लाग्ने गरेको उनको भनाई छ ।
उनले पदमपोखरीमा रहेको बुद्ध प्राथमिक विद्यालयमा कक्षा ५ सम्मको गरेका हुन् । त्यसपछि उनी हेटौँडाको नवलपुरमा रहेको त्रिभुवन माविमा अध्ययन गर्न थाले ।
घलानले त्रिभुवन माविबाटै एसएलसीसम्मको अध्ययन पूरा गरे । आमा बाबाले अन्नबाली बेचेर, गाइबस्तु पालेर दुख गरेर पठाएको उनी सम्झन्छन् ।
विकास गरेरै जनताको मन जिते
घलानले विकासका काम गरेरै जनताको मन जितेका छन् । चाहाना भयो भने विकास गर्न सकिन्छ भन्ने उनको मान्यता छ ।
राजनीतिबाट राजनीतिक परिवर्तन मात्रै होइन राज्यको व्यवस्था र जनताको अवस्था परिवर्तन गर्न सकिन्छ – उनी भन्छन् ।
हेटौँडा १२ भौगोलिक रुपमा समथल ठाँउ भएपनि विकास निर्माणको काम कम भएकै कारण सो क्षेत्र पछि पर्न गएको उनी बताउँछन् ।
आफु वडाअध्यक्ष निर्वाचित भएपछि हेटौँडा १२ मा पर्ने मूख्य सडक बनस्पतीदेखि हात्तिगाँैडासम्म स्याब ढलान गरिसकेको उनले बताए । अब हात्तिगाँैडादेखि रमन्टार तिन ताप्केसम्म जोड्ने पुलसम्म पुर्याउने लक्ष्य रहेको घलान बताउँछन् ।
पदमपोखरी क्षेत्रको भित्री धेरै बाटोहरु ढलान भइसकेका छन् । हेटौँडा ११ नवलपुर र हेटौँडा १२ जोड्ने पुलको काम पनि अगाडि बढाइएको उनको भनाई छ ।
भौतिक पुर्वाधार विकास मन्त्रालय बागमती प्रदेशको २६ करोड ४१ लाखको बजेटमा पूल निर्माणको काम भइरहेको छ ।
त्यस्तै पदमपोखरीको भोर्ले डाँडामा २ लाखको खानेपानि र सिँचाईको काम भइरहेको छ । घँडेरीडाँडामा एक सय घरधुरीलाई ५० लाखको खानेपानी ट्याङ्की निर्माण भइसकेको छ । हात्तिगौँडामा ७३ लाखको स्वास्थ्य भवन र पदमपोखरीमा बुद्ध माविमा ६ करोडको १८ कोठे भवन निर्माण भइरहेको छ ।
पदमपोखरीको सिग्रेनीमा रहेको प्रतिमा निमाविमा ४ कोठाको र विष्णु ज्योति निमावि ४ कोठाको गरी ५५ लाख लागतमा भवन निर्माणको काम भइरहेको छ ।
हात्तिगाँैडामा ५० लाखको लिभ सिचाँई योजना, पान्तलेमा ७० लाखको लिभ सिचाँई योजना, पान्तलेमै ४५ लाखको डिप बोरिङको काम सम्पन्न भइसकेको छ ।
वडाबासीहरुलाई कृषि पशुपालनका लागि पाठापाठी किन्न १० लाख अनुदान दिइएको उनले बताए । वडाबासीहरुमा चेतनाको स्तरबृद्धि गर्नुपर्छ भनेर विभिन्न चेतनामूलक तालिम गोष्ठीको आयोजना गर्ने, निशुल्क लोकसेवा तयारी कक्षा संचालन गर्ने, कला, साहित्य, सांस्कृतिक र खेलकुदको क्षेत्रमा पनि विभिन्न योजनाका साथ काम गरिरहेको उनी बताउँछन् ।
जनयुद्धले आमुल परिवर्तन ल्यायो
परिवर्तनका लागि जनयुद्धमा होमिएका घलानले नेपालको राजनीतिमा नयाँ र जटिल परिवर्तन भएको बताउँछन् ।
बर्गीए, जातीय, लैङ्गिकलगायतका विभेदको अन्त्यका लागि उनी जनयुद्धमा होभिएको बताउँछन् ।
सरकारबाट गरिब निमुखा, किसान, मजदुर, जनजाती र दलितलगायतको न्यायका लागि लडेको बताउँदै उनले जनयुद्धबाटै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको बताए ।
माओवादी जनयुद्धपछि मुलुकको हित हुने थुप्रै व्यवस्था परिवर्तन भएता पनि पनि जनताको अवस्थामा भने अझै परिवर्तन ल्याउनु आवश्यक रहेको उनको बुझाई छ ।
जनयुद्ध नभएको भए अहिलेको जस्तो अवस्था पनि हुने थिएन, विस्तारै परिवर्तन हुँदै जानेछन्, समृद्धि ल्याउन तपाई हामी सबै लाग्नुपर्छ –उनले भने ।
