हेटौंडामा जारी शिक्षक भलिबलको उपाधि महेन्द्र माविलाई

तु खबर संवाददाता
२०७८ पुष ३०,शुक्रबार १५:००

मकवानपुर । हेटौंडामा जारी जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधि बकैया गाउँपालिकाको महेन्द्र माविले हात पारेको छ । शुक्रबार दिउँसो हेटौंडा–४, हुप्रचौरमा सम्पन्न फाइनल खेलमा थाहा नगरपालिकाको सुन्दरीदेवी माविलाई पराजित गर्दै महेन्द्र माविले उपाधि हात पारेको हो ।

महेन्द्र माविले सुन्दरीदेवी माविलाई २५–२१, २५–२३ र २५–१६ को सोझो सेटमा पराजित गरेको हो । उपाधिसँगै महेन्द्र माविले नगद २५ हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको सुन्दरीदेवी माविले १५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडी महेन्द्र माविका रमेश परियारले नगद ३ हजार रुपैयाँ प्राप्त गरेका छन् भने उत्कृष्ट स्पाइकरमा सुन्दरीदेवी माविका प्रकाश बहादुर चन्द र बेस्ट सेटर महेन्द्र माविका प्रकाश थापा मगरले जनहरी २ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमी विद्यालय खेलकुद शिक्षक संघ मकवानपुरले आयोजना गरेको प्रतियोगितामा जिल्लाका १९ वटा विद्यालयको टिम सहभागिता रहेको थियो । समापन कार्यक्रममा मदन भण्डारी स्पोर्ट्स एकेडेमी विद्यालय खेलकुद शिक्षक संघ मकवानपुरका अध्यक्ष राजाराम पोखरेलको सभाध्यक्षता तथा नेकपा एमालेका केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला ईन्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यता रहेको थियो ।