जेसीजमा नेतृत्व चयनप्रति पूर्वअध्यक्षहरुको असहमति

तु खबर संवाददाता
२०७८ पुष १८, आईतवार ०८:३५

मकवानपुर । बस्तिपुर जेसीज हाँडीखोलको वर्ष २०२२ को नेतृत्व चयनप्रति पूर्व अध्यक्षहरुले असहमति जनाएका छन् । सात जना पूर्वअध्यक्षहरुले शनिबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै तेजप्रसाद उप्रेती (रमेश) लाई अध्यक्ष बनाइएको प्रक्रियाको विरोध गरेका हुन् । पूर्व अध्यक्षहरु दिपेन्द्रकुमार बर्तौला, बसन्तकुमार सिटौला, प्रेमप्रसाद बोलखे, विनोदकुमार बतौला, पुस्कल न्यौपाने, राममणि बर्तौला र सुनिल अधिकारीले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै नेतृत्व चयन प्रक्रियाप्रति असहमति जनाएका हुन् ।

अध्यक्षका अर्का उम्मेदवार गणेश अधिकारीको भाई मोटरसाइकल दुर्घटनामा परी भरतपुर स्थित अस्पतालमा गम्भीर अवस्थामा उपचाररत रहेको अवस्थामा उप्रेतीलाई अध्यक्षमा निर्वाचित गरिएको थियो । निर्वाचन आयुक्तलाई चर्को दबाब दिएर उप्रेतीलाई अध्यक्ष बनाइएको भन्दै पूर्व अध्यक्षहरुले यो घटना मानवीयताविरुद्ध भएको टिप्पणी गरेका छन् ।

पूर्व अध्यक्ष दिपेन्द्रकुमार बर्तौलाले यो घटनाले मानवीयता नै हराएको पुष्टि भएको बताए । ‘हामी लामो समयदेखि जेसीज अभियानमा छौं । मानवता प्रवद्र्धन हाम्रो मूल उद्देश्य हो,’ उनले भने,‘ तर, अध्यक्षको अर्को उम्मेदवारमा त्यो भावना देखिएन । यसले हामीलाई नै जेसीजको रुपमा काम गर्न हिनताबोध गराएको छ । तेजप्रसाद उप्रेतीले गरेको व्यवहार अमानवीय र अस्वभाविक हो । यसको हामी घोर भत्सर्ना गर्दछौं ।’ उनले अर्का उम्मेदवार अधिकारी उपस्थित नहुँदालाई अवसरको रुपमा उप्रेतीले उपयोग गरेको बताए ।

यस्तै अर्का पूर्व अध्यक्ष सुनिल अधिकारीले यो कार्य अपराध भएको टिप्पणी गरे । ‘हामीले त निर्वाचन प्रक्रिया स्थगित गर्न नै अर्का अध्यक्षले आग्रह गर्नुहुनेछ भन्ने सोचेका थियौं,’ उनले भने,‘तर उहाँलाई यो अवसरको रुपमा आएको जस्तो लागेको रहेछ । यो कार्य अपराध हो । मानवीयता भन्ने विषय उहाँमा रहेनछ । अब हामीले कसरी त्यो जेसीजलाई सल्लाह सुझाव दिने ।’

९० प्रतिशत भन्दा बढी सदस्यहरुको असहमति हुँदा हुँदै पनि जबरस्ती नेतृत्व चयन गरिएको भन्दै अर्का पूर्व अध्यक्ष बसन्तकुमार सिटौलाले यो प्रवृत्ति गलत भएको बताए । यो नेतृत्व चयन प्रक्रिया र नेतृत्वलाई नै मान्यता नदिन नेपाल जेसीजलाई आग्रह गरिने उनले बताए । आफूलाई दबाब दिएर गरिएको निर्वाचन प्रक्रिया प्रति असन्तुष्टि जनाएका निर्वाचन आयुक्त जयराम सुवेदीले सामाजिक सञ्जालबाट जेसीजको कुनै पनि पदमा नरहने घोषणा नै गरेका छन् ।

बस्तिपुर जेसीज, हाँडीखोलाको ११ औं वार्षिक साधारणसभा एवम् अधिवेशनले शनिबार नयाँ नेतृत्व चयन गर्ने क्रममा रहेको अवस्थामा अधिकारीको भाई सवार मोटरसाइकल शुक्रबार राति दुर्घटना भएको थियो । उनको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

अधिकारीले उम्मेदवारी दर्ता गराएको अवस्थामा उनको सहमति विना नै अर्का उम्मेदवार उप्रेतिलाई अध्यक्ष घोषणा गरिएको थियो । यस्तै, कार्यकारिणि उपाध्यक्षका उम्मेदवार विजय पौडेलको असहमतिमा प्रेम गोंबा र अमृत पाठकलाई कार्यकारिणि उपाध्यक्ष घोषणा गरिएको थियो । यो निर्वाचन प्रक्रियामा नै पूर्व अध्यक्षहरुले विरोध जनाएका हुन् ।