‘चुनावसम्म संसद अवरोध गरिरहन्छौं’
विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव अघिसम्म संसद अवरोध गर्ने बताएका छन् । शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरुले गरेको प्रश्नको जवाफ दिँदै उनले सो कुरा बताएका हुन् ।
गत भदौमा आफ्ना १४ सांसदलाई निष्कासनको कारबाही गरेर संसदलाई जानकारी गराउँदा सभामुख अग्निप्रसाद सापकोटाले त्यसलाई मान्यता नदिएको विरोधमा नेकपा एमालेले २३ भदौदेखि लगातार संसद अवरोध गर्दै आएको छ । एमालेले कारबाही गरेका माधवकुमार नेपालसहितका १४ सांसद सहभागी भई पछि नेकपा एकीकृत समाजवादी गठन भएको थियो ।
सभामुखले कारबाहीलाई मान्यता नदिएर दल विभाजन गर्न सहयोग गरेको भन्दै एमालेले लगातार संसद अवरोध गर्दै आएको छ । तर, एमालेको विरोधका बाबजुद सभामुख सापकोटाले संसद बैठक सञ्चालन गरिरहेका छन् ।
