एमाले पदाधिकारी संख्या १५ हुने

एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी दिन ६ वटा मापदण्ड
तु खबर संवाददाता
२०७८ आश्विन १७, आईतवार १५:०२

काठमाडौं । नेकपा एमाले पदाधिकारी संख्या १५ हुने भएको छ । गोदावरीमा जारी विधान महाधिवेशनमा उपमहासचिव पौडेलले उठेको प्रश्नको जवाफ दिँदै सो कुराको जानकारी दिएका हुन् । पौडेलले पेश गरेको विधान संशोधन प्रस्तावमा उपमहासचिव पद राखिएको थिएन । तर, समूहगत छलफलपछि जवाफ दिने क्रममा पौडेलले वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद रहने जानकारी दिँदै अब एमाले पदाधिकारी संख्या १५ हुने बताएका हुन् ।

जसमध्ये अध्यक्ष १, वरिष्ठ उपाध्यक्षसहित उपाध्यक्षको संख्या ५, महासचिव १, उपमहासचिव १ र सचिव ७ जना रहनेछ । विशेष महाधिवेशनमा कोषाध्यक्ष राख्नुपर्ने माग पनि उठेको थियो । तर, उपमहासचिव पौडेलले यो आवश्यक नपर्ने बताए । ‘कम्युनिस्ट पार्टीमा पदाधिकारी चयन सजिलो हुँदैन, मैले १३ जनाको पदाधिकारी प्रस्ताव गरेको थिएँ । पदाधिकारी धेरै हुँदा व्यवस्थापन गर्न सजिलो हुँदैन, त्यसैले मैले १५ सदस्यीय प्रस्ताव गरेको छु’, पौडेलले उठेका प्रश्नको जवाफ दिँदै भने ।

एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी दिन ६ वटा मापदण्ड
नेकपा एमालेले केन्द्रीय कमिटी सदस्यको उम्मेदवार हुनका लागि ६ वटा मापदण्ड बनाएको छ । नवौं महाधिवेशनले पारित गरेको विधानलाई परिमार्जन गर्दै प्रथम विधान महाधिवेशनले केन्द्रीय समिति उम्मेदवार बन्नका लागि मापदण्ड बनाएको हो । एमाले नेता विष्णु पौडेलकाअनुसार प्रस्तावित विधानको धारा ५४ मा गरिएको व्यवस्था अनुसार केन्द्रीय कमिटी सदस्यको उम्मेदवार हुन केन्द्रीय कमिटी वा केन्द्रीय निकायको सदस्य भइ काम गरेको हुनुपर्ने छ ।

यस्तै, राष्ट्रिय प्रतिनिधि परिषदको सदस्य भइ काम गरिसकेको हुनुपर्ने, प्रदेश कमिटीको सदस्य भइ काम गरेको वा केन्द्रीय विभागको सचिव अथवा सदस्य भइ काम गरेको हुनुपर्नेछ । जिल्ला कमिटीको पदाधिकारी भइ एक कार्यकाल वा सदस्य भई दुई कार्यकाल काम गरेको अथवा कम्तीमा १० वर्ष पार्टी सदस्य भइ काम गरेको व्यक्तिले पनि केन्द्रीय कमिटी सदस्यको उम्मेदवार बन्न पाउनेछ । तर, दलित, महिला सीमान्तकृत जनजाति, अपांगता भएका व्यक्तिका हकमा भने एक कार्यकाल जिल्ला कमिटी सदस्य र ७ वर्ष पार्टी सदस्य भए केन्द्रीय समिति सदस्यको उम्मेदवार बन्न पाउनेछ ।