विष्णु पौडेललाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
पूर्वउपप्रधान तथा अर्थ मन्त्री विष्णु पौडेललाई विशेष अदालतले ७ दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुमति दिएको छ । सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले पौडेललाई सोमबारदेखि लागू हुनेगरी ७ दिन थुनामा राख्न अनुमति दिएको हो ।
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्धामा अनुसन्धान गर्न भन्दै विभागको पत्रको आधारमा प्रहरीले पौडेललाई सुर्खेतबाट पक्राउ गरेको थियो । पक्राउ पछि उनलाई विशेष अदालत उपस्थित गराइएको थियो ।
सम्पत्त शुद्धीकरण गरेको अभियोगमा पौडेललाई पक्राउ गरिएको हो । पक्राउपछि अदालतमा पेश गरेर विभागले २० दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतसँग अनुमति मागेको थियो । तर, अदालतले ७ दिनमात्र थुनामा राख्न अनुमति दिएको हो । अब यो समयभित्र विभागले पौडेललाई पुनः विशेष अदालत पेस गर्नुपर्नेछ ।
