मुख्यमन्त्री शाक्यलाई स्काउटको शपथ
मकवानपुर । बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेपाल स्काउट बागमती प्रदेशको संरक्षकको भूमिका रहँदा कसैलाई पनि विभेद नगर्ने प्रतिबद्धता गरेकी छन् । हेटौंडामा स्काउटको शपथ लिँदै मुख्यमन्त्री शाक्यले सबैलाई समान व्यहार गर्ने बताइन् ।
बागमती प्रदेशमा स्काउटलाई अझ सशक्त र व्यापक बनाउन, स्काउटप्रति विश्वास जोगाउन, संद्भाव कायम राख्न संरक्षकका रुपमा आफूले भूमिका खेल्ने उनले बताए । संघीयतामा देश गएसँगै अब स्काउटलाई पनि बागमती प्रदेशमा व्यवस्थि तगर्न प्रदेश स्काउट तदर्थ कमिटीलाई मुख्यमन्त्री शाक्यले निर्देशन दिइन् ।
राजनीतिक भावनाबाट बाहिर आएर उच्च मानवीय सेवा गर्ने संस्था स्काउट भएको उनले बताइन् । बागमती प्रदेशको मुख्यमन्त्री शाक्यलाई नेपाल स्काउटले स्काउटको पद तथा गोपनीताको सपथग्रहण गराएको छ । मुख्यमन्त्री शाक्यसँगै सामाजिक विकास मन्त्री विजय सुवेदी, राज्यमन्त्री जुनेली श्रेष्ठलाई पनि शपथग्रहण गराएको छ ।
बागमती प्रदेशमा स्काउटको संरक्षण मुख्यमन्त्री हुने, सामाजिक विकासमन्त्री प्रमुख स्काउट रहने व्यवस्था छ । शाक्यले हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महत र उपप्रमुख मिना कुमारी लामा, नगर शिक्षा प्रमुख गंगाधर रिमाललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी थिइन् ।
स्थानीय तहको संरक्षकका रुपमा उनीहरुलाई सपथ गराइएको हो । यस्तै, बागमती प्रदेशको सामाजिक विकासमन्त्री एवम् प्रदेश स्काउट प्रमुख सुबेदीले चितवनका ७ स्थानीय तहका स्काउट संयोजकलाई र हेटौंडा उपमहानगरपालिकाका प्रमुख महतले हेटौंडा उपमहानगर कमिटीलाई शपथ ग्रहण गराएका थिए ।
