बागमतीमा फ्रेन्डसीप क्याम्प सम्पन्न
मकवानपुर । मकवानपुरको पूर्वी क्षेत्र बागमती गाउँपालिका १ स्थित सूर्य माध्यमिक विद्यालयमा तीन दिने फ्रेन्डसीप क्याम्प आइतबार सम्पन्न भएको छ । स्थानीय पालिका स्काउट संरक्षक एवम् बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानको प्रमुख आतिथ्यतामा क्याम्पको समापन भएको हो ।
क्याम्पमा सूर्य मावि बागमती १, सुनौला मावि थाहा १, जनकल्याण मावि थाहा ३, देवकी मावि बागमती ५ र बागमती मावि बागमती २ गरी पाँच विद्यालयबाट १६६ जना विद्यार्थी सहभागी थिए । क्याम्पमा संचालित प्रतियोगिताहरुमा नटिंगतर्फ देवकी स्काउट प्रथम, सूर्य स्काउट दोस्रो र सुनौला स्काउट तेस्रो भएको थियो ।
नृत्य प्रतियोगितामा जनकल्याण स्काउट प्रथम, सुनौला स्काउट दोस्रो र सूर्य स्काउट तेस्रो भएका थिए । हाजिरीजवाफ प्रतियोगिता र मार्च पासमा सुनौला स्काउटले प्रथम स्थान हासिल गर्न सफल भयो ।

तीन दिने क्याम्पमा टनेल, वाकिङ अन द ब्याम्बो, टच द टार्गेट, टायर क्रसिङ, बिम क्लाइम्बिङ, सुपर म्यान, ओमेगा जम्प, मंकी ब्रिज, टायर चिम्नी लगायतका नौं प्रकारका साहसिक खेलहरुको अभ्यास गराईएको थियो । गाउँपालिका अध्यक्ष घलानले विद्यालयस्तरमा स्काउट संचालन गर्न आवश्यक आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाए ।
सूर्य स्काउटको संरक्षक एवम् सूर्य माविका प्रधानध्यापक रत्नबहादुर राईको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश स्काउट सदस्यहरु महेन्द्र राना र सौरभ अधिकारी, वडा सदस्य काजिमान भोलन, स्काउटर नरेश अवाले, चन्द्रबहादुर थापा, हर्कबहादुर राई, डोरबहादुर थापा, रोवरहरु अनिल आचार्य, जोन पहाडी, स्काउट शिक्षकहरु राजकुमार राई, किशोर श्रेष्ठ, देवेन्द्र गोपाली, मिना महर्जन, पदमबहादुर बडुवाल लगायतको आतिथ्य रहेको थियो ।
