आजदेखि १८ वर्षभन्दा माथिका नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइने

तु खबर संवाददाता
२०७८ आश्विन ४,सोमबार ०९:५२
file-photo

काठमाडौं । आजदेखि देशभर कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको पहिलो डोज खोप लगाइने भएको छ । देशभरका विभिन्न जिल्लामा आजदेखि ११ दिनसम्म कोरोनाविरुद्धको भेरोसेल खोप अभियान सञ्चालन हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।मन्त्रालयद्वारा सूचना जारी गर्दै ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, बाजुरा र दार्चुलामा १८ वर्षमाथिका नागरिकलाई भेरोसेल खोप लगाउन सुरु गरिने जनाइएको छ ।

त्यस्तै काभ्रे र चितवनमा २५ वर्ष, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछाममा भने ४० वर्ष माथिकालाई खोप लगाइने मन्त्रालयले जनाएको छ । बाँकी ५८ जिल्लामा भने ४५ वर्ष माथिका नागरिकलाई खोप लगाइने छ । अहिले पहिलो मात्रा लगाएका व्यक्तिलाई कात्तिक ४ देखि १४ गतेसम्म दोस्रो मात्रा दिइनेछ । सूचनामा यसअघि छुटेका अग्रपंक्तिमा खटिने, अत्यावश्यक सेवा, शिक्षक, पर्यटकीय क्षेत्र, होटल व्यवसायमा काम गर्ने व्यक्तिलाई खोप दिइने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।