खोप लगाएकाको प्रमाणपत्रको शुल्क नलिन स्वास्थ्य मन्त्रालयको आग्रह

तु खबर संवाददाता
२०७८ श्रावण ३२, सोमबार १७:५१

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) संक्रमणविरुद्धको खोप लगाएकाको क्युआर कोडसहित प्रमाणपत्रको शुल्क नलिन आग्रह गरेको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीकुमार अधिकारीले आज एक विज्ञप्ति जारी गर्दै केही म्यानपावर कम्पनीले प्रमाणपत्रका लागि वैदेशिक रोजगारमा जाने व्यक्तिसँग शुल्क लिइरहेको जानकारीमा आएकाले नलिन आग्रह गरेका हुन् ।

विदेश जानुपर्ने कतिपय व्यक्तिले कोभिड–१९ विरुद्धको खोप लगाएको क्युआर कोडसहितको प्रमाणपत्र लिन अनलाइन फाराम भरी म्यानपावर कम्पनीलाई शुल्क बुझाउनु परेको गुनासा प्राप्त भएकाले त्यसो नगर्न अनुरोध गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।

साथै सो विज्ञप्तिमा शुल्क लिने उपर कडा कारवाही गरिने पनि भनिएको छ ।