एमाले विभाजन भए बागमती सरकार फेरिन्छ– विरोध खतिवडा
मकवानपुर । प्रतिनिधिसभा सदस्य एवम् नेकपा एमालेको माधव पक्षका नेता विरोध खतिवडाले बागमती प्रदेश सरकार फेरबदल हुनसक्ने बताएका छन् ।
उनले केन्द्रीय राजनीतिको प्रत्येक्ष असर प्रदेशहरुमा पनि पर्ने भएकोले सरकार फेरबदल हुनसक्ने बताए ।
नेकपा एमाले आधिकारिक रुपमा विभाजन नभएको वर्तमान अवस्थामा सरकार के हुन्छ, कसरी जान्छ भन्नेबारे एकिन नभएको भएतापनि केन्द्रीय रुपमा पार्टी विभाजन भएमा प्रदेश सरकार पनि फेरिन उनले बताए ।
‘नेकपा एमाले कानूनी रुपमा विभाजन भइसकेको छैन । कुरा स्पष्ट छ नेकपा एमाले फुट्यो भने प्रदेश सरकार परिवर्तन हुन्छ, नत्र यथावत रहन्छ । म हिजो राती ११ बजेसम्म प्रतिनिधिसभामै थिएँ । अहिले बिहान कुनै छलफल भएको छैन । यसै गर्ने भनेर मलाई आधिकारिक जानकारी पनि प्राप्त भएको छैन ।’ उनले भने ।
बागमती प्रदेशमा सत्तारुढ दल नेकपा एमालेको ५६ (सभामुखसहित), प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको २३ (उपसभामुखसहित), प्रतिपक्षी दल नेपाली कांग्रेसको २२ र अन्य विपक्षी दल विवेकशील साझाको ३, राप्रपाको २, नेमकिपाको २ र एक जना स्वतन्त्र सांसद रहेका छन् ।
एमालेभित्रै माधव नेपाल पक्षको २२ मत रहेको छ । माधव पक्षको साथ पाए कांग्रेस र माओवादीले अन्य स–साना दलको सहयोग विना नै सरकार गठन गर्न सक्छ ।
विवेकशील साझा पार्टी भने कांग्रेसको नेतृत्वको सरकारमा सहभागि हुन तयार रहेको कांग्रेस सचेतक लामाले बताए ।
