प्रधानमन्त्री देउवाले पेश गरे प्रतिनिधिसभामा विश्वासको मत सम्बन्धी प्रस्ताव
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका छन् । आइतबार प्रतिनिधिसभाको दोस्रो बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका हुन् ।
उनले सभामुख अग्निप्रसाद सापकोटाको अनुमतिमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका हुन् । सभामुख सापकोटाले संविधानको धारा ७६ को उपधारा ६ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्न अनुमति दिएका हुन् ।
प्रधानमन्त्री नियुक्त भएको मितिले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेको पाँच दिनमै विश्वासको मत लिन थालेका हुन् ।
संवैधानिक इजलासको परमादेश अनुसार राष्ट्रपति भण्डारीले देउवालाई संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।
देउवालाई कांग्रेससहित नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपा र नेकपा एमालेको माधव नेपाल पक्षले विश्वासको मत दिने भएका छन् ।
