राष्ट्रियसभा उपनिर्वाचनः स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर मतदान जारी
मकवानपुर । राष्ट्रियसभाको रिक्त एक सदस्य पदको उपनिर्वाचन बागमती प्रदेशको राजधानी हेटौँडामा जारी छ ।
कोरोना संक्रमणको उच्च जोखिमकाबीच निर्वाचन गराइएको भएपनि मतदाताहरुको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड अवलम्वन गराएर मात्रै मतदान प्रक्रियामा सहभागि गराइएको निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठले जानकारी दिए ।
मतदान प्रक्रिया भुटनदेवी माविको भवनमा जारी छ । विद्यालयको गेट नम्बर २ बाट मतदान स्थलको प्राङ्गणमा प्रवेश गराई मतदान स्थल बाहिर मतदातालाई होल्डिङ गर्ने र लाइन मार्फत् विद्यालयको गेट नम्बर ४ मा मेडिकल डाक्टरसहितको हेल्थ डेक्सको स्थापना गरिएको छ ।
उक्त गेटमा मतदाताको ज्वरो नाप्ने, सेनिटाइजर, मास्क, प्रयोग गर्ने लगाउने, मतदाता नामावली चेकजाँच गर्ने र मतदानका लागि प्रवेश गराउने व्यवस्था मिलाइएको छ ।
पिसिआर नगरेका मतदाताहरुले परिक्षण गर्न चाहेमा मतदान स्थलमा नै एन्टिजेन प्रविधिबाट कोरोना परिक्षण गने व्यवस्था मिलाइएको छ ।
निर्वाचन कार्यालयले ३ वटा मतदान केन्द्रमा मतदान गर्ने व्यवस्था मिलाएको हो ।
स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रदेशसभा सदस्यहरुका लागि छुट्टाछुट्टै मतदान कक्षको व्यवस्थापन मिलाइएको छ । त्यस्तै कोरोना संक्रमित मतदाताहरुको लागि विषेश मतदान कक्षको व्यवस्था गरिएको छ ।
प्रदेशसभा सदस्यका लागि विद्यालयको दक्षिणतर्फबाट २ मिटरको दूरी कायम गर्ने गरी लाइनमा पूर्वतर्फ रहेको मतदान केन्द्रमा मतदान गर्न पठाइन्छ र पूर्वतर्फको गेट नम्बर ५ बाट बाहिरिने व्यवस्था रहेको छ ।
स्थानीय तहका प्रतिनिधिहरुका लागि विद्यालयको पूर्वतर्फबाट लाइनमा प्रवेश गराई उत्तरमा रहेको मतदान केन्द्रमा पठाइन्छ र मतदान सम्पन्न भएपश्चात फर्काएर पूर्वतर्फको गेटबाट बाहिरिने व्यवस्था मिलाइएको छ ।
संक्रमितहरुका लागि भने विद्यालयको १ नम्बर गेटबाट प्रवेश गराएर पूर्वमा रहेको मतदान केन्द्रमा मतदान गर्ने र सोही मार्गबाट बाहिरिने व्यवस्था गरिएको छ ।
प्रदेशसभा सदस्य १०९ जना, स्थानीय तहका प्रमुख उपप्रमुख २३८ जना गरी कूल ३४७ जना मतदाता रहेका छन् । दिउँसो १२ बजेसम्ममा ३०१ जनाले मतदान गरिसकेका छन् । मतदान प्रक्रिया दिउँसो ३ बजेसम्म संचालन हुनेछ ।
