‘ग्राफ्टेड एमालेहरु अड्डा अदालत धाउँदैमा माओवादी केन्द्र विघटन हुँदैन’
मकवानपुर । नेकपा माओवादी केन्द्रका नेता तथा बागमती प्रदेशका पूर्व सामाजिक विकासमन्त्री युवराज दुलालले सत्तास्वार्थको लागि पार्टी छाडेर गएकाहरु अड्डा अदालत धाउँदैमा माओवादी केन्द्र विघटन नहुने बताएका छन् ।
माओवादी छाडेर एमालेमा गएका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा, लेखराज भट्टलगायतका नेताहरुप्रति लक्षित गर्दै नेता दुलालले कसैले गद्दारी गर्दैमा वा अध्यक्ष प्रचण्डमाथि विषवमन गर्दैमा माओवादी केन्द्र विघटन नहुने बताए ।
माओवादीको आधिकारीकता अर्कै व्यक्तिको नाममा रहेको र माओवादी पार्टी अवैध रहेको भन्दै पूर्व माओवादीका नेताहरु बुधबार निर्वाचन आयोग पुगी माओवादी केन्द्र खारेजीको माग गर्दै निवेदन दर्ता गराएका थिए ।
नेता दुलालले बादलसहितका माओवादी छाडेर एमालेमा गएका नेताहरुलाई ‘ग्राफ्टेड एमाले’ उर्फ उर्फ रामबहादुर एन्ड कम्पनीको संज्ञा दिएका छन् ।
उनले भने ‘ग्राफ्टेड–एमाले’ उर्फ रामबहादुर एन्ड कम्पनीले गद्दारी गर्दैमा, अध्यक्ष प्रचण्डविरुद्ध विषवमन गर्दैमा आफ्नो ज्यान पाल्ने धन्दामा लागेर, पैसा र प्रलोभनको भरमा अड्डा अदालत धाउँदैमा माओवादी–केन्द्र विघटन हुँदैन । हामी नयाँ उर्जा र उत्साह, अदम्य सहास एवम् राष्ट्रप्रतिको जिम्मेवारीप्रति दृढ संकल्प गरेर अघि बढ्ने छौं ।’
‘अहिले आन्तरिक एकता हुँदै गएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले यिनीहरुलाई बेवास्था बढाउदै गएपछि र पार्टी निर्माणको लामो कोर्ष पार गरिसकेका एमालेपंक्तिमा जरा फैलाउन नसकेपछी आफैंले स्थापना गरेको, आफैँ नेतृत्वमा रहेर काम गरेको आफ्नो मातृपार्टी माथि विषवमन गरेर यिनीहरुको दिन बितिरहेको छ ।’ उनले थपे ।
