राष्ट्रियसभाको रिक्त सदस्य पदको उपनिर्वाचन आज, कस्ले मार्ला बाजी ?

बलराम पुडासैनी
२०७८ जेष्ठ ६, बिहीबार ०९:०७
तस्वीरः क्रमश रामबहादुर थापा बादल र डा. खिमलाल देवकोटा

मकवानपुर । राष्ट्रियसभाको रिक्त सदस्य पदको उपनिर्वाचन आज हेटौँडामा हुँदैछ । बिहान ९ बजेबाट मतदान सुरु हुने निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठले जानकारी दिएका छन् ।

निर्वाचनमा नेकपा एमालेको तर्फबाट बहालवाला गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा बादल उम्मेदवार छन् भने नेकपा एमालेको माधव नेपाल पक्षका डा. खिमलाल देवकोटासमेत उम्मेदवार छन् ।

बादललाई राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले समर्थन गर्ने देखिएको छ भने डा. देवकोटालाई नेकपा माओवादी केन्द्र,नेपाली कांग्रेस र जसपाले  समर्थन गरेको छ ।

त्यस्तै अर्का उम्मेदवार नेपाल मजदुर किसान पार्टीको तर्फबाट कृष्णबहादुर तामाङ रहेका छन् ।

हेटौँडा उपमहानगरपालिका वडा नम्वर -४ स्थित भुटनदेवी माविको भवनमा ३ वटा मतदान कक्ष स्थापना गरिएको छ ।  स्थानीय तहका प्रमुख तथा उपप्रमुखको लागि एउटा, प्रदेशसभाका सांसद्को लागि एउटा र कोरोना संक्रमित मतदाताको लागि एउटा कक्ष गरी कूल ३ वटा कक्ष स्थापना गरिएको प्रदेश निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मतदानमा प्रदेशका ११९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २३८ जना र प्रदेश सभाका सदस्य १०९ जना गरी कूल ३४७ जना सहभागि हुन पाउनेछन् । प्रदेशसभा सदस्यको ४८ र स्थानीय तहका प्रमुख उपप्रमुखको मतभार १८ गणना हुनेछ ।

मतदान  दिउँसो ३ बजेसम्म संचालन हुने जनाइएको छ ।

तस्वीर :मतदान स्थल

मोबाइल लैजान नपाइने, सिसिआर रिपोर्ट अनिवार्य छैन

राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा कोरोना परिक्षणको रिपोर्ट अनिवार्य नगरिने भएको छ । सबै मतदाताले पिसिआर रिपोर्ट उपलब्ध गराउन नसक्ने अवस्था देखिएपछि अनिवार्य नगरिएको उपनिर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठले जानकारी दिए ।

बुधबार तीनै जना उम्मेदवारका प्रतिनिधिको उपस्थितिमा सो निर्णय गरिएको हो ।

निर्वाचन आयोगले भने सबै मतदातालाई ७२ घण्टाभित्रको पिसिआर रिपोर्ट अनिवार्य गरेको छ । उपनिर्वाचन अधिकृत श्रेष्ठले रिपोर्ट लिएर आउनेलाई एउटा लाइन र नहुनेलाई अर्को लाइनमा राखी मतदान प्रक्रियामा सहभागि गराइने उल्लेख गरे ।

कोरोना संक्रमित मतदातालाई पनि स्वास्थ्यकर्मीको सहयोगमा छुट्टै लाइनमा राखी मतदानमा सहभागि गराइने जनाइएको छ ।

त्यस्तै मतदान कक्षमा मोवाइल, क्यामेरा जस्ता सामग्री लैजान प्रतिबन्ध लगाइएको छ ।

गोप्य मतदानलाई प्रभावकारी विश्वसनीय बनाउन सो निर्णय गरिएको उनले बताए ।

मतदानस्थलमा निर्वाचनको गतिविधि बिथोल्ने, प्रतिबन्धित गतिविधि गर्ने जो कोहीलाई पनि मतदान अधिकृतले तत्काल नियन्त्रणमा लिई कारबाही गर्न सक्ने उनले बताए ।

तस्वीर :नेपाल मजदुर किसान पार्टीको तर्फबाट उम्मेदवार बनेका कृष्णबहादुर तामाङ

कस्ले मार्ला बाजी ?

राष्ट्रियसभा रिक्त सदस्य पदको उपनिर्वाचनमा नेकपा एमालेबाटै २ जना उम्मेदवार देखिएकोले निर्वाचन थप रोचक बनेको छ ।

नेकपा एमालेले आधिकारीक रुपमा बहालवाला गृहमन्त्री उम्मेदवार भएको भन्दै सोही अनुसार मतदान गर्न आफ्ना मतदातालाई निर्देशन दिएको छ । एमालेकै माधव नेपाल निकट मानिने डा. देवकोटालाई भने नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र जसपाले समर्थन गरेको छ ।

उनको उम्मेदवारी स्वतन्त्र भएपनि नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्मकट्टेल र समर्थकमा नेपाली कांग्रेस बागमती प्रदेशकी प्रमुख सचेतक राधा घले रहने गरी उम्मेदवारी दर्ता गराएका थिए । माधव–झलनाथ पक्षका नेता एवम् पूर्वमन्त्रीसमेत रहेका पुरुषोत्तम पौडेलसमेतको उपस्थितिमा डा. देवकोटाको उम्मेदवारी दर्ता भएको थियो ।

नेकपा एमालेको ओली पक्ष र माधव पक्षले बादललाई नै सहयोग गरे भने उनले जित्ने लगभग पक्का छ । अर्थात् उनले कूल ५ हजार १ सय ३० मत प्राप्त गर्छन् र नतिजा पनि उनकै पोल्टामा आउँछ । यसो हुँदा उनलाई अन्य कुनैपनि दलको सहयोग चाहिँदैन ।

बागमती प्रदेशमा ११९ वटा स्थानीय तहका कूल २३८ जना मतदाता छन् । त्यस्तै प्रदेशसभाका ११० जना सदस्यले मतदान प्रक्रियामा सहभागी हुन पाउँछन् ।

स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष गरी कूल २३८ मतदाताको मतभार प्रतिव्यक्ति १८ गणना हुनेछ । अर्थात स्थानीय तहको मत कूल ४ हजार २ सय ८४ हुन आउँछ ।

त्यस्तै, प्रदेशसभाका ११० जनासांसद्को मतभार प्रतिव्यक्ति ४८ गणना हुनेछ । अर्थात् प्रदेशसभाको कूल ५ हजार २ सय ८० मत हुन आउँछ ।
बागमती प्रदेशको स्थानीय तहमा नेकपा एमालेको १३३ जना मतदाता छन् । जसमध्ये ४५ एमालेको माधव–झलनाथ समूहका छन् भने ८८ जना ओली समूहका छन् ।

गृहमन्त्री बादल, प्रदेश निर्वाचन कार्यालय हेटौँडामा प्रवेश गर्दै अर्थात् एमालेको माधव समूहको ८१० मत छ भने ओली समूहको १५८४ मत छ ।

नेपाली कांग्रेसको ६८, माओवादी केन्द्रको ३३ र अन्य साना दलको ४ जना मतदाता छन् ।

डा. देवकोटालाई साना दलको सहयोग प्राप्त हुने हो भने गठबन्धनतर्फको कांग्रेस र माओवादीसहितको कूल १८९० मत प्राप्त हुन्छ ।
अब माधव पक्षले पनि डा. देवकोटालाई सहयोग गर्दा कूल २७०० मत प्राप्त हुन्छ ।

त्यस्तै प्रदेशतर्फ कूल ११० जना प्रदेशसभा सदस्यमध्ये नेकपा एमालेको ५७ जना सांसद् छन् । यो स्पष्ट बहुमत हो । तर, माधव समूहमा २२ जना सांसद् उभिएका छन् ।

प्रदेशसभा सदस्यको प्रतिव्यक्ति ४८ मतभार गणना हुँदा एमालेको कूल २७३६ मत हुन आउँछ । जसमा ओली पक्षको १६८० मात्रै मत छ भने माधव–झलनाथको १०५६ मत गणना हुन्छ ।

बागमती प्रदेशमा साना दलका ८ जना सांसद् रहेका छन् । जसमा विवेकशील साझा पार्टीको ३, राप्रपाको २, जसपाको १ जना सांसद् छन् भने, नेपाल मजदुर किसान पार्टीको २ जना सांसद् रहेका छन् ।

२ जना सांसद् बोकेर नेककिपाका कृष्णबहादुर तामाङ् पनि राष्ट्रियसभाको सदस्य पदको उम्मेदवार बनेका छन् । उनको ९६ मत गणना हुन्छ ।

बागमती प्रदेशमा माओवादी केन्द्रको २३ र नेपाली कांग्रेसको २२ जना सांसद् रहेका छन् । जसको कूल २१६० मत छ ।

गठबन्धनको समर्थन पाएका उम्मेदवार डा. देवकोटालाई माधव समूहसहित साना दलको समर्थन प्राप्त हुँदा ३५०४ मत प्राप्त हुन्छ ।

नतिजा माधव पक्षको हातमा

नेकपा एमालेको कूल ५१३० मत सबै झरे बादलले चुनाव जित्छन् । तर, माधव–झलनाथले डा. देवकोटालाई सहयोग गरे बादलको कूल १८६६ मत काटिन्छ । अर्थात् बादललाई ३२६४ मत मात्रै आउँछ ।

यता, डा. देवकोटाको गठबन्धन (माधव–बाहेक) बाट ४३३८ मत प्राप्त हुन्छ । माधव–झलनाथ समूहको १८६६ मत थपिँदा कूल ६२०४ मत प्राप्त हुन्छ ।

यसो हुँदा डा. देवकोटाले २९४० मतसहित बादललाई पराजित गर्छन् ।

हालसम्म एमालेको माधव पक्षले आधिकारीक रुपमा डा. देवकोटालाई सघाउने बताएको छैन । तर, एमालेको माधव नेपाल निकट नेताहरुले माथिबाट स्वविवेक प्रयोग गर्नु भन्ने निर्देशन प्राप्त भएकोले डा. देवकोटाको पक्षमा माधव समूहका मतदाताले मतदान गर्ने संभावना उच्च रहेको स्रोत बताउँछ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*