राष्ट्रियसभा सदस्य पदमा थापा, देवकोटा र तामाङको उम्मेदवारी

तु खबर संवाददाता
२०७८ बैशाख २४, शुक्रबार १५:४१
file-photo

मकवानपुर । नेकपा एमालेको केन्द्रीय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादलले बागमती प्रदेशमा राष्ट्रियसभाको रिक्त रहेको सदस्य पदको लागि प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश हेटौँडामा आज उम्मेदवारीको मनोनयन दर्ता गराएका छन् ।

उनको उम्मेदवारीको प्रस्तावकमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकासमन्त्री सरस्वती बस्नेत रहेको प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश हेटौँडाले जनाएको छ ।

गृहमन्त्री बादलले मुलुकको मौजुदा संविधानको रक्षा तथा दीगो सम्वद्र्धन गर्न, जनतालाई मौलिक हकको सम्र्बद्धन र आर्थिक समृद्धिलाई आत्मनिर्भर बनाउन आफुले पार्टीको निर्देशन बमोजिम राष्ट्रियसभाको रिक्त सदस्य पदको उम्मेदवारी दर्ता गराएको बताए ।

उनले उम्मेदवारी दर्तापश्चात संचारकर्मीहरुसँग कुराकानी गर्दै आफुलाई नेकपा एमालेबाट पूर्ण साथ समर्थन रहने र जित पनि सुनिश्चित रहेको दावी गरे ।

त्यसैगरी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष र जनता समाजवादी पार्टी जसपाको उपेन्द्र यादव समूहको साझा उम्मेदवारका रुपमा अघि सारिएका डा.खिमलाल देवकोटाले पनि उम्मेदवारीको मनोनयन दर्ता गराएका छन् ।
उनको प्रस्तावकमा माओवादी केन्द्र बागमती प्रदेशको संसदीय दलका नेता शालिकराम जम्कट्टेल र समर्थकमा नेपाली कांग्रेस बागमती प्रदेशकी प्रमुख सचेतक राधा घले रहेकी छिन् ।

उम्मेदवारी दर्तापश्चात साझा उम्मेदवारको रुपमा रहेका डा. देवकोटाले देशको मौजुदा संविधानको मर्मलाई संघीय सरकारको प्रमुखले मिचेको भन्दै आफुले संविधानको मुल प्रवाहलाई ट्रयाकमा ल्याउने प्रयासको लागि उम्मेदवारी दर्ता गराएको प्रतिक्रिया दिए ।
उनले प्रदेशको भूमिकालाई अझै जनमुखी पारदर्शी र जिम्मेवार बनाउनका निम्ति प्रदेश सरकार र राजनीतिक दलहरुलाई अझै क्रियाशिल बनाउनुपर्ने अवस्था आएको उल्लेख गरे ।

त्यसैगरी नेपाल मजदुर किसान पार्टीका नेता कृष्णबहादुर तामाङले पनि उम्मेदवारी दर्ता गराएका छन् । उनको प्रस्तावकमा बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईँ र समर्थकमा सृजना सैन्जु रहेका छन् ।

उम्मेदवारी दर्तापश्चात प्रतिक्रिया दिँदै उनले आफुलाई पार्टीले दिएको निर्देशन बमोजिम नै उम्मेदवारी दर्ता गरेको र देशको संविधान, ऐन तथा कानूनलाई आत्मसाथ गर्दै नेपाली जनताको हितमा सँधै स्वार्थ रहित भएर अगाडि बढ्ने बताए ।

राष्ट्रिय सभाको उपनिर्वाचनमा बागमती प्रदेशको ६६ निर्वाचन क्षेत्रको ११९ स्थानीय तहको प्रमुख उपप्रमुख गरी २३८ र बागमती प्रदेशसभा सदस्यहरु ११० जना गरी कूल ३ सय ४८ जना मतदाताहरु निर्वाचनमा सहभागि हुने प्रदेश निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताए ।

उनका अनुसार आगामी जेठ ६ गते हेटौँडा उपमहानगरपालिका वडा नम्वर ४ स्थित भुटनदेवि माविको भवनमा २ वटा मतदान केन्द्रको व्यवस्थापन मिलाइएको छ । स्थानीय निकायको लागि प्रदेशसभा सदस्यहरुको छुट्टाछुट्टै स्थान निर्धारण गरिएको पनि उनले बताए ।

यसअघि गृहमन्त्री थापा यही प्रदेशबाट राष्ट्रियसभा सदस्य थिए । माओवादी पार्टी छाडेर एमालेमा लागेपछि उनको पद खोसिएको हो । र, यही रिक्त स्थानमा बादल एमालेका तर्फबाट उम्मेदवार बनेका हुन् ।

डा. देवकोटाको चुनाव चिन्ह ‘कलम’

सयुक्त गठबन्धनको तर्फबाट उम्मेदवार भएका प्रदेश नीति योजना आयोगका पूर्व अध्यक्षसमेत रहेका डा. देवकोटा कलम चिन्हबाट चुनाव लड्ने नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्मकटट्लले जानकारी दिएका छन् ।

प्राविधिक कारणवस् संयुक्त गठबन्धनको उम्मेदवारको रुपमा मनोनयन दर्ता गराउन नसकिएको भएपनि डा. देवकोटालाई गठबन्धनको पूर्ण समर्थन रहने नेता जम्मकट्टेलले बताए ।

‘डा. देवकोटा लेखक बुद्धिजिवी पनि भएकोले उहाँले कलम चुनाव चिन्ह माग गर्नुभएको छ, निर्वाचन आयोगले वैशाख २९ गते चुनाव चिन्ह कलम नै दिने वा अरु केही दिने भन्नेबारे टुंगो लगाउने छ ।’ उनले भने ।

तु खबरसँग कुराकानी गर्दै निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले डा. देवकोटाको उम्मेदवारी स्वतन्त्र भएकोले दलको चुनाव चिन्ह पाउने सम्भावना नरहेको र उनले माग गरे अनुसारकै चुनाव चिन्ह कलम प्रदान गरिने संभावना रहेको बताए ।

यता गृहमन्त्री बादल भने नेकपा एमालेको चुनाव चिन्ह बादलबाट निर्वाचनमा सहभागि हुँदैछन् भने नेपाल मजदुर किसान पार्टीको तर्फबाट उम्मेदवार बनेका कृष्णबहादुर तामाङ मादल चुनाव चिन्हबाट निर्वाचनमा सहभागि हुने जनाइएको छ ।

हेर्नुहोस् भिडियो

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*