मकवानपुरमा तोकियो नागरिकता लिन निश्चित दिन, कुन स्थानीय तहलाई कुन बार ?
मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले नागरिकता लिनका लागि निश्चित दिन तोकेको छ ।
प्रशासनले सोमबार एक सूचना जारी गर्दै कोरोना भाइरस (कोभिड–१९) संक्रमणलाई रोकथाम तथा नियन्त्रणलाई मध्येनजर गर्दै नागरिकता लिनका लागि निश्चित दिन तोकेको जनाएको छ ।
प्रशासनले कोभिड–१९ संक्रमणको दोस्रो लहर बढेसँगै यसलाई न्यूनिकरण गर्नको लागि जिल्ला प्रशासन कार्यालयमा नयाँ नागरिकता लिने, प्रतिलिपी निकाल्ने र राहदानी लिन आउने जिल्लाको १० वटै स्थानीय तहलाई निश्चित दिने तोकेको जिल्ला प्रशासन कार्यालय मकवानपुरका सूचना अधिकारी देवचन्द्र गर्तौलाले जानकारी दिए ।
उनका अनुसार, प्रशासनले नागरिकता लिन थाहानगरपालिका, इन्द्रेसरोबर गाउँपालिका, राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिकाका नागरिकले नयाँ र प्रतिलिपि नागरिकता, राहदानी लिनका लागि आइतबार र सोमबार तोकिएको छ ।
यसैगरी, बागमती गाउँपालिका, बकैयाँ गाउँपालिका, मकवानपुरगढी गाउँपालिका र भीमफेदी गाउँपालिकाका नागरिकलाई मंगलबार र बुधबार समय तोकिएको छ भने हेटौँडा उपमहानगरपालिका र मनहरी गाउँपालिकाका नागरिकलाई बिहिबार र शुक्रबार समय तोकिएको छ ।
नागरिकता र राहदानी बाहेक अन्य कार्यका लागि सबै स्थानीय तहलाई निश्चित दिन नतोकिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

