गैरआवासीय नेपालीलाई पनि नागरिकता, यस्तो छ प्रकृया

तु खबर संवाददाता
२०८० कार्तिक १, बुधबार १०:१५
file-photo

काठमाडौं । गैरआवासीय नेपालीहरुले पनि अब नागरिकता पाउने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले मंगलबार बालुवाटारमा आयोजित एक कार्यक्रमबीच उद्घाटन गर्दै गैरआवासीय नेपाली नगरिकलाई नागरिकता वितरण गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले दुई गैरआवासीय नेपालीलाई नागरिकताको प्रमाणपत्र प्रदान गरेका हुन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्षहरु कुल आचार्य र बद्री केसीले नागरिकताको प्रमाणपत्र पाएका हुन् ।

केसीको जिल्ला प्रशासन कार्यालय, काठमाडौं र आचार्यको पर्वतबाट नागरिकताको प्रमाणपत्र जारी भएको हो ।

गैरआवासीय नेपाली नागरिकता लिनका लागि विदेशी मुलुकको नागरिकता पाएर सार्क मुलुकबाहेक अन्यत्र बसोबास गरेको हुनुपर्नेछ । नेपालको संविधानको धारा ८७ (क) मा भएको व्यवस्था अनुसार सार्क मुलुकमा बसोबास गर्ने नेपालीले यो सुविधा पाउँदैनन् ।

त्यसरी विदेशको नागरिकता पाएको व्यक्तिको आफ्नो बाउ वा आमा, बाजे वा बज्यै नेपाली नागरिक भएको पुष्टि हुने प्रमाण दिनुपर्नेछ । आफूले नेपाली नागरिकता लिएको भए त्यागेको प्रमाण दिनुपर्छ । अनि विदेशी मुलुकको नागरिकता भएको र आफू सार्क मुलुक बाहेकको देशमा बसोबास गरेको प्रमाण पनि पेश गर्नुपर्छ ।

गैरआवासिय नेपाली नागरिकता पाउनका लागि नेपालको संविधान र कानुनको परिपालना गर्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेको हुनुपर्छ । निवेदन पेश गर्नेले ‘म कुनै नैतिक पतन देखिने अपराधमा कसुरदार छैन’ भनी स्वघोषणा गर्नुपर्नेछ ।

नागरिकता नियमावली २०८०, अनुसार सम्बन्धित दूतावास वा महावाणिज्य दूतावासमा पेश भएको निवेदन परराष्ट्र मन्त्रालय हुँदै सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पुग्छ । प्रशासनले सम्बन्धित व्यक्तिको नातेदार वा अरु व्यक्तिले प्रशासन कार्यालयमै पुगेर सनाखत गरिदिएपछि नागरिकताको प्रमाणपत्र पाउन योग्य हुन्छ ।