गैरआवासीय नेपाली नागरिकता लिन विदेशबाटै निवेदन दिन पाउने

तु खबर संवाददाता
२०८० आश्विन ४, बिहीबार १६:२१
file-photo

काठमाडौं । गैरआवासीय नेपालीले गैरआवासीय नेपाली नागरिकताको प्रमणपत्र लिन विदेशबाटै आवेदन दिन पाउने भएका छन् ।

सरकारले हालै गरेको नागरिकता नियमावलीको तेस्रो संशोधनले गैरआवासीय नेपालीलाई विदेशकै राजदूतावास वा महावाणिज्य दूतावासबाट निवेदन दिन सक्ने व्यवस्था गरेको हो ।

यस्तो नागरिकता लिन चाहने गैरआवासीय नेपालीले आफू वा आफ्नो बाबु, आमा बाजे वा बज्यैमध्ये जसको नेपाली नागरिकताको आधारमा गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र लिने हो सोही नागरिकताको प्रमाणपत्र जारी भएको जिल्लाको प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन दिनुपर्नेछ ।

गैरआवासीय नेपाली नागरिकता लिनका लागि हाल नागरिक रहेको मुलुकबाट लिएको राहदानीको प्रतिलिपि, नेपालको संविधान मान्ने प्रतिवद्धता, विदेशी नागरिकता लिएको प्रमाण आदि कागजात पेश गर्नुपर्नेछ ।

सार्क राष्ट्रमा बसोबास गर्नेहरुले भने गैरआवासीय नेपाली नागरिकता पाउने छैनन् ।