जिल्ला र इलाका प्रशासनलाई गृहको नौ बुँदे निर्देशन
गृह मन्त्रालयले सेवा प्रवाहलाई थप प्रभावकारी र नागरिकमैत्री बनाउन जिल्ला र इलाका प्रशासन कार्यालयहरुलाई नौ बुँदे निर्देशन दिएको छ ।
मन्त्रालयले कार्यालयलाई ‘एकद्वार सेवा प्रणाली’ लागू गर्नेसहितको नौबुँदे निर्देशन दिएको हो । यसका लागि चालु आर्थिक वर्षको बजेटमै आवश्यक व्यवस्था गर्न सकिने र त्यसका लागि बजेट माग गर्न भनिएको छ ।
संघीय सरकारको प्रतिनिधिको रुपमा प्रमुख जिल्ला अधिकारीले जिल्लाहरुमा शान्ति सुरक्षा कायम गर्ने लगायतकाको जिम्मेवारी पूरा गर्ने दायित्व रहेको स्मरण गराउँदै मन्त्रालयले एकद्वार सेवा प्रणाली लागू गर्न भनेको हो ।
कार्य प्रारम्भ भएदेखि सम्पन्न हुँदासम्म एउटै कक्षबाट सेवा दिन मन्त्रालयको निर्देशनलाई एक द्वार प्रणालीको रुपमा प्रस्ततु गरिएको हो । यस अघि पनि धेरै जिल्ला प्रशासनहरुमा यसै अनुसार कामहरु भइरहेका छन् । मन्त्रालयको अर्को निर्देशनमा सहायता कक्ष वा हेल्प डेस्क तथा टोकन प्रणाली लागू गर्न पनि भनिएको छ, नागरिक बडापत्र र गुनासा व्यवस्थापनको सन्दर्भमा पनि मन्त्रालयले निर्देशन दिएको छ ।
