उपाध्यक्ष गौतमले पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्दै

तु खबर संवाददाता
२०७७ माघ १४, बुधबार ०९:२५
file-photo

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले औपचारिक रुपमा पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्ने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई फ्याक भएको बेला उपाध्यक्ष गौतमले औपचारिक रुपमा पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्दैछन् ।

ललितपुरको धोबीघाटस्थित सिद्धार्थ कटेजमा औपचारिक कार्यक्रम गरी नेकपा एकता राष्ट्रिय अभियानको घोषणा हुने गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले जानकारी दिएका छन् ।

सो कार्यक्रममा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुवैलाई निम्तो दिइएको छ । तर, ओली र प्रचण्ड आउने–नआउने भन्ने निश्चित छैन ।

गत पुस ५ गते संसद विघटन भएपछि नेकपा विभाजित अवस्थामा छ । एउटा खेमाको नेतृत्व प्रधानमन्त्री ओलीले र अर्को खेमाको नेतृत्व प्रचण्ड र माधव नेपालले गरेका छन् । दुवै पक्षले एकअर्का पक्षका नेताहरुलाई कारबाही गर्ने, संगठन पुनर्गठन गर्ने र देशव्यापी सभा गर्दै गालीगलौजमा उत्रिने गर्दै आएका छन् ।

उपाध्यक्ष गौतम भने हालसम्म तटस्थ देखिएका छन् । पार्टी कार्यकर्ताको ठूलो पंक्ति अहिले पनि नेकपा विभाजन नहोस् भन्ने पक्षमा रहेको भन्दै गौतमले नेकपा एकता राष्ट्रिय अभियान सञ्चालन गर्दै आएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*