लकडाउनले थाहा नगरभित्र उत्पादित तरकारी कुहिने अवस्थामा, जोगाउन मेयर बिष्टको दौडधूप
मकवानपुर, १० वैशाख । थाहा नगरपालिका पर्यटकीय क्षेत्रको रुपमा विशेष छ । यसको अर्को विशेषता हो, यहाँको तरकारी खेती । कोरोना संक्रमण नियन्त्रण तथा रोकथामको लागि सरकारले गरेको लकडाउनका कारण सबैतिरको व्यपार व्यवसाय चौपट भएको छ । यसबाट थाहा नगरपालिकाभित्र कृषि पेशामा संलग्न किसानहरु पनि अछुतो रहेका छैनन् । उनीहरुले उत्पादन गरेको तरकारीको बजार चौपट हुँदा चिन्ता बढेको छ । यहि चिन्ता हटाउन अहिले थाहा नगरपालिकाका मेयर लबशेर बिष्ट तरकारी बजार विस्तारका लागि दौडधूपमा छन् ।
लकडाउन नभएको भए थाहा नगरका किसानले उत्पादन गरेको तरकारीको बजार राजधानी काठमाडौँ, पोखरा, हेटौंडा लगायतका आसपासका जिल्लामा खपत हुने गरेको थियो । तर, लकडाउनले राजधानी काठमाडौँसहितका सबै जिल्लाहरु पूरै बन्द छन् । काठमाडौँका उपभोक्ताहरु आआफ्नो घर पुगिसकेका छन् । कलकारखाना, उद्योगधन्दा, पसल व्यवसाय सबै बन्द छन् । स्कूल, कलेज र त्यसका होस्टल, ठूलाठूला होटल, वर्कशप पनि बन्द छन् । भाडामा बस्नेहरु सबै आआफ्नो गन्तब्यमा पुगिसकेका छन् । थाहा नगरबाट उत्पादित तरकारीको ७० प्रतिशत बजार राजधानी काठमाडौँ थियो । तर, अहिले आफ्नो बारीमा उत्पादन भएको तरकारीले उचित मूल्य र बजार नपाउँदा किसानहरु मर्कामा छन् ।
थाहा नगरपालिकाका मेयर बिष्ट जेठ १५ भित्रै किसानहरुले उत्पादन गरेको तरकारी बजारमा पुर्याउन नसकिने हो भने धेरै ठूलो क्षति हुने बताउँछन् । त्यसका लागि नयाँ मोडलमा आफूले किसानद्वारा उत्पादित तरकारीलाई विक्रीवितरणको वातावरण बनाउन क्रियाशील रहेको बताउँछन् ।
थाहा नगरपालिका वडा नं. ६ मा ७ देखि ८ लाख केजी काउली, १ लाख केजी केराउ, त्यतिनै मात्रामा मूला उत्पादन हुन्छ भने वडा नं. १० मा १ लाख केजी काउली, ५० हजार केजी केराउ उत्पादन हुन्छ । यसरी उत्पादन भएको तरकारीलाई अन्तरपालिकाहरुमा व्यवस्थापन गर्ने प्रयास नगरपालिकाको छ ।
मेयर बिष्टका अनुसार, यदि जेठको १५ सम्मा यि तरकारीहरुलाई उचित तरिकाले बेच्न सकिए त्यस लगत्तै किसानहरुले टमाटर उत्पादनको काम सुरु गर्न पाउँछन् । उत्पादित तरकारीको उचित व्यवस्थापन हुन सकेन भने किसानले थप लगानी गर्न सक्दैनन् र उनीहरु मरेतुल्य हुनुपर्ने अवस्था रहेको बिष्टको भनाई छ ।
किसानको तरकारी व्यवस्थापनको लागि मेयर बिष्ट अहिले मुख्यमन्त्री कार्यालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय धाइरहेका छन् । थाहा नगरपालिका अहिले मकवानपुरकै अन्य पालिकाभित्र बजार बनाउने अभियानमा जुटेको छ । मनहरी, बकैया, बाग्मती, हेटौंडा जस्ता ठाउँहरुमा स्थानीय तहसँग समन्वय गरेर तरकारी विक्री गर्ने केन्द्रहरु संचालन गर्ने प्रयास गरिरहेको छ ।
मेयर बिष्टका अनुसार, थाहा नगरबाट तरकारीको गाडी सिधै गाउँपालिका वा उपमहानगरपालिकाले तोकिदिएको स्थानमा ल्याएर त्यहिबाट विक्री गर्न सकिन्छ कि भनी प्रयासमा छ । यसका लागि मेयर बिष्टले वातावरण बनाइदिन बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई समेत आग्रह गरेका छन् । मुख्यमन्त्री पौडेल पनि यस्तो व्यवस्था गर्न सकारात्मक रहेको मेयर बिष्टले बताए ।
तरकारी बोकेको गाडी मनहरी जान्छ त्यहाँ गाउँपालिकाले तोकिदिएको स्थानमा तरकारी उपलब्ध गराइदिन्छ र त्यहाँबाट पनि थाहा नगरमा नभएका तरकारी बोकेर गाडि फर्किन्छ । यसैगरी बकैया र बागमती गाउँपालिकामा पनि थाहा नगरबाट तरकारी बोकर गाडी जान्छ र त्यहाँ तरकारी झारेर फर्किन्छ यहि तरिकाले हेटौंडामा पनि काम गर्छ, यसो गर्न सकियो भने थाहा नगरको तरकारीले बजार पाउने मेयर बिष्टको विश्वास छ ।
मकवानपुर जिल्लामा उत्पादन भएका हरियो तरकारीले यो जिल्लाको मागलाई धान्न सक्ने भएकाले तत्काल भारत तथा अन्य छिमेकी जिल्लाबाट तरकारी आयात पूर्णतह रोक्ने निर्णय केही समय अघि जिल्ला प्रंशासन कार्यालय मकवानपुरले गरेको थियो ।
तर, दूभाग्य जिल्लाकै थाहा नगरभित्र उत्पादन भएका तरकारीले बजार पाउन नसकेका कारण मेयर बिष्ट बजार बनाउन दौडधूपमा छन् ।
साना किसान कृषि सहकारी सस्थाका अध्यक्ष एवम् नेपाल कृषि सहकारी संघका केन्द्रीय लेखा समिति संयोजक महेश्वर सुवेदीले बताए अनुसार, थाहा नगरबाट लकडाउन अघि दैनिक २० देखि ३० टनसम्म तरकारी बाहिर जाने गरेको थियो । यसको ७० प्रतिशत तरकारी राजधानी काठमाडौँ जाने गरेको थियो । तर, अहिले यो अवस्था छैन ।
उत्पादित तरकारी खपतका लागि सरकारीले राजधानी काठमाडौँ, हेटौंडाजस्ता सहरहरुमा खुद्रा तरकारी विक्रेताहरुलाई निश्चित समय पसल संचालनको वातावरण बनाइदिनुपर्ने बताउँछन् । अन्तरपालिकामा तरकारी विक्री गर्ने प्रबन्ध मिलाए पनि यसले मात्र थाहामा उत्पादित तरकारी खपत नहुने भएकाले राजधानी काठमाडौँमै खुद्रा विक्रेतालाई पसल संचालनमा सहजीकरण गरिनुपर्ने सुवेदीले बताए ।
अब तत्काल तरकारीलाई बजार पठाउन सकिएन भने थाहा नगरभित्र उत्पादित तरकारी किसानको खेतमै कुहिन्छ, सुवेदीले भने ।
काउलीको उत्पादन मूल्य प्रतिकेजी ४ रुपैयाँ, मूलाको ३ रुपैयाँ र हरियो केराउको प्रतिकेजी ८ रुपैयाँ पर्दछ । सुवेदीका अनुसार, सरदर १२ देखि १५ रुपैयाँ केजीमा किसानले उपलब्ध गराउन सक्छन् ।
छिट्टै बजार व्यवस्था गरिएन भने किसान डुब्छन् : मेयर बिष्ट

थाहा नगरपालिकाका मेयर लवशेर बिष्टले नगरभित्र किसानले उत्पादन गरेको तरकारीको बजार व्यवस्थापन गर्न सकिएन भने किसानहरु नराम्ररी डुब्ने बताएका छन् । यो सिजनको तरकारी विक्रीबाट प्राप्त आम्दानीले किसानले टमाटर खेती गर्दछन् । त्यसलाई पनि विक्री गरी अर्को सिजनको तरकारी उत्पादन गर्छन् त्यसबाट भएको कमाइले जीवन चलाउँछन्, विष्टले भने ।
उनीहरुद्वारा उत्पादित तरकारीको बजार व्यवस्थापन गरिदिन सके ७५ लाख भन्दाबढीको यो सिजनको लगानी जोगाउन सकिन्छ । त्यहि कारण मेयर बिष्ट अहिले किसानले उत्पादन गरेको तरकारी अन्तरपालिका वा अन्य ठाउँमा विक्री वितरणको व्यवस्था मिलाउन लागिपरेका छन् ।
उनले यसका लागि मुख्यमन्त्री तथा विभागीय मन्त्रीहरु गुहारिहरेका छन् । म पालिकाबाट किसानको तरकारी अन्यत्र लैजाने जे गर्नपर्ने हो गर्न तयार छु, कृषि मन्त्रालय र मुख्यमन्त्रीज्यूले पनि यसमा आवश्यक सहयोग गरिदिन पर्यो, उनले तु खबरसँग भने ।
मुख्यमन्त्रीज्यू पनि यो विषयमा गम्भीर रहेको र केहीदिनभित्रै आवश्यक काम हुन सक्ने मेयर बिष्टले बताए । तत्काल हेटौंडा तथा अन्य पालिकाहरुमा तरकारी विक्री केन्द्र बनाऔँ, त्यसका लागि अध्यक्षहरुले केही सहयोग गर्न सक्नुहुन्छ, मेयर बिष्टले भने । वडा अध्यक्षको समन्वयमा तरकारी पसलहरुलाई पनि यसमा सहभागी गराउन सकिने उनले बताए ।
त्यसको लागि यो जटिल परिस्थितिमा केही विशेष निर्णयहरु गर्न सके त्यसले हरियो तरकारीमा मकवानपुर आत्म निर्भर पनि बन्ने र किसानहरुको लगानी पनि नडुब्ने परिस्थिति बन्न सक्छ, उनले आफ्नो योजना सुनाए ।
यो पनि पढ्नुहोस्
- नगरबासीको सहजताको लागि थाहा नगरपालिकाले गरेको ६ वटा निर्णयहरु
- थाहा नगरपालिकाको विपद् व्यवस्थापन कोषमा यस्तो छ, आम्दानी र खर्चको विवरण
- थाहा नगरका वडा सचिवहरुलाई तुरुन्त हाजीर हुन निर्देशन
- मकवानपुरको थाहा नगरमा २५ वेडको क्वारेन्टाइन तयारी अवस्थामा
- १० जना भारतीय नागरिकलाई थाहा नगरपालिकाले भारत पठायो
- मकवानपुरको थाहा नगरमा उत्कृष्ट विद्यार्थी, शिक्षक तथा विद्यालय सम्मान
- मकवानपुरमा केबुलकारको संभावना, प्रारम्भीक अध्ययनपश्चात थाहा नगरपालिकाले लगानी गर्ने
- कोरोनाको डर – थाहा नगरपालिका जसले गर्दैछ यस्तो अब्बल काम
