कोरोनाको डर – थाहा नगरपालिका जसले गर्दैछ यस्तो अब्बल काम

तु खबर संवाददाता
२०७६ चैत्र २३, आईतवार २२:३९

थाहा नगर, २४ चैत । मकवानपुर जिल्लामा एउटा नगरपालिका छ, त्यो सुन्दर नगरपालिकाको नाम हो– थाहा नगरपालिका ।

अहिले कोरोनाका कारण सबैतिर क्वारेन्टाइन बनाउने, आइसुलेशन निर्माण गर्ने, चिकित्सकको लागि पीपीई जोडजाम गर्ने, स्यानेटाइजर खोज्ने भागदौड चलिरहेको छ । तर, थाहा नगरपालिका त्यो भन्दा भिन्न छ ।

मेयर लवशेर विष्ट नेतृत्वको थाहा नगरपालिकाले अहिले जस्तो काम गरिरहेको त्यो उदाहरणी र प्रशंसनीय छ, मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपक नेपालसहितको टोलीले थाहा नगरले तयार पारेको क्वारेन्टाइन र आइसोलेशन हेरेर आएपछि तु खबरसँग प्रतिक्रिया दिँदै भन्नुभएको वाक्य हो यो ।

अर्थात्, थाहा नगरपालिकाले कोरोनासँग लड्न जिल्लामै सुविधा सम्पन्न क्वारेन्टाइन तयार गरेको छ । आइसोलेशन वार्ड पनि त्यतिकै व्यवस्थित र वेल इक्युप छ । जनशक्ति पनि त्यतिकै जिम्मेदारीपूर्वक स्ट्याण्डबाई राखिएको छ ।

थाहा नगरपालिका वडा नं. ६ मा रहेको ओम् अध्याय रिट्रिट प्रा.लिले उपलब्ध गराएको २५ वटा कोठामा क्वारेन्टाइन संचालन गरिएको छ । जसमध्ये ५ वटा हाईकेयर क्वारेन्टाइन कक्ष छ भने २० वटा नर्मल क्वारेन्टाइन संचालन गरिएको छ । एक जना मेडिकल अधिकृत, २ जना स्टाफ नर्श ३ महिनाको लागि नियुक्ति गरिएको छ ।

विदेशबाट नगरभित्र आएकाहरुको स्वास्थ्य परिक्षण गर्न घरमै मेडिकल अधिकृतको नेतृत्वमा प्रहरी र स्वास्थ्यकर्मीको समूह पठाउने व्यवस्था थाहा नगरपालिकाले मिलाएको छ । हरेक दिन विदेशबाट आउनेहरुको अवस्था बुझ्ने व्यवस्था मिलाइएको छ, कोरोना भाइरस नियन्त्रण तथा रोकथाम सचिवालयका संयोजक शाखा अधिकृत विवेक विडारीले तु खबरलाई बताउनुभयो ।

वडास्तरमा वडा अध्यक्षको संयोजकत्वमा टोल बस्तीको क्लस्टर छुट्याई निगरानी गर्ने व्यक्ति समेत तोकिएको छ । खाद्यन्नको आपूर्ति व्यवस्था, मूल्यसूची, दैनिक खाद्यन्नको स्टक व्यवस्था लगायतका सबै कुरालाई व्यवस्थित बनाइएको छ ।

थाहा नगर प्रवेश गर्ने नाकाहरुमा स्वास्थ्य परिक्षणको व्यवस्था मिलाइएको छ । दैनिक रुपमा कति संख्यामा कस्ता मानिस प्रवेश गरे भन्ने यकिन तथ्याङ्क नगरपालिकाले राखिरहेको छ ।

यो अभियानमा प्रहरी, स्वास्थ्यकर्मी, नागरिक समाज, दलका प्रतिनिधि सबैले हातेमालो गरिहेका छन्, शाखा अधिकृत तथा सचिवालयका संयोजक विडारीले भन्नुभयो । उहाँका अनुसार, आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्थापन मिलाइएको छ । दक्ष जनशक्ति दिनोरात मेहनत गरिरहेका छन् ।

सूचना संकलन र प्रवाहमा पनि अब्बल

थहा नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रण कार्यका लागि व्यवस्थित सूचना संकलन प्रणाली र प्रवाह गर्ने व्यवस्था मिलाएको छ ।
सूचना अधिकारी सुरजकुमार भुजेल दैनिक रुपमा मिडियाको लागि दिनभरिको गतिविधि प्रवाह गर्ने जिम्मेवारीमा खटिएका छन् ।

निकै सर्तकता अपनाएर कार्य सम्पादन भइरहेको थाहामा र्यापिड रेस्पोन्स टिम पनि परिचालन गरिएको छ । बाहिरबाट को को आए, ती कहाँ कहाँ छन्, तिनका स्वास्थ्य अवस्था के छ आदि विषयमा दैनिक फलोअप गर्ने सूचना संकलन र प्रवाहको काम तीव्र पारिएको छ ।

पसल संचालकले पनि राख्नुपर्ने छ सेनेटाइजर र लगाउनुपर्ने छ माक्स

थाहा नगरभित्र रहेका खाद्यन्न तथा तरकारी पसल संचालकहरुले अनिवार्य रुपमा सेनेटाइजरको प्रयोग गर्नुपर्ने र माक्स लगाउनुपर्ने व्यवस्था मिलाइएको छ ।

ग्राहकहरुलाई समेत सेनेटाइर र माक्स प्रयोग गर्नका निम्ति वडा कार्यालयमार्फत् व्यवस्था मिलाउने तयारी नगरपालिकाको छ ।

यसबाहेक लकडाउनलाई थप प्रभावकारी बनाउने, चेकजाँचलाई तीब्र बनाउने, खाद्यन्नलाई थप सहज बनाउने र कोरोना संक्रमणबाट बच्न सुरक्षाका उपायहरु अपनाउने गरी नगरपालिका क्रियाशील रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*