कारागारका कैदी डानियलको सेटिङमा भीआईपी चल्दै
मकवानपुर, ३० चैत । भीमफेदी कारागारका कैदी डायिनल लामाको सेटिङमा जिल्लादेखि केन्द्रीय स्तरका नेता तथा कर्मचारी संलग्न रहेको तथ्य खुलेको छ ।
सीडीओले सिफारिस नगर्ने, कारागार व्यवस्थापन विभागका महानिर्देशक सीडीओको सिफारिस नभई डानियललाई अन्यत्र नसार्ने दुबैको क्रियाकलाप र घटनाबारे विश्लेषण गर्दा सेटिङ तलदेखि माथिसम्म रहेको देखिन्छ ।
लामाकै सेटिङमा कारागारभित्र हुने लफडामा प्रमुख जिल्ला अधिकारी आस्मान तामाङदेखि कारागार व्यवस्थापन विभागका महानिर्देशक हरि मैनालीसमेतले कुनै एक्सन नलिएपछि उच्च पदस्य अधिकारी तथा राजनीतिक दलका नेतासमेतको संलग्नता चर्चामा छ ।
लागुऔषध मुद्धाका दोषी डानियल लामाले कारागारभित्रैबाट विभिन्न सेटिङहरु मिलाउँदै आएका छन् । उनकै कारण कारागारमा व्यापक झमेला हुने गरेको रिपोर्ट जिल्ला प्रशासन, कारागार व्यवस्थापन विभाग र अन्य निकायहरुमा समेत छ । तर, उनी संरक्षित हुँदै आएका छन् ।
आफूले भने अनुसारको काम नभएमा उनले जस्तो सुकै अवस्था पनि बनाइदिन सक्ने भन्दै लामालाई भीमफेदी कारागारबाट अन्य स्थानमा सार्नुपर्ने माग भइरहेको छ । तर, उनलाई अन्यत्र पठाउन मकवानपुरका सीडिओ तामाङ र कारागार व्यवस्थाापन विभागका महानिर्देशक मैनाली तयार छैनन् । डानियललाई जोगाउन मकवानपुरकै केही साँसदहरु पनि संलग्न रहेको चर्चा छ ।
अहिले लामालाई चौकीदारबाट सामान्य कैदीको रुपमा राखिएको भएपनि यो केही दिनका लागि मात्रै रहेको कारागार स्रोत बताउँछ । स्रोतका अनुसार, लागुऔषध भित्र लगेको आरोपमा अर्का चौकीदार बुद्धि वल लामालाई झुम्का सरुवा गर्ने कारागार प्रशासनले केही दिनअघि कारागार प्रमुख मदन अधिकारीलाई नियोजित रुपमा फसाएका लामालाई भने संरक्षित गर्दै आइरहेको छ । कारागार प्रमुख अधिकारीलाई अख्तियारको फन्दामा पार्ने योजनाबारे त्यो दिन अधिकारीबाहेक अन्य सबैलाई जानकारी थियो । ‘आज डायिनलको सेटिङमा जेलर अधिकारी पक्राउ हुँदैछन्’ भन्नेबारे सबैलाई जानकारी थियो ।
तर,, कसैले पनि यस विषयमा अधिकारीलाई खबर गरेनन् । डानियलको सेटिङमा चल्ने कारागारका करार कर्मचारी नमराज थापा र विमल देउला पनि कारागारभित्र हुने धेरैजसो लफडामा संलग्न रहेका स्रोत बताउँछ । त्यहाँ सुरक्षामा रहेको सशस्त्र प्रहरी वलका केही अधिकृत पनि घटनामा संलग्न रहेको चर्चा छ । यद्यपी सशस्त्र वलका डीएसपी नरवहादुर राउत घटनामा आफ्नो सुरक्षा युनिटको कुनै कमजोरी नरहेको बताउँछन् ।
जेलर अधिकारीलाई फँसाउन सरकारको तलब खाने सुब्बा स्तरको कर्मचारी परिचालन भएको बारे सोही दिन पनि सूचनाहरु आएका थिए ।
कारागारमा हुने व्यापक अनियमितता रोक्नुपर्नेमा सरकारको महत्वपूर्ण पदमा बसेकाहरु नै कैदीबन्दीको सेटिङमा लाग्नु दुर्भाग्यपूर्ण अवस्था भएको भन्दै त्यहाँ सुधार गर्न डानियलसहितका केही कैदीबन्दीहरु तुरुन्तै अन्यत्र सरुवा गर्नुपर्ने आवाज उठेको छ । स्थानीय प्रशासनले कारागार व्यवस्थापन विभागमा स्थानान्तरणको सिफारिस नगर्दा कारागार व्यवस्थापन विभागले अन्यत्र पठाउन समस्या भइरहेको विभागका महानिर्देशक मैनालीले बताए ।
जिल्लाबाट सिफारिस आएमा एक मिनेट पनि समय नलाग्ने भन्दै महानिर्देशक मैनालीले सीडिओको सिफारिस पर्खेर बसेको बताए ।
यता, प्रमुख जिल्ला अधिकारी तामाङ भने लामाको चौकीदार खोसिएको र साधारण कैदीको रुपमा उनको मुल्याङ्कन भइरहेको दावी गर्छन् । थोरै हर्कत देखिएमा उनको पनि स्थानान्तरण हुन्छ, सीडिओ तामाङले भने ।
डानियललाई अन्यत्र पठाउन के कारणले सीडीओ तामाङले सिफारिस गरिरहेका छैनन भन्ने बारे तु खबरले जान्ने प्रयास गरिरहेको छ ।
घटनामा आरोपी अर्का चौकीदार वुद्धि वल सहित १२ जनालाई २४ घण्टाभित्रै कारागारबाट अन्यत्र सार्न सक्ने स्थानीय प्रशासनले डानियललाई भने जोगाउनु पर्ने किन रहेछ, हालसम्म खुलेको छैन ।
सेटिङमा लागेको र कारागार आफूले चलाएको भन्ने आरोपमा कुनै सत्यता नभएको डानियल लामाले बताउँदै आएका छन् । तर, कारागार स्रोतका अनुसार, कारागारमा उनकै कारण सधैँ झमेला हुने गरेको छ । यसअघिको मदन अधिकारी पक्राउ प्रकरण, बीचमा भएका अन्य घटनाहरु तथा अस्ति २४ गते कारागारभित्र भएको झमेला आदीमा उनै डानियल संलग्न रहेको स्रोत बताउँछ ।
