नाइके डानियल लामाको सेटिङमा भीमफेदी कारागारमा बबाल

२०७५ चैत्र २४,आईतवार १२:४०

मकवानपुर,  चैत – २४ ।  भीमफेदी कारागार नाइके डानियल लामाको सेटिङमा चल्न थालेको खुलासा भएको छ । केही समय अघि कारागार प्रमुख मदन अधिकारीलाई आर्थिक लेनदेन गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट पक्राउ गराउन सफल उनले फेरी कारागारमा आफ्नो सेटिङ मिलाउन चलखेल गरेको दावी कारागार स्रोतको छ ।

माथिल्लो ब्लकको नाइकेको रुपमा रहेका लामाले तल्लो ब्लकमा समेत प्रभाव बढाउन खोजेका छन्, त्यसैको फलस्वरुप बारम्बार त्यहाँ समस्याहरु देखिएका हुन्, स्रोतले तु खबरसँग भन्यो । यस विषयमा जिल्ला प्रशासन कार्यालय मकवानपुर पनि मौन देखिएको छ । कारागारमा बारम्बार समस्या आइरहँदा पनि प्रशासनले उचित कदम चाल्न सकेको छैन ।

प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ यस विषयमा मौन छन् । लामाले सेटिङमा कारागार चलाइरहेका छन् । उनले आफूलाई मनलागेका व्यक्तिलाई बाहिर रहन दिने जस्ता मनलाग्दी गर्दै आइरहेका छन् । कैदीलाई ‘आउट’ जान दिन डानियल तल्लो ब्लकमा पुगेका थिए । त्यहाँबाट उनले एक जनालाई आउट गराएपछि त्यहाँ झमेला सुरु भएको थियो । माथिल्लो ब्लकको नाइकेका रुपमा रहेका उनी दुबै ब्लक आफ्नो मातहत ल्याएर आफू अनुकुल काम गर्न चाहन्थे । जसको फलस्वरुप आज पनि कारागारभित्र लफडा परेको हो ।

डानियललाई भीमफेदी कारागारबाट सुरुवा नगरेसम्म यस्तै अवस्था आइरहने त्यहाँका जानकारहरु बताउँछन् ।

केही समय अघि कारागार प्रमुख मदन अधिकारीलाई पनि यिनै लामाले सेटिङमा पारेर फसाएको चर्चा भीमफेदीमा छ । अधिकारीलाई अख्तियारले समातेपछि लामा लगायतकाले जेलमै देख्यो, हामीले चाहेपछि जे पनि हुन्छ भन्दै हिँडिरहेका थिए । त्यसपछि त झन् जेलमा लामाको राज चल्न थालेको छ । सुरक्षाकर्मी, कारागारका कर्मचारीहरु सबै त्रसित छन् । लामाको आदेश मान्नुपर्ने अवस्था बनेको कारागार स्रोत बताउँछ ।

लामाले आफ्नो अनुकुल कारागार प्रमुख नभए विभिन्न समस्या पारेर फँसाउने गरेका थिए, अहिले पनि उनले आफ्नो प्रभाव विस्तार गर्न कारागारमा बिभिन्न बखेडा झिक्ने गरेको स्रोत बताउँछ । यो कारागार, कारागार प्रमुखले होइन, डानियलले चलाउन खोजेकोले यस्तो अवस्था आएको हो, एक कर्मचारीले भने ।

 

र, यो पनि पढ्नुहोस्

 

भीमफेदी कारागारमा लफडा, ‘प्रहरी परिचालन गरेका छौं’ : प्रहरी प्रवक्ता भट्टराई