भीमफेदी कारागारमा २ बर्षदेखि छैनन् अहेब

२०७५, २३ पुष सोमबार १६:५४

मकवानपुर २३ पौष । मकवानपुरको भीमफदी गाउँपालिकास्थित कारागारमा २ बर्षदेखि अहेब नहुँदा स्वास्थ्य उपचारमा निकै समस्या परेको छ ।  कैदीबन्दीहरुलाई स्वास्थ्य सेवा प्रदान गर्न कारागारलाई निकै समस्या भइरहेको छ ।

कैदीबन्दीहरुलाई स्वास्थ्य परिक्षण तथा उपचारका लागि हेटौंडासम्म ल्याउनुपर्ने बाध्यता कारागारलाई छ ।

कारागारमा हाल ९ सय १५ जना कैदीबन्दीहरु छन् । उनीहरुको स्वास्थ्य उपचारको लागि हेटोंडासम्म ल्याउँदा स्वास्थ्य उपचार खर्च तथा यातायात खर्च समेत बढ्ने गरेको छ ।

अहेब पठाइहाल्छु : प्रजिअ तामाङ

मकवानपुरका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले भीमफेदी कारागारमा तुरुन्तै स्वास्थ्यकर्मीको व्यवस्था गरिने बताएका छन् । भीमफेदी कारागारको विषयमा तु खबरले राखेको जिज्ञासामा प्रजिअ तामाङले आफूलाई भीमफेदी कारागारमा स्वास्थ्यकर्मी नभएको जानकारी रहेको बताउँदै त्यस विषयमा जिल्ला अस्पतालबाट तुरुन्तै व्यवस्था गरिने उनले बताए ।

यदि अस्पतालबाट व्यवस्था हुन नसके करारमा भएपनि अहेब नियुक्त गरी समस्याको समाधान गरिने प्रजिअ तामाङको भनाइ छ ।

त्यसो त कारागारमा अहेबमात्रै होईन लेखापाल र नायव सुब्बा पनि छैनन् । केहि समयदेखि १ जना लेखापाल र १ जना नायब सुब्बाका लागि पदरिक्त छ ।

कारागारजस्तो संवेदनशील निकायमा कर्मचारी अभाव हुँदा व्यवस्थापनको काममा निकै समस्याहरु देखिएका छन् । कारागारमा रहेका नायब सुब्बाको २ दरबन्दी मध्ये एउटा खाली नै छ भने अर्का नायब सुब्बाले थप अर्को कार्यालय पनि चलाउने जिम्मेवारी पाएका छन् । अहेबको दरबन्दी भएपनि त्यहाँ कर्मचारी छैनन । जसको कारण कैदीबन्दीलाई केही भैहाले उपचारका लागि हेटौंडा ल्याउनु पर्ने अवस्था छ ।

तुरुन्त कर्मचारी पठाउँछु : हरिप्रसाद मैनाली, महानिर्देशक– कारागार व्यवस्थापन बिभाग

कारागार व्यवस्थापन बिभागका महानिर्देशक हरिप्रसाद मैनालीले कारागारमा तुरुन्तै नायब सुब्बा पठाइने बताएका छन् । भीमफेदी कारागारको समस्याबारे आफू जानकार रहेको बताउँदै महानिर्देशक मैनालीले समस्या समाधानका लागि आवश्यक कर्मचारीको व्यवस्था गरिने बताए ।

अहेब समेत नभएकोले कैदीबन्दीको उपचारमा समस्या परिरहेको जानकारी आफूलाई रहेको महानिर्देशक मैनालीले बताए । अहेबको व्यवस्थाका लागि कर्मचारी समायोजनका कारणले केही समस्या पर्न सक्ने उनको भनाइछ । तर, नायब सुब्बालगायतका जनशक्ति पठाउन आफू तयार रहेको मैनालीले तु खबरलाई बताए ।