भीमफेदी कारागार : ६५ सशस्त्रको सुरक्षा, सानालाई ऐन ठूलालाई चैन
मकवानपुर, २८ चैत । भीमफेदी कारागारमा अहिले सशस्त्र प्रहरी बलका डीएसपी नरबहादुर राउतसहित ६५ भन्दाबढी सशस्त्र सुरक्षामा खटिएका छन् ।
कारागारको बाहिरी र भित्री घेराको सुरक्षा सम्हाल्ने सशस्त्र प्रहरीकोे आँखै अगाडिबाट गत २४ गते लागुऔषध कारागारभित्र भित्र्याइयो । कारागारभित्र लागू औषध भित्र्याइसकेपछि त्यो सूचना हावाको बेगजस्तो छिटो सबैतिर फैलियो ।
स्थानीय प्रशासन र कारागार प्रशासनले सो घटनामा संलग्न भएको भनी १२ जनाभन्दाबढी कैदीबन्दीलाई अन्यत्र सार्यो । तर, सुरक्षामा रहेका सशस्त्रमाथि भने कसैले छानविन गर्न चाहेको छैन । सुरक्षा घेरामा यतिधेरै संख्यामा सशस्त्रका सुरक्षाकर्मी तैनाथ छन्, यो तैनाथीको बाबजुद पनि कारागारमा लागुऔषध कसरी भित्रियो भनेर अनुसन्धान भएको छैन ।
सशस्त्रका सुरक्षाकर्मीसँगै कारागार प्रशासनका एक जना कर्मचारी पनि गेटमा राखिएको हुन्छ । गतिविधि माथि निगरानी गर्नका लागि सो दिन करारमा कार्यरत कर्मचारी बिमल देउला थिए ।
कारागारमा कसले लागूऔषध भित्र पुर्याएको थियो भन्ने बारे प्रशासनले अनुसन्धान गरिरहेको छ । तर, त्यो सिर्फ देखाउनकै लागि मात्र अनुसन्धान गरेजस्तो गरिएको स्रोत बताउँछ । स्रोतका अनुसार, करारमा कार्यरत कर्मचारीहरु पनि यो घटनामा संलग्न छन् ।
तर, यि सामान्य कर्मचारीकै मिलेमतोमा मात्र यस्तो जघन्य कार्य हुनै नसक्ने सुरक्षा अधिकारीहरु बताउँछन् । त्यहाँ ठूलो संख्यामा सशस्त्र तैनाथ गरिएको छ र उनीहरुलाई कारागारभित्र र बाहिरको सुरक्षाको जिम्मा दिइएको छ, लागुऔषध भित्रिएपछि सशस्त्र बलका सुरक्षाकर्मीहरुमाथि पनि अनुसन्धान हुनुपर्ने थियो, तर त्यसो भएको छैन ।
प्रारम्भिक अनुसन्धानमा सशस्त्रको संलग्नता देखिएन : सशस्त्र डीएसपी राउत
भीमफेदी कारागार सुरक्षामा खटिएको सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी घटनामा संलग्न नभएको डीएसपी राउतले दावी गरे । हामीले प्रारम्भिक अनुसन्धान गरेका थियौँ, त्यसमा सशस्त्रका कोही कोही पनि सुरक्षाकर्मी संलग्न भएको पाएनौँ, अहिले कारागारका कर्मचारीहरुमाथि अनुसन्धान भइरहेको उनले बताए । उनले गत २४ गते भित्रिएको ‘बस्तु’ लागुऔषध नै हो होइन फोरेन्सीक जाँच भैरहेको समेत बताए ।
त्यो बस्तु कारागारभित्र कहिले छिर्यो यसै भन्न नसकिने डीएसपी राउतले बताए । २०६३ देखि नै हामीले कारागारको सुरक्षा गरिरहेका छौँ, उनले भने ।
यदि सो ‘बस्तु’ लागुऔषध नै पुष्टि भएको छैन भने १२ कैदीको सरुवा किन ?
भीमफेदी कारागारको सुरक्षामा रहेका सशस्त्र प्रहरी बलका डीएसपी नरबहादुर राउतले गत २४ गते भेटिएको सो ‘बस्तु’ लागु औषध हो भनी पुष्टि भैनसकेको बताए । उनका अनुसार, सो बस्तुको फोरेन्सीक जाँचका लागि पठाइएको छ । यदि सो बस्तु के भन्ने पुष्टि नै भएको छैन भने किन कारागार प्रशासनले सोही घटनामा संलग्न रहेको आरोपमा १२ जना केदीबन्दीलाई अन्यत्र सार््यो, यो गम्भीर प्रश्न उठेको छ ।
सशस्त्र प्रहरी बलका प्रवक्ता डीआइजी सुरजकुमार श्रेष्ठले सो दिनको घटनाक्रमलाई गम्भीर रुपमा लिइने बताएका छन् । तु खवरसँग कुराकानी गर्दै डीआइजी श्रेष्ठले विस्तृत अध्ययन गरिने बताएका हुन् ।
