मुगुको विद्युत् योजनामा ‘कागजी काम’ देखाएर ९ लाख बढी भुक्तानी, ८ जनामाथि मुद्दा

तु खबर संवाददाता
२०८३ आश्विन १४, बुधबार १७:३०

मुगुमा विद्युत् निर्माण योजनामा वास्तविक कामभन्दा बढी रकम भुक्तानी गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित तत्कालीन सब–इन्जिनियर, लेखापाल, वडाध्यक्ष तथा उपभोक्ता समितिका पदाधिकारीलाई प्रतिवादी बनाउँदै विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

आयोगका अनुसार आर्थिक वर्ष २०७७/७८ मा हुम्लाको अदानचुली गाउँपालिका–कुकुरफाल्ना छहराखेतदेखि मुगुको सोरू गाउँपालिका–३ भिईसम्म विद्युत् पुर्‍याउने उद्देश्यले सञ्चालन गरिएको योजनामा अनियमितता भएको हो ।

अनुसन्धानका क्रममा फिल्डमा सम्पन्न भएको वास्तविक कामको परिमाणभन्दा बढी काम भएको देखाएर नापी किताब र कार्यसम्पन्न प्रतिवेदन तयार गरिएको पाइएको आयोगले जनाएको छ । त्यस्तै, झुट्टा उपभोक्ता भुक्तानी बिल तयार गर्नुका साथै योजना अनुगमन र भुक्तानीका लागि आवश्यक सिफारिससमेत मिलेमतोमा गराइएको आयोगको दाबी छ ।

यसरी वास्तविक रूपमा भएको कामभन्दा बढी रकम भुक्तानी हुँदा सरकारी कोषमा ९ लाख २६ हजार २३२ रुपैयाँ ७५ पैसा बराबरको क्षति पुगेको आयोगले जनाएको छ । प्रतिवादीहरूले आपसी मिलेमतोमा गैरकानुनी लाभ लिएको र नेपाल सरकार तथा सार्वजनिक संस्थालाई हानि पुर्‍याएको आरोपपत्रमा उल्लेख छ ।

मुद्दा दायर हुनेमा कार्यालयका तत्कालीन प्रमुख राजीव रिमाल, सब–इन्जिनियर विश्वराज भण्डारी, लेखापाल रूनबहादुर सेजुवाल तथा सोरू गाउँपालिका–३ का तत्कालीन वडाध्यक्ष लालु धामी छन् ।

त्यसैगरी गल्फागाढ छहराखेत भिई जलविद्युत् आयोजना उपभोक्ता समितिका अध्यक्ष प्रदीप बुढा, उपाध्यक्ष भीमचन्द्र बुढा, सचिव धनराज बुमी र कोषाध्यक्ष लक्ष्मी धामीलाई पनि प्रतिवादी बनाइएको छ ।