लकडाउनमा कृषि क्रान्ति गरौँ

राजुप्रसाद तिमल्सिना / मकवानपुर
२०७७ जेष्ठ १५,बिहीबार २०:४९

अहिले विश्वभर कोरोना भाइरस (कोभिड – १९) को संक्रमणको जोखिम बढीरहेको अवस्था छ । नेपालमा पनि संक्रमणको जोखिम दिनप्रतिदिन बढीरहेको छ । जोखिम बढीरहेको सन्दर्भमा अहिले संघीय सरकारले देशैभर लकडाउन गरेको छ । संक्रमणबाट बच्न नागरिकहरु लकडाउनको पालना गरिरहेका छन् ।

राजधानी काठमाडौँलगायत मुलुककै मूख्य शहरहरुमा विभिन्न रोजगारीका लागि पुगेका नागरिकहरु पनि अहिले अधिकाँश गाउँघरमै छन् ।
नेपाल एक कृषि प्रधान देश हो । यहाँका अधिकाँश नागरिकहरु कृषि पेशामा आवद्ध छन् । जलस्रोतको हिसाबले पनि नेपाल धनी देशको रुपमा चिनिन्छ ।

यसरी जलस्रोतको धनी देश भनेर चिनिएको र अधिकाँश मानिसहरु कृषि पेशामा भएको नेपालमा विभिन्न रोगको संक्रमणको जोखिमबाट नागरिकहरु हतोत्साहित हुनुभन्दा लकडाउनको अवधिलाई उत्पादनशिल कार्यमा खर्च गर्नुपर्ने देखिन्छ । यसमा युवा वर्ग अझै क्रियाशिल हुनु आवश्यक छ ।

त्यसो त पछिल्लो समय कृषि उत्पादनमा लाग्ने र कृषि उपजबाट आत्मनिर्भर हुनेको संख्यामा बृद्धि भएको देखिन्छ । मकवानपुरका किसानहरु पनि कृषि उत्पादनमा जोश जाँगरका साथ लागेको देखिन्छ ।

तर किसानहरुका लागि कृषि उत्पादनको बाटोमा विभिन्न अवरोधहरु तेर्सीएका छन् । समस्याका बाबजुत पनि उनीहरु खेतीपाती पशुपालन लगायतका काममै व्यस्त देखिन्छन् । संक्रमणकै जोखिममा पनि किसानहरु अन्नबाली, तरकारी लगाउने काममा निरन्तर लागिरहेका
छन् ।

युवा वर्गमा अहिले कृषि उत्पादन र पशुपालनमा लाग्नुपर्ने रहेछ भन्ने मानशिकताको विकास भएको र उर्जा थपिएको देखिन्छ ।

किसानका लागि सरकारले ल्याएका विभिन्न सहुलिएका कार्यक्रमहरु पूर्ण रुपमा लागु हुन सकेको अवस्था छैन । विभिन्न सहुलिएतका कार्यक्रमहरु, कृषि कर्जा, सरकारी अनुदान, विउविजन, किटनाशक औषधी, आधुनिक औजारलगायतको उपलब्धता किसानलाई नभएको देखिन्छ ।

त्यसैगरी पशुपालक किसानको लागि राम्रो घाँस, दाना साथै कृषि तथा पशु प्राविधिकको पनि अभाव देखिन्छ । उत्पादन भएका बस्तुको पनि उचित बजार व्यवस्थापनमा समस्या देखिएको छ । उत्पादनले उचित मुल्य पाउन नसक्दा किसानहरु चिन्तित बन्दै गइरहेका छन् ।
किसानको समस्या समाधानका लागि विभिन्न तहका सरकार र सरोकारवाला निकायहरु गम्भीर हुनुपर्ने देखिन्छ ।

सरकारले बाँझो जमीनलाई उर्भर र उब्जनीयोग्य बनाउने लक्ष्य लिएसंगै यसका फाइदा युवा कृषकलाई प्रत्येक्ष रुपमा पुग्ने देखिन्छ भने यस्ता नीति तथा कार्यक्रमले युवालाई आफ्नै देशको माटोमा केही गर्नुपर्ने रहेछ भन्ने हौसला प्राप्त हुने पनि देखिन्छ ।
गाउँघरमा पशुपालक किसान मर्कामा परीरहेकोे अवस्था छ ।

गाई, भैँसी पालेर दूघ बेचेर जीवन चलाउने कृषकमा भने अझ बढी समस्या छ । दूघ बेच्दा दूध संकलक तथा डेरीले समयमा भुक्तानी नगर्ने धेरैको गुनारो छ । किसानले दूघको मूल्य कम पाउने तर उपभोक्ताले भने बढी मुल्यमा दूघ खरिद गर्नुपर्ने अवस्था छ । विचौलियाले दूघ उत्पादन गर्ने पशुपालक किसान र उपभोक्ताबीचको दूरी बढाएको देखिन्छ ।

विगतदेखिनै मर्कामा पर्दै आइरहेका किसानहरुको समस्याको हल अहिलेसम्म हुन सकेको छैन । राज्यले यस्ता किसानका लागि पक्कै केही सोच्नुपर्ने देखिन्छ ।

यसरी कृषि उत्पादनमै केही गर्छु भन्ने र जीवन धान्नकै लागि कृषि पेशा अपनाउनेहरुको पनि समयमै कृषि समस्याको समाधान गर्न राज्यले सक्नुपर्छ । अन्यथा किसानहरु बैदेशिक रोजगारीमा जान बाध्य हुनेछन् । समस्याहरु दिनप्रतिदिन बढ्दै जानेछन् , त्यसकारण तपाई हामी सबै गम्भीर हुनु आवश्यक छ ।

आउनुहोस् किसानको सम्मानमा जुटौँ । समस्याबारे खुलेर बोलौँ ताकि सम्बन्धित सरोकारवाला पुर्याउन सकौँ । हामी कृषि प्रधान देशका नागरिक हौँ । मुलुकमा विभिन्न क्रान्तिहरु भए अब कृषि क्रान्ति गरौँ । मुलुक समृम्द्ध बनाउन हातेमालो गरौँ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*