तीन दशकपछि ठिंगन

सञ्जय साह मित्र
२०८२ बैशाख २२,सोमबार ०९:५२

अमूर्त चित्र उतारेको थिएँ तीन दशक पहिले ठिंगनको । २०५० को फागुन–चैतमा मकवानपुर गढीसम्म पुग्ने सजिलो बाटो थिएन, त्यत्तिखेरै हो, केही साथीहरुसित निकै कठिनाइका साथ गढी पुगेको । अनि त्यहाँबाट फेरि ढुंगेगढी पनि पुगेको । साँच्चिकै ढुंगेगढी पुगेपछि त्यहाँबाट फर्किने क्रममा पूर्वतिर हेरेको दृश्य अत्यन्त मनोरम थियो । त्यो आजसम्म पनि मस्तिष्कको कुनै स्टोरेजमा सेभ गरेर राखेको छु ।

त्यस समयमा जान नसकेको ठिंगन हो । हुन त ठिंगन निकै टाढा छ । हेटौँडाबाट काठमाडौँ जाने बाटोमा पर्छ तर पहाड र पहाडी जनजीवनलाई बुझ्न ठिंगनसम्मको यात्रा गर्नुपर्छ भनेर धेरैले भनेका थिए ।

हेटौँडामा म विद्यार्थी बनेर गएको वर्ष हो २०५० । मकवानपुर बहुमुखी क्याम्पसमा स्नातक पढ्न गएपछि विस्तारै त्यहाँको वातावरणमा घुलमिल हुन सजिलो भयो । साहित्य र पत्रकारितामा पनि वामे सरेको आधार वर्ष यसैलाई मान्न सकिन्छ । यद्यपि यसपूर्व पनि मैले केही रचनाहरु लेखेको तथा कतिपय पत्रिकामा समाचार पठाउने गरेको थिएँ । तर पनि मैले २०५०, जुन वर्ष हेटौँडा पुगें, लाई नै साहित्य, पत्रकारिता तथा शिक्षणको आधार वर्ष मान्ने गरेको छु ।

हेटौँडा पुगेपछि त्यहाँ आसपासका विभिन्न दर्शनीय तथा पर्यटकीयस्थलहरुको भ्रमण गर्ने इच्छा जाग्नु स्वाभाविक हो । वातावरण पाएपछि हेरिहाल्नु पर्छ । खल्तीमा पैसाको अभाव हुँदा र घुम्ने रहर हुँदा दुवैमा समन्वय गर्ने एउटै माध्यम हुन्छ – पैदल हिँडाइ । हो, मकवानपुरगढीको डाँडो छिचोल्दा परेको परिश्रम पनि सम्झेको छु । त्यस डाँडामा धेरैपटक पुगेको छु तर पहिलोचोटि पुगेको समयमै भने ढुंगेगढीसम्म पुगेको हुँ । ढुंगेगढीसम्म पुगेर फेरि हेटौँडा फर्किंदाको दिन जति आनन्द आएको थियो त्यसभन्दा बढी राति र भोलिपल्टसम्म जीउ दुखेर सताएको थियो । ज्यानले अलिकति दुःख पाएपछि प्राप्त आनन्दले भने अहिलेसम्म पनि ब्याज दिइरहेको छ ।

एक युग (करिब १२ वर्ष)को हेटौँडा बसाइँको क्रममा मकवानपुर जिल्लाका विभिन्न सुगम तथा दुर्गम स्थलहरुको भ्रमण गरियो । पुगियो, हेरियो । मूलतः साहित्यिक कार्यक्रमहरुको क्रममा नै हो मकवानपुरको अधिकांश भागसम्म पुग्न पाएको । अलिकति राजनैतिक कार्यक्रममा पनि कुदेको हुँ र अलिकति पत्रकारिताको कारणले पनि डुलेको हुँ । डुल्ने रहर भएकैले पैदल हिँड्न पनि कहिल्यै पछाडि परिएन । सायद सबै नवयुवाहरुलाई यस्तो हुँदो हो । मौका पाउनासाथ डुल्न निस्कने । कहाँ कहाँ पुगियो तर ठिंगन भने पुग्न सकिएन । ठिंगन पुग्ने इच्छा अधुरै बोकेर गृह जिल्ला रौतहट फर्किँदा झिनो आशाको दीपक भने मनमा बलिरहेको थियो – ठिंगनलाई नजिकबाट निहार्ने ।

यसपटक काठमाडौँ जानुपर्ने थियो । अनेक मार्गहरु चलनचल्तीमा छन् तर मेरो निरन्तर भनाइ रह्यो कि बाइकले जाऔँ र ठिंगनै भएर जाऔँ । रौतहटबाट सबैभन्दा नजिकको बाटो हुन्छ भन्ने आशा रुपरेखा देखाउने तर्क मैले निरन्तर दिइरहें । जाने तयारी हुन थाल्यो । तीन मोटरसाइकलमा छ जना जाने कुरा हुँदाहुँदै जानलाई तयार भएको अन्तिम दिनसम्म आइपुग्दा एक बाइकमा दुई जना मात्र हुने भयौँ । उही सदाबहार यात्रु ।

बज्जिका साहित्य संगम रौतहटका अध्यक्ष किशुनदयाल श्रीकृष्ण मोटरसाइकल चलाउने र म पछाडि बसेर धुलो छेक्ने ।

जुन दिन जानलाई तम्तयार थियौँ, त्यस दिन एउटा प्राविधिक समस्या आयो । एक दिन ढिलो गर्‍यौँ । किशुन सरको प्रस्ताव थियो, घरबाट पाँच बजे निस्कौँ । मेरो भनाइ थियो बिहानको छ बज्न दिऊँ । अन्तमा मध्यमार्ग अपनाइयो । शनिवार, १३ बैसाख २०८२ को बिहान साढे पाँच बजे घरबाट निस्क्यौँ । गरुडा चोकबाट सोझै चन्द्रनिगाहपुरसम्म पुग्दा अलिकति जाडो महसुस भइरहेको थियो तर चन्द्रनिगाहपुरबाट निजगढतिर लाग्दा जंगलमा भएको जाडोले पुस–माघलाई स्मरण गरायो । निजगढको पम्पमा पेट्रोल भरेर सहिद चोकबाट उत्तर लागी फास्ट ट्र्याक भएर बकैया गाउँपालिका हुँदै पश्चिमतिर लाग्दै मित्र राम अविकाशको घर पुग्दा ठिक ७ बजेको थियो । त्यहाँ चिया खाँदै अनेक विषयमा मन्त्रणा गर्दागर्दै जति हतार गर्दा पनि ठिक एक घन्टा व्यतीत हुन पुग्यो । समय बितेको यहाँ चालै पाएनौँ ।

अब अलिकति हतार हुन लागेको छ । खाना कहाँ खाने ठेगान छैन र उकालो लाग्नु छ बिल्कुलै नयाँ बाटो अर्थात् नदेखेको बाटो । रामधुनीबाट पश्चिमतिर लाग्दै शिवम् सिमेन्टको छेवै भएर उत्तर जाने बाटो नाप्दै डाँडाको फेदीमा पुगेर पश्चिमतिरको ढलानको बाटो लाग्दा सोझै पुगिने रहेछ कान्ति लोकपथ । अनि उकालो लाग्दै जाँदा पछाडि सर्दै जान्छन् मकवानपुरगढी, ढुंगेगढी, जितपुर आदि आदि । यस बाटोको विषयमा एक जना मित्रले भनेको सम्झना हुन्छ : “नेपाल पहाडै पहाडको देश हो भन्ने कुराको नजिकैबाट अनुभूति गर्ने हो भने कान्ति लोकपथ भएर काठमाडौँ पुग्नुपर्छ ।” जितपुरबाट अगाडि बढेपछि भने उनको कुरा प्रमाणित हुन थालेको अनुभूति हुन्छ । म किशुन सरलाई यो कुरा सुनाउँछु पनि । अहिलेसम्मको बाटो फराकिलो छ, बाटोमा खासै भीडभाड छैन । सक्नेले आफूले सके जति गतिमा बाइक कुदाइरहेका छन् । अभ्यस्त हुनुपर्छ यस बाटोसित । फेरि गाडी पनि बलियो चाहिन्छ । बलियो मुटु, अभ्यस्त हिँडाइ र पूर्ण नियन्त्रित सबारी साधन हो भने यो बाटो अहिलेसम्म जिलो लाग्दछ । बाटोको आफ्नै आनन्द छ । उकालो आउँदा बाइकको गति आफैँ कम हुन्छ र ओरोलो झर्दा विस्तारै बढ्ने हुन्छ । पहाडको बाटो उकालो र ओरालो नै हुन्छ । समथर त सायदै कतै भेटिन्छ । बाइक आफ्नै गतिमा गतिमान छ । लाग्छ कतै पूर्ण क्षमतामा गुडिरहेको छ र कतै लाग्छ धेरै नियन्त्रण गर्नु परिरहेको छ गतिमाथि । बाइकको गतिसँगै निरन्तर घट्दो छ दुरी र निरन्तर बढिरहेका छौँ अगाडि । सडकको साइडमा देखिने पिल्लरहरुले कति बाटो गुड्यौँ र अब कति बाँकी छ भन्ने देखाइरहेका छन् क्रमशः ।

 

जब निकट आउन थाल्छ ठिंगन तब म किशुन सरलाई बताउँछु – तीन दशकसम्म पुग्नलाई प्रतीक्षा गरेको ठाउँ हो यो ।

 

धेरै वर्षदेखि पुग्न चाहेको ठाउँमा पुग्दछौँ । ठिंगन पुगेपछिको त्यहाँको शीतल हावामा एउटा स्वच्छन्द सास लिन्छु । ठिंगनबाट हेर्दछु त्यहाँको वरपरको प्रकृति । प्रकृतिको धरातलमा मेरो विश्वसनीय स्वरुप देखिन्छ, नेपाली पहाडको । आहा, यो सुन्दरता निहार्नलाई मैले वर्षौंसम्म, दशकौँसम्म प्रतीक्षा गरेको हुँ । अति आनन्दले हृदय प्रफुल्लित हुन्छ ।

ठिंगन आफैँमा एउटा ऐतिहासिक ठाउँ हो । यो सुन्दर पहाडी बस्ती पनि हो । यदि नजिकको तीर्थ कसैले हेलाँ गर्नु छैन भने कृपया यहाँ एकपटक पुगेर उहाँको खाजा अवश्य खानुहोला । यो असाध्यै सुन्दर ठाउँ हो ।

मलाई लाग्दछ, मलाई धेरै दशकदेखि पर्खिरहेको ठिंगनले अन्ततः मेरो दर्शन पायो वा मेरो मनले धेरै वर्षदेखि पर्खिरहेको ठिंगनको स्पर्शले अलग्गै आनन्द प्राप्त गरेको छ । दुवैतिरको आकांक्षा पूरा भएको यो दिन आफैँमा विशेष महत्त्वको छ ।