सडक बालबालिकाका सारथि अर्पण पराजुली र ‘मामाघर’को गौरवगाथा
समाजमा यस्ता थोरै मानिसहरू हुन्छन्, जसको कर्मले अरूको जीवनको अन्धकारलाई उज्यालोमा बदल्ने सामर्थ्य राख्छ। हेटौँडाको माटोमा मानवताको सुगन्ध छर्ने एउटा त्यस्तै प्रेरणादायी नाम हो— अर्पण पराजुली। ‘मामाघर नेपाल’का संस्थापक पराजुली केवल एउटा संस्थाका नेतृत्वकर्ता मात्र हुनुहुन्न, उहाँ सडकमा हराउन लागेका सयौँ बालबालिकाका लागि एक भरोसायोग्य ‘अभिभावक’ र आशाको किरण हुनुहुन्छ।
अर्पण पराजुलीको यो सेवामूलक यात्राको जग निकै कठोर संघर्षबाट निर्माण भएको हो भन्ने कुरा मैले उहाँका केही अन्तर्वार्ता सुनेर तथा पत्रपत्रिकाहरूमा प्रकाशित सामग्रीहरू पढेर मात्रै थाहा पाएको होइन, बरु यी घटनाक्रमहरु मध्येका केही प्रतिनिधि घटनाहरुलाई नजिकबाट नियालेको छु । थाहा पाएको छु। सडक बालबालिकाको दयनीय अवस्थालाई केवल बाहिरबाट हेरेर मात्र पुग्दैन भन्ने सोचेर उहाँले करिब तीन महिना आफैँ सडकमा बसेर उनीहरूको जीवनको वास्तविक पीडा र भोगाइलाई नजिकबाट महसुस गर्नुभएको थियो। सडकको त्यही चिसो र तिरस्कारपूर्ण अनुभवले उहाँलाई केही गर्नैपर्छ भन्ने हुटहुटी जगायो, जसको परिणामस्वरूप २०५८ साल कात्तिक २७ गते ‘मामाघर नेपाल’ नामक परोपकारी संस्थाको स्थापना भयो।
पराजुलीको विचारमा जीवनको भोगाइ निकै गहिरो र मार्मिक छ। उहाँ प्रायः भन्ने गर्नुहुन्छ— ”मानिसको जीवनको सबैभन्दा ठूलो पीडा भोक हो र सबैभन्दा ठूलो डर मृत्यु हो।” सडकका बालबालिकाहरूले हरेक दिन यही अस्तित्वको लडाइँ लडिरहेका हुन्छन्। उनीहरूले भोगेको त्यही भोकको ज्वाला निभाउन उहाँले आफ्नो गाँस काटेर, आफू आधा पेट खाएर भए पनि ती नानीबाबुहरूको पेट भर्ने अठोट गर्नुभयो र आजसम्म अनवरत यही कर्ममा क्रियाशील हुनुहुन्छ। उहाँको त्यो पवित्र सोचमा केही मनकारी व्यक्तिहरूको पनि योगदान रहेको छ, जसले मामाघरलाई एउटा बलियो स्तम्भका रूपमा उभ्याएको छ।
केही वर्षअघिसम्म मामाघर नेपाल भाडाको घरमा बसेर सडक बालबालिकाहरूलाई आश्रय प्रदान गर्दथ्यो। स्थानीय सरकारका रूपमा हेटौँडा उपमहानगरपालिका र विभिन्न मनकारी व्यक्तिहरूको सहयोगले यस अभियानलाई आडभरोसा दिँदै आएका थिए। बालबालिकाका लागि खाद्यान्न, लत्ताकपडा, शिक्षा(दीक्षा, स्वास्थ्य र पुनस्स्थापनाका कार्यहरू सहज बनाउन अर्पण सरले गरेको निरन्तरको पहल र समर्पण नै आज यो संस्थाको मुख्य पुँजी बनेको छ।
सडकबाट मामाघर हुँदै हक्की खेलको पूर्व राष्ट्रिय कप्तानसमेत बन्नुभएका अधिकारी आज प्रतिष्ठित जीवन बिताइरहनुभएको छ। अर्पण सरकै छत्रछायामा पाएको शिक्षा र संस्कारका कारण अजय दाहालले एसईईमा ४ जीपीए उत्कृष्ट नतिजा ल्याएर संस्थाको शिर उच्च बनाउनुभएको छ र आफ्नो भविष्यलाई उज्यालो मार्गतिर अघि बढाउनुभएको छ।
उहाँले सडकबाट उठाएका नानीबाबुहरूलाई केवल गाँस र बास मात्र दिनुभएन, बरु शिक्षाको महत्त्व बुझाएर उनीहरूको भविष्यको मार्गचित्र पनि कोरिदिनुभयो। सडक बालबालिकाको ‘मामा’का रूपमा आज उहाँले जुन ख्याति कमाउनुभएको छ, त्यसमा उहाँको दिनरातको मेहनत लुकेको छ। उहाँ आफ्ना भान्जा-भान्जीहरूलाई सधैँ एउटा मन्त्र सिकाउनुहुन्छ— ”किताबको पानामा लेखिएका अक्षर केवल अक्षर मात्र होइनन्, तिम्रो जीवनको सफलताको सूत्र पनि हुन्।” उहाँको यही धारणाले गर्दा नै आज मामाघरका भान्जाहरूले अक्षरभित्र आफ्नो भविष्य देखेका छन्। धेरै बालबालिकालाई उहाँले आजको कठिन बाटो पनि भोलिका निम्ति सहज बन्न सक्छ भन्ने विश्वास दिलाउनुभएको छ।
यही शिक्षा र सही मार्गदर्शनको एउटा चम्किलो उदाहरण हुनुहुन्छ— राजु अधिकारी। कुनै समय सडकका कठोर मोडहरूमा रुमल्लिएका राजु आज मामाघरको छहारी र अर्पण सरको प्रेरणाका कारण सफलताको सिँढी चढ्न सफल हुनुभएको छ। राजुको प्रगतिले यो प्रमाणित गरिदिएको छ कि सही संस्कार र शिक्षा पाउने हो भने मानिसले आफूलाई हीरा बनाउन सक्छ। राजु आज केवल एक व्यक्ति मात्र नभई मामाघरको विश्वास र अर्पण सरको मेहनतको एउटा जीवन्त प्रतिविम्ब बन्नुभएको छ। सडकबाट मामाघर हुँदै हक्की खेलको पूर्व राष्ट्रिय कप्तानसमेत बन्नुभएका अधिकारी आज प्रतिष्ठित जीवन बिताइरहनुभएको छ। अर्पण सरकै छत्रछायामा पाएको शिक्षा र संस्कारका कारण अजय दाहालले एसईईमा ४ जीपीए उत्कृष्ट नतिजा ल्याएर संस्थाको शिर उच्च बनाउनुभएको छ र आफ्नो भविष्यलाई उज्यालो मार्गतिर अघि बढाउनुभएको छ।
सामाजिक काममा निरन्तर सक्रिय अर्पण पराजुलीको व्यक्तित्व एउटा खुला किताब जस्तै छ, जहाँ सेवा, त्याग र करुणाका अक्षरहरू कोरिएका छन्। उहाँ एक परोपकारी समाजसेवी मात्र नभई सडक बालबालिकाको समस्या समाधानमा नवीन ढङ्गले लाग्नुभएका एक कुशल सामाजिक अभियन्ता पनि हुनुहुन्छ। आफ्नो व्यक्तिगत जीवनभन्दा माथि उठेर सडक बालबालिकाको भविष्यका लागि समर्पित उहाँको कथाले आज धेरैलाई सामाजिक कार्यमा लाग्न प्रेरित गरेको छ।
मामाघरले अहिलेसम्म ३०० भन्दा बढी बालबालिकाको उद्धार गरिसकेको छ भने करिब १५० जना बालबालिकालाई परिवारमा पुनर्मिलन गराएको सुखद तथ्याङ्क सार्वजनिक छन् । यी र यस्ता अनवरत परिश्रमले गर्दा मामाघर नेपाल एउटा संस्था मात्र रहेन, यो त ‘आफ्नो’ भन्नु कोही नभएकाहरूका लागि संसारकै सबैभन्दा प्यारो घर बनेको छ। राजु र अजयजस्ता भान्जाहरूको सफलताको यात्राले हामीलाई एउटै सन्देश दिन्छ— मानवताको सेवा नै संसारको सबैभन्दा ठूलो धर्म हो।
मामाघर नेपाल थप साधनस्रोतले मजबुत बन्नु आवश्यक छ। अहिले त झन् प्रदेश सरकार पनि छ। स्थानीय सरकार र प्रदेश सरकारले बालबालिकाको उन्नति र विकासमा लगानी गर्नु जरुरी छ। कसैको काख नभएका र साथ नपाएका बालबालिकालाई सरकारले संरक्षण प्रदान गर्नुपर्छ। आजका यी बालबालिकाले नै हो भोलि देशको भविष्य कोर्ने र देशलाई समृद्ध बनाउने। कम्तीमा बालबालिकाहरू सडकमा पुग्नु हुँदैन र सरकारले यसमा विशेष ध्यान पुर्याउनुपर्छ। सरकारले मामाघरजस्ता परोपकारी संस्थालाई साधनस्रोत दिनुपर्छ र बालबालिकाको शिक्षा, स्वास्थ्य, खेलकुद तथा न्यूनतम मानवीय आवश्यकताहरू सम्बोधन हुने वातावरण बनाउनुपर्छ।
अर्पण पराजुली जस्तो महान् सोच भएको व्यक्तित्व पाउनु हेटौँडा र सिङ्गो नेपालका लागि गर्वको विषय हो।
