समीर पाख्रिनको नाट्यकृति ‘परिणति’ माथि एक दृष्टि
साहित्यका प्रमुख चार विधा नाटक, काव्य, निबन्ध र आख्यानमध्ये निकै प्रचलित विधा हो नाटक । सबै साहित्यिक विधाको आफ्नै विशिष्टता रहे पनि नाटकको सबैभन्दा पृथक विशेषता भनेको मञ्चीयता हो । अन्य साहित्यिक विधाभन्दा नाटकलाई सर्वसाधारणको साहित्य पनि मान्ने गरिएको छ । नाटकमा साहित्यिक पाठक तथा मञ्चका अगाडिका सर्वसाधारण दर्शकसमेतलाई जोड्ने विधा मानिन्छ । अन्य विधाका केवल पाठकमात्र हुन्छन् भने नाटकका पाठक र दर्शक दुवै हुन्छन् । यसैले पनि नाटक निकै लोकप्रिय भएको हुनुपर्छ । साहित्यमा नाटकलाई सबैभन्दा लोकप्रिय विधा मान्नुको कारण पनि यही नै हो । यद्यपि पछिल्लो समय नाटक लेखन, पठन र प्रदर्शनको क्रममा भने केही कमी आएको छ । नाटकको लोकप्रियता कम भएको होइन तर विभिन्न कारणले यसमा केही कम भएको भने अवश्य नै हो । यसैले वर्तमानमा पनि नाटक विधाका सर्जकलाई सजिलै चिन्न सकिने अवस्था छ । यस्तै नाटकमा आफ्नो पहिचान बनाएका एक सर्जक हुन् – समीर पाख्रिन ।
कथासँगै नाटकमा सक्रिय पाख्रिनको साहित्यिक यात्रामा दुवै विधा (आख्यान र नाटक)का कृतिहरु प्रकाशित भइसकेका छन् । मकवानपुरको हेटौँडामा बस्दै आएका साहित्यकार पाख्रिनको ठेगाना बाराको निजगढ पनि हो । लघुकथा, कथा, एकाङ्की र नाटक सिर्जना गर्दै अभिनय तथा निर्देशनमा समेत सक्रिय स्रष्टा पाख्रिनको चर्चित नाट्यकृति हो – परिणति । आफैँ प्रकाशक रहेर पाख्रिनले मङ्सिर २०७८ मा प्रथम संस्करण निकालेको नाट्यकृति ‘परिणति’ बगलामुखी अफसेट प्रेसमा छापिएको हो । समर्पणमा नाटककार लेख्छन् – मेरा बाआमाप्रति यो कृति समर्पित छ जसले मलाई सिर्जना गर्न सक्ने योग्य बनाए ।
नाटककार पाख्रिन लेख्छन् – “यस पुस्तकका कथानक, घटना, स्थान, पात्रपात्रा सबै काल्पनिक हुन् । यसैले कसैको जीवनसित मेल खाएमा संयोग मात्र हुनेछ ।” यति लेखिरहँदा पनि यस कृतिमा आएको कथानक यथार्थजस्तै लाग्छ, घटनाहरु पनि कतिपय धेरै ठाउँमा मेल खाने वा सामान्यजस्तै देखिन्छन्, स्थानहरु करिब यथार्थ नै छ र पात्रपात्राहरु नेपाली जनजीवनकै छन् । अर्थात् मलाई वा सम्पूर्ण पाठकलाई संयोग मात्र भएको पनि हुन सक्छ ।
नाटकमा एक भ्रष्टले अकुत सम्पत्ति कमाउँछ, कानुनको फन्दामा पर्छ र मुक्त भएपछि सम्पत्तिको सम्पूर्ण मोहमात्र नभई पारिवारिक जीवनको मोहबाट पनि विमुख भई बौद्धमार्गमा हिँड्दछ । कथानकको ढाड यही हो । कथानकले एउटा परिवारको सम्पन्नताको यात्रा, चारैतिर सुख र आनन्द, धनको लालच अनि जेल गमन, पारिवारिक विग्रह, बिजोग, व्यथा र पीडा, मोहभंग, जीवन दर्शनलाई बुझ्नु, सन्न्यास ग्रहण, आध्यात्मिक यात्रा, मिलन र अध्यात्मकै माध्यमले सुखद अन्त्य अगाडि बढेको छ । आरम्भ, उत्कर्ष र समापनको रैखिक शैलीमा बुनिएको कथानक सबै दृष्टिले सुन्दर छ ।
बहुपात्र विधिको प्रयोग गरेर लेखिएको प्रस्तुत नाटकमा सबै किसिमका पात्र छन् – नायक, सहनायक, खलनायक, मुख्य, सहायक तथा गौण र महिला तथा पुरुष । कथानकको आवश्यकता, घटना विस्तार, उपकथानकको पुष्टिमा अनेक किसिमले पात्रको भूमिका रहेको भए पनि मुख्य पात्र शिवप्रसाद हो । आरम्भमा जीवनको उत्साह हुने शिवप्रसाद अन्तिमतिर लोभ र मोहबाट मुक्त हुन्छ । सबै किसिमको जीवन भोग्दै, जीवनलाई सहँदै, अन्तमा शान्तिको प्राप्ति गरेकोले शिवप्रसादलाई नायक पात्र मान्न सकिन्छ ।
नाटकमा मुख्यतः काठमाडौँका विभिन्न स्थानहरु आएका छन् । भैरहवा र लुम्बिनीले पनि सम्मान पाएका छन् । अन्य केही स्थानहरु पनि आएका छन् । विदेशका विभिन्न ठाउँको नाम पनि स्मरण, सन्दर्भ र प्रसङ्गमा आएकै छन् । कार्यालय, घर, कोठा, होटल, चौर तथा अन्य किसिमले पनि कथानकमा स्थानको प्रयोग विश्वसनीय किसिमले गरिएको छ । नाटकको भौगोलिक परिवेश यथार्थपरक किसिमले चयन गरिएको छ ।
जसरी एउटा खोलो उत्साह लिएर जन्मन्छ, अगाडि बढ्छ, बिचमा पुगेर गति सुस्त हुन्छ, तितरबितर हुन्छ र अन्ततः समुद्रमा मिल्ने बेलामा सम्पूर्ण गति शान्त हुन्छ, त्यसरी नै यस नाटकमा पनि देखिएको छ । जसरी एउटा मानिस जन्मिँदा अनेक उत्साह, सपना तथा बेफुर्सदिलो हुन्छ र विस्तारै दायित्व बढ्दै जाँदा चाहनामा अनेक पखेटा उत्पन्न हुन थाल्छन्, देखासिकीलाई नै सफलता ठान्ने प्रवृत्ति हुन्छ, कुनै दुर्घटना हुन्छ र जीवन ओरालोतिर लाग्छ, यसबेला कमजोरले पनि हेप्न सुरु गर्छ, तर सम्हालिन जान्नुपर्छ, जीवन अनमोल छ, यसलाई सही अर्थमा बुझेर बाँकी समयलाई सार्थक लगानी गर्नुपर्छ, विगतको गल्तीप्रति पछुतो गर्नुपर्छ र अरुलाई पनि आफ्नो खुल्ला जीवनको उपदेश दिएर सही मार्ग चयनमा सहयोग गर्नुपर्छ, लोभमा वास्तविक सुख होइन, वास्तविक शान्ति त्यागमा छ, आनन्दलाई मनभित्र खोज्ने कला सिक्नुपर्छ, अन्त्य सुखद हुन्छ, यही कुरालाई त्यसरी नै नाटकमा देखाइएको छ ।
अंक विभाजन नगरिएको तर दृश्यहरु निकै धेरै भएको प्रस्तुत नाटकलाई एकाङ्की भन्न सकिँदैन । यद्यपि एक अङ्कको हो भन्ने नै लाग्दछ । ६९ दृश्य छन् । कुनै दृश्यमा केवल वर्णन मात्र छ । यद्यपि मञ्चीयता भने देखिन्छ । सम्वाद नहुँदा मौन मञ्चन पनि सम्भव छ । समग्र नाटकलाई मञ्चीयताको दृष्टिकोणले मञ्चीय मान्न सकिन्न किनभने उनान्सत्तरी दृश्यलाई मञ्चन गर्न सजिलो हुँदैन । नाटककारले नाटकलाई मञ्चीय बनाउन हरेक दृश्यमा आवश्यक वर्णन तथा निर्देशन दिएका छन् । मञ्चसज्जामा ध्यान दिएका छन् । कुनै कुनैमा दृश्य संयोजन गर्न अलिक अप्ठ्यारो हुने स्थिति पनि रहेको देखिन्छ तर डिजिटल युग आ दृश्य संयोजनमा अत्याधुनिक प्रविधिको उपयोग हुन थालिइसकेकोले असम्भव लाग्ने किसिमको केही छैन ।
संवादको दृष्टिकोणले पनि नाटक उपयुक्त छ । मञ्चीयताका लागि संवाद अत्यावश्यक तत्त्व हो । यद्यपि संवादविहीन दृश्यात्मक दृश्य पनि नाटकमा प्रयोग गरिएको छ । पात्रको उमेर र स्तर कथानक तथा परिवेशानुकूल सरल र सहज संवादको उपयोग नाटकमा गरिएको छ । संवादले अमेरिका तथा नेपालको तुलना गरेको अवस्था पनि धेरै ठाउँमा देखिएको छ । संवादले कथानकलाई अगाडि बढाउन, पात्रको मनोविज्ञान र वस्तुस्थिति बुझाउन तथा द्वन्द्व स्पष्ट पार्न सकेको छ । नाटककार पाख्रिनले संवादको धेरै शैलीलाई उपयोग गरेर यस नाटकलाई सफल बनाएका छन् ।
हाम्रो समाजमा एउटा भनाइ छ – अन्त भला त सब भला । यस नाटकको अन्त्य संयोगात्मक र सकारात्मक भावमा सन्तोषजनक छ । कथानकको विकास काल जति सहज छ, उत्कर्ष र अवरोह काल अत्यन्त पृथक छ तर निष्कर्षले दिने परिणति भने सन्तोषजनक छ । यस नाटकमा नाटककार पाख्रिनले आफ्नो भावनालाई राखेका छन् – बुद्धम् शरणम् गच्छामि, धर्मम् शरणम् गच्छामि । नाटकको अन्त्यतिर नेपथ्यमा गुञ्जिँदै मलिन हुँदै गएको ध्वनि ‘बुद्धम शरणम् गच्छामि’ नाटककारको अन्तर्मनको ध्वनि प्रतीत हुन्छ । नाटकका मुख्यपात्र शिवप्रसाद उक्त ध्वनिसँगै ‘सबैको नजरबाट ओझेल हुन्छन्’ भन्ने नाटकको अन्तिम वाक्यसँगै धेरै सन्देश दिन सक्षम छन् ।
र अन्त्यमा, यस कृतिले पाख्रिनलाई एक सफल प्रयोगवादी नाटककारका रूपमा स्थापित गरेका छन् भन्ने कुरामा कुनै शङ्का छैन । उनका कृतिहरूको अध्ययनपश्चात् निष्कर्ष निकाल्न सकिन्छ : नाटककार समीर पाख्रिन कथाभन्दा नाटकमा सफल छन् ।
(साहित्यमा मकवानपुरको महक : शृङ्खला ४४)
