प्रतिस्पर्धात्मक खेलमा यूएईलाई हराउँदै नेपालद्वारा ६ रनले विजयी

तु खबर संवाददाता
२०८३ बैशाख १८, शुक्रबार १९:०९
फोटो क्रेडिट : क्रिकेट एशोसियशन नेपाल (क्यान)

यूएईलाई ६ रनले हराउँदै नेपाल आईसीसी विश्वकप क्रिकेट लिग -२ मा विजयी भएको छ । निकै रोमाञ्चक खेलमा झिनो रनले नेपाल विजयी भएको हो ।

आज भएको भारी वर्षाका कारण डीएल मेथर्डअनुसार ३८ ओभरमा २५५ रनको लक्ष्य पाएको यूएईले ८ विकेट गुमाएर २४८ रन मात्र बनाएको थियो ।
यूएईका लागि मोहम्मद शाहदादले सबैभन्दा बढी ६५ बनाएका थिए । तर, त्यो रनले यूएईलाई विजयी लक्ष्यसम्म पुग्न पर्याप्त रहेन । उनले हर्पित सिंहसँग तेस्रो विकेटका लागि ८० रनको महत्वपूर्ण साझेदारी गरेका हुन् । हर्पितले भने ४१ रन बनाएका थिए । त्यस्तै आर्यशं शर्मा ३३, अदीब उसमानी १४, मोहम्मद जुहैब १ र कप्तान मोहम्मद वासिम ० रनमा आउट भए । खैजइमा विन तन्विरले २६ बलमा ४९ रन बनाउँदा अक्षदीप नाथ ३२ बलमा २६ रन बनाएर अविजित रहेका थिए ।

नेपालका तर्फबाट बलिङ गर्दै सन्दीप लामिछानेले ३ विकेट लिएका थिए भने सोमपाल कामी र नन्दन यादवले दुईदुई विकेट लिए ।

त्यसअघि नेपालले उपकप्तान दीपेन्द्रसिंह ऐरीको शतक मद्धतले निर्धारित ५० ओभरको खेलमा २८९ रन बनाएको थियो । उनले ९४ बलमा शतक पूरा गरेका हुन् । त्यस्तै बिनोद भण्डारीले ५६ रनको योगदान दिएका थिए । त्यस्तै अर्जुन कुमाल ११, गुल्सन झा ४४, आरिफ शेख ११ रनमा आउट भए भने भीम सार्कीले ० रन बनाए ।

आउँदो खेल नेपालले मंगलबार ओमानसँग खेल्ने कार्यतालिका छ ।