प्रधानमन्त्रीद्वारा विजेता खेलाडीलाई पुरस्कारको घोषणा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका नेपाली खेलाडीहरूलाई पुरस्कारको घोषणा गरेका छन् । विजेता खेलाडीहरूलाई शुक्रबार बिहान सरकारी निवास बालुवाटारमा सम्मान गर्दै प्रधानमन्त्रीले जनही तीन लाख रुपैयाँ पुरस्कार राशीको घोषणा गरेका हुन् ।
सो क्रममा प्रधानमन्त्री प्रचण्डले क्रिकेट प्रतियोगितामा खेलाडीहरुले मात्र नभई देशले नै विजेता हाँसिल गरेको भनि खुसी व्यक्त गर्दै देशको स्वाभिमान उच्च र राष्ट्रको गौरव बढेको बताए । उनले विश्वकप छनोटका लागि खेलाडीहरूलाई थप सफलता मिलोस् भनि शुभकामना दिए ।
उनले कीर्तिपुरस्थित क्रिकेट मैदानमा तत्काल आधुनिक फ्लटलाइट र स्कोर बोर्ड जडान गर्न राष्ट्रिय खेलकुद परिषदलाई निर्देशन दिने बताए । साथै उनले मूलपानी, चितवन लगायत देशका विभिन्न स्थानमा निर्माणाधीन क्रिकेट रंगशाला निर्माण कार्य तीव्रताका साथ अगाडि बढाउन नेपाल सरकारको तर्फबाट आवश्यक प्रबन्ध गर्ने प्रतिवद्धता व्यक्त गरे ।
बिहीबार आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा जित हात पारेसँगै नेपाल विश्वकप छनोटमा पुगेको छ । लिग टूको अन्तिम खेलमा युएईलार्य डिएल मेडथमा ९ रनले पराजित गर्दै नेपाल विश्वकप छनोटमा पुगेको हो । नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २६९ रन बनाएको थियो ।