राष्ट्रपति पौडेलद्वारा फेरि तीनवटा नयाँ अध्यादेश जारी

तु खबर संवाददाता
२०८३ बैशाख १९, शनिबार २१:१५
तस्बिरः राष्ट्रपतिको सचिवालय

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार तीनवटा नयाँ अध्यादेश जारी गरेका छन्।

नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम ती अध्यादेशहरू जारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

जारी गरिएका अध्यादेशहरूमा स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ र विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ रहेका राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

यस अघि हिजो शुक्रबार पनि राष्ट्रपति पौडेलले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी अध्यादेश जारी गरेका थिए ।

संसद् बैठक स्थगितको घोषणा गरेर सरकारले अध्यादेश ल्याएको हो । यसलाई राष्ट्रपतिले फिर्ता पठाउनुपर्ने माग उठेको थियो । तर, अन्ततः राष्ट्रपतिले यी अध्यादेशहरु जारी गरिदिएका छन् ।