काठमाडौंको बल्खु क्षेत्रमा पनि चल्यो डोजर

तु खबर संवाददाता
२०८३ बैशाख १८, शुक्रबार १८:३५

काठमाडौं महानगरपालिका वडा नम्बर १४ को बल्खु क्षेत्रमा अनधिकृत रूपमा बनेका घरटहरामा शुक्रबार बिहानदेखि डोजर चलाइएको छ। काठमाडौं महानगरपालिकाले बिहानैदेखि नगर प्रहरी र सुरक्षाकर्मी परिचालन गर्दै अतिक्रमित बस्ती हटाउने अभियान थालेको हो।

डोजर चल्न सुरु भएपछि कतिपय स्थानीयले आफ्ना सामान सुरक्षित स्थानमा सारिरहेका देखिन्थे भने कतिपय भने दशकौंदेखि बसोबास गर्दै आएको घर भत्किएको दृश्य हेर्न बाध्य भएका थिए।

बल्खु क्षेत्रसँगै नजिकैको वडा नम्बर ११ को वंशीघाट क्षेत्रमा पनि डोजर चलाइएको छ। यस्तै, वडा नम्बर १५ को स्वयम्भू, वडा नम्बर १६ को बालाजु तथा वडा नम्बर ३ र २६ अन्तर्गत पर्ने सामाखुशी, खाडिपाखा, रानीबारीलगायतका क्षेत्रमा समेत अतिक्रमित संरचना हटाउने काम अघि बढाइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार नै सूचना जारी गर्दै वैशाख १८ गते बिहान ७ बजेदेखि एकैपटक विभिन्न स्थानमा बस्ती खाली गराउने अभियान सञ्चालन हुने जानकारी दिएको थियो। सरकारी, पर्ती, सार्वजनिक तथा निजी स्वामित्वका जग्गा अतिक्रमण गरी बनेका अनधिकृत बस्तीहरू हटाउन तथा सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि यस्तो कदम चालिएको प्रशासनको भनाइ छ।

यसअघि वैशाख १२ गतेदेखि नै काठमाडौंको थापाथली, गैरीगाउँ, सिनामंगल र मनोहरा क्षेत्रमा रहेका सुकुमवासी बस्तीमा पनि डोजर चलाइएको थियो। त्यसपछि बाँकी रहेका क्षेत्रमा आजदेखि अभियान विस्तार गरिएको हो।