नेकपा संसदीय दलको बैठक सकियोः हेटौंडा र बाग्मतीको पक्षमा मतदान गर्न ‘ह्विप’

तु खबर संवाददाता
२०७६ पुष २५, शुक्रबार १३:४६
नेकपा प्रदेश संसदीय दलको बैठकमा सहभागी मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेशसभा सदस्य तथा पार्टी प्रदेश इञ्चार्ज अष्टलक्ष्मी शाक्यलगायतका नेता । फाइल तस्बिरः

हेटौंडा, २५ पुस । भर्खरै सकिएको सत्तारुढ दल नेकपा प्रदेश संसदीय दलले आफ्ना सांसदलाई प्रदेश ३ को राजधानी हेटौंडा र नाम बाग्मतीको पक्षमा मतदान गर्न ‘ह्विप’ जारी गरेको छ ।

बिहान साढे ११ बजेदेखि बसेको बैठकले नेकपा सांसदहरुलाई हेटौंडा र बाग्मतीको पक्षमा मतदान गर्न सकुर्लर जारी गरेको संसदीय दलका उपनेता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमकट्टेलले तु खबरलाई जानकारी दिए ।

उनले दलको निर्णय विपरित ‘फ्लोर क्रस’ गरेर मतदान गर्ने सांसदलाई दलिय कारबाही हुने बताएका छन् । संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री डोरमणि पौडेलले नेकपा सांसदहरुलाई हेटौंडा र बाग्मतीको पक्षमा मतदान निर्देशन दिएका छन् ।

प्रदेशसभा सदस्य तथा नेकपा मकवानपुरकी अध्यक्ष मुनु सिग्देलले संसदमा राजधानी हेटौंडा र नाम बाग्मतीको मात्रै प्रस्ताव लैजाने निर्णय भएको जानकारी दिइन् ।

हिजो बिहीवार बसेको दलको बैठकमा प्रदेशसभामा हेटौंडाको मात्रै प्रस्तान लाने वा पाँचवटै जिल्लाको प्रस्ताव लैजाने भन्ने विषयमा सांसदहरुबीच रस्साकस्सी चलेको थियो ।

छलफलका क्रममा केही सांसदले राजधानी अध्ययन सम्भाव्यता समितिले सिफारिस गरेको ५ जिल्ला संसदमा प्रस्ताव गर्नुपर्ने माग गरेका थिए । केहीले भने हेटौंडा र काभ्रेको मात्रै प्रस्ताव लैजानु पर्ने धारणा राखेका थिए । प्रतिवेदनमा काभ्रे, चितवन, नुवाकोट, भक्तपुर र मकवानपुर छनौट भएका थिए ।

संसदीय दलको पाँचौ बैठकले प्रदेशको राजधानी र नामाकरण सम्बन्धी विवादको निरुपण गरेको छ । यसअघि बसेका ४ वटा बैठकमा राजधानी हेटौंडा वा काभ्रे बनाउने विषयमा विवाद भएको थियो ।

राजधानी र नामाकरणको विषयमा सहमती हुन नसक्दा हिजो बिहीवार बेलुका अबेरसम्म बसेको उपलब्ध नेकपा केन्द्रीय सदस्यहरुको बैठकले आजको बैठकबाट ह्विप जारी गर्ने र प्रदेशसभामा हेटौंडा र बाग्मतीको मात्रै प्रस्ताव लैजाने निश्कर्ष निकालेको थियो ।

यो पनि पढ्नुहोस्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*