नेपाल–अमेरिका सम्बन्धलाई लगानी र आर्थिक साझेदारीमा विस्तार गर्न सभामुख अर्यालको जोड

तु खबर संवाददाता
२०८३ कार्तिक १०, सोमबार १८:५१

सभामुख डोलप्रसाद (डीपी) अर्यालले नेपाल र अमेरिकाबीचको सम्बन्धलाई परम्परागत अनुदान सहयोगमा मात्र सीमित नराखी लगानी र आर्थिक साझेदारीका क्षेत्रमा विस्तार गर्नुपर्ने बताएका छन्।

सभामुख अर्यालसँग अमेरिकी तल्लो सदनको वेज एन्ड मिन्स कमिटीका सभापति जेसन स्मिथ नेतृत्वको संसदीय प्रतिनिधिमण्डलले गरेको शिष्टाचार भेटमा दुई देशबीचको सम्बन्ध, आर्थिक सहकार्य, जलवायु परिवर्तनबाट उत्पन्न विपद् व्यवस्थापन र संसदीय सहकार्यबारे छलफल भएको हो।

भेटका क्रममा सभामुख अर्यालले रसुवा तथा भोटेकोशी क्षेत्रमा आएको बाढीबाट उत्पन्न विपद् व्यवस्थापनका लागि नेपाल सरकारले सक्दो प्रयास गरिरहेको बताए। विपद्का बेला अमेरिकाले नेपालप्रति देखाएको ऐक्यबद्धता र सहयोगका लागि उनले अमेरिकी सरकारलाई धन्यवाद दिए।

अर्यालले तान्जानियाको आरुषामा हालै सम्पन्न अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा नेपालले प्रस्तुत गरेको जलवायुसम्बन्धी विपद् सामना गर्ने र हिमालयलगायत जोखिममा रहेका क्षेत्रको उत्थानशीलता बढाउने विषयको आपत्कालीन एजेन्डा दुई तिहाइभन्दा बढी मतले पारित भएको जानकारी गराए।

जलवायु परिवर्तनका कारण जोखिममा रहेका क्षेत्रको क्षति न्यूनीकरण, विपद्पूर्व तयारी र विपद्पछिको पुनःस्थापनाका लागि अन्तर्राष्ट्रिय तथा अन्तरसंसदीय सहकार्य प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए। जलवायुजन्य विपद् व्यवस्थापनका लागि अनुदानमा मात्र निर्भर नभई आर्थिक तथा प्राविधिक क्षमता भएका राष्ट्रहरूले जिम्मेवारीपूर्वक सहयोग गर्नुपर्ने उनको भनाइ थियो।

नेपालमा लगानीमैत्री वातावरण निर्माण गर्न र लगानीकर्ताको विश्वास बढाउन आवश्यक नीतिगत तथा कानुनी सुधार गर्न सरकार प्रतिबद्ध रहेको पनि सभामुख अर्यालले बताए। उनले अमेरिकी संसद्का विभिन्न संसदीय समूह र नेपाल–अमेरिका संसदीय मैत्री समूहबीच नियमित संवाद तथा सहकार्य अघि बढाउनुपर्ने धारणा राखे।

भेटमा अमेरिकी प्रतिनिधिमण्डलले रसुवा तथा भोटेकोशी क्षेत्रमा बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको थियो। प्रतिनिधिमण्डलले पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै नेपालको आर्थिक, सामाजिक, भौतिक तथा मानवीय विकासमा निरन्तर सहयोग गर्न र दुई देशबीचको संसदीय सम्बन्ध थप सुदृढ बनाउन इच्छुक रहेको जनाएको थियो।

नेपालको प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदाको प्रशंसा गर्दै प्रतिनिधिमण्डलले नेपाल–अमेरिका सम्बन्ध मैत्रीपूर्ण र विश्वासमा आधारित रहेको पनि उल्लेख गरेको थियो। भेटमा प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति र संसदीय सुनुवाइ समितिका सभापतिहरूको समेत सहभागिता रहेको थियो।