पेन्सिलभेनियामा अन्धाधुन्ध गोली हानी ८ जनाको हत्या, आक्रमणकारीद्वारा आत्महत्या

तु खबर संवाददाता
२०८३ आश्विन २५, आईतवार १८:०९
तस्बिर: मार्टिन पोड्सियाड / अनस्प्लास

अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित इरी सहरमा शुक्रबार साँझ एक व्यक्तिले आफ्नै परिवारका सात जना सदस्यको गोली हानी हत्या गरेका छन् । उनले थप एक पारिवारिक साथीको समेत हत्या गरेका छन् ।

सबैको हत्या गरेपछि आक्रमणकारीले आफैंलाई गोली हानी हत्या गरेका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, मृतकहरूमा दुई जना बालबालिका र एक जना आठ महिनाकी गर्भवती महिलासमेत रहेका छन्। प्रहरी प्रमुख रिक लोराहले घटनालाई अत्यन्तै भयानक भनेका छन् । आफ्नो प्रहरी सेवाको अवधिमा यति दर्दनाक दृश्य कहिल्यै नदेखेको शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले बताए ।

प्रहरी टोली घटनास्थलमा पुग्दा घरबाहिर ५१ र ३७ वर्षका दुई महिला मृत अवस्थामा फेला परेको थियो । त्यसपछि प्रहरी घर भित्र प्रवेश गर्दा आरोपीसहित अन्य व्यक्तिहरू मृत भेटिएका थिए।

प्रहरीका अनुसार आक्रमणकारीसहित आठ जना एकै परिवारका हुन् भने बाहिर मृत भेटिएका दुई महिलामध्ये एक जना पारिवारिक साथी थिइन्। घरको पहिलो तलामा ५ वर्षका बालक र २२ महिनाकी बालिका मृत भेटिएका थिए भने दोस्रो तलाको सिँढीमा २४, ४४, १९ र २१ वर्षका चार जनाको शव फेला परेको थियो।

४५ वर्षीय आक्रमणकारीको शव पनि दोस्रो तलामा फेला परेको छ र उनको साथबाट ४० क्यालिबरको दर्तावाल पेस्तोल बरामद गरिएको प्रहरीले जनाएको छ ।