मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूतबीच भेट

तु खबर संवाददाता
२०८३ आश्विन २२, बिहीबार १९:४७

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सिता बादी र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेघन बोल्डिनबीच भेटवार्ता भएको छ। भेटमा बाढी प्रभावित क्षेत्रको पुनस्र्थापना तथा पुनर्निर्माण, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण र सामाजिक विकासका क्षेत्रमा नेपाल–अमेरिका सहकार्य थप विस्तार गर्ने विषयमा छलफल भएको हो।

भेटमा कार्यवाहक राजदूत बोल्डिनले रसुवामा आएको बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित परिवारप्रति समवेदना जनाएकी थिइन्। उनले बाढी प्रभावित समुदायको अवस्था र पुनस्र्थापनाका प्रयासबारे चासो राख्दै नेपालसँग सहकार्य गर्ने प्रतिबद्धता जनाइन्।

मन्त्री बादीले बाढीका कारण महिला, किशोरी तथा बालबालिकाको सुरक्षा, संरक्षण र शिक्षामा थप चुनौती सिर्जना भएको बताउँदै प्रभावित क्षेत्रको पुनस्र्थापना र पुनर्निर्माणमा अमेरिकी सहयोगको अपेक्षा व्यक्त गरिन्। सरकारले उद्धार, राहत, पुनस्र्थापना र पुनर्निर्माणका लागि उपलब्ध स्रोत, साधन तथा जनशक्ति परिचालन गरिरहेको जानकारी पनि उनले दिइन्।

भेटमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका विषयमा पनि छलफल भएको थियो। मन्त्री बादीले अमेरिकी विदेश मन्त्रालयको ट्राफिकिङ इन पर्सन्स (टीआईपी) प्रतिवेदनमा उल्लेख गरिएका विषयलाई नेपाल सरकारले गम्भीरतापूर्वक लिएको बताउँदै मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति २०८२ तथा राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा रहेको जानकारी दिइन्।

उनले पीडितको संरक्षण, अनुसन्धान तथा अभियोजन, पुनस्र्थापना र सहायता संयन्त्रलाई प्रभावकारी बनाउने काम भइरहेको बताइन्। नेपालले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी ऐन संशोधनको प्रक्रिया अघि बढाएको र सुरक्षित, व्यवस्थित तथा नियमित श्रम आप्रवासनका लागि राष्ट्रिय श्रम आप्रवासन नीति २०८२ समेत अपनाएको जानकारी दिइएको छ।

कार्यवाहक राजदूत बोल्डिनले मानव बेचबिखन नियन्त्रण र पीडितको संरक्षणका क्षेत्रमा नेपालसँग सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन्। साथै महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र अन्य सीमान्तकृत समुदायको संरक्षण तथा सशक्तीकरणमा दुई देशबीचको सहकार्य थप परिणाममुखी बनाउने विषयमा जोड दिइएको छ।