देव श्रेष्ठको जीवन यात्रा : एक कृति अनेक मूल्य

सञ्जय साह मित्र
२०८३ आश्विन ११, आईतवार २०:११

१. परिचय
देव श्रेष्ठको नामले सुपरिचित देवप्रसाद श्रेष्ठ हेटौँडा र समग्र मकवानपुरको लागि आफैँमा इमानदार पहिचान हो । शिक्षा, समाजसेवा, साहित्य, पत्रकारिता तथा राजनीतिसमेतमा निष्ठाको पर्यायको रूपमा रहेका श्रेष्ठ वाणी, संयम, बौद्धिकता, भद्रता तथा प्राज्ञिकताका धरोहर हुन् । अनेक क्षेत्रको आफैँमा इतिहास बनिसकेका श्रेष्ठ एकातिर इतिहासका स्रोत हुन् भने अर्कोतिर इतिहासका सर्जक पनि हुन् । संस्कृतिको क्षेत्रमा पनि ठुलो योगदान दिएका श्रेष्ठ वैचारिकताको दृष्टिकोणले पनि श्रेष्ठ नै हुन् । जीवनको ठुलो पाठशालाका एक प्रधानाध्यापक अनुभव, अनुभूति तथा भोगाइका विश्वविद्यालय बनिसकेका छन् । शिक्षाको आन्दोलनको इतिहासमा पनि चिनाइरहनु नपर्ने नाम देवप्रसाद श्रेष्ठको जीवनका अनेक व्यक्तित्व र हरेक व्यक्तित्वका अनेक महत्व रहेको कुरालाई अस्वीकार गर्न सकिन्न ।

२. विषय प्रवेश
२ अप्रिल १९४७ (वि.स.२००२) मा मकवानपुरको भीमफेदीमा पिता गंगाबहादुर श्रेष्ठ र माता मंगलादेवी श्रेष्ठको कोखबाट देवप्रसाद श्रेष्ठको जन्म भएको हो । शिक्षाशास्त्रमा स्नातकसम्मको औपचारिक अध्ययन गरेका श्रेष्ठ विभिन्न संघसंस्थामा आबद्ध छन् । अनेकौँ सामाजिक तथा शैक्षिक संघसंस्थाबाट प्रोत्साहित तथा सम्मान प्राप्त श्रेष्ठले हालै वासुदेव रिजाल स्मृति सम्मान पनि प्राप्त गरेका छन् । श्रेष्ठले पछिल्लो सम्मान प्राप्त गरेकै कार्यक्रममा नै श्रेष्ठरचित एक कृति सार्वजनिक भयो, जसको नाम छ – जीवनयात्रा । कृतिमा लेखकको नाम लेखिएको छ – देव श्रेष्ठ । देवप्रसाद श्रेष्ठको प्रचलित नाम हो – देव श्रेष्ठ । यहाँ श्रेष्ठको यसै ‘जीवनयात्रा’ कृतिलाई चर्चाको मूल विषय बनाइएको छ ।

३. ‘जीवनयात्रा’ कृतिको मूल्याङ्कन
हरेक कृतिको आफ्नो मूल्य हुन्छ । यस ‘जीवनयात्रा’ कृति आफैँमा विभिन्न कोणले मूल्यवान् देखिन्छ । शिक्षा, संस्कृति, साहित्य, राजनीति, इतिहास आदि अनेकौँ दृष्टिकोणले यस कृतिको मूल्याङ्कन गर्न सकिन्छ । यथार्थमा यो एउटा सूत्रात्मक कृति बन्न पुगेको छ, जसको जगमा अनेकौँ मूल्यको महल निर्माण सम्भव छ ।

३.१. जीवनीगत मूल्य
‘जीवनयात्रा’ जीवनीगत कृति हो । निसन्देह यसका लेखक देव श्रेष्ठको व्यक्तिगत जीवनीको बारेमा जानकारी पाइन्छ । माता जन्मेको परिवारको जानकारी, पिता जन्मेको परिवारको जानकारी, दुवै जना जन्मेको स्थान र अन्य जानकारी दिइनु कृतिको धर्म हो । लेखकको जीवनको इतिवृत्त यसमा रहेको छ । देव श्रेष्ठका जीवनका उतारचढाव, सङ्घर्ष र उपलब्धिको पनि स्वमूल्याङ्न हो यो । लेखकको जीवनी पढ्दा पाठकले पाउने शिक्षा वा सन्देश पनि निहित छ । कृतिको नाम ‘जीवनयात्रा’ रहेको र कृतिको विषयसँगै जीवनयात्राको मूल्य पनि स्थापित गर्न सकेकोले यस कृतिमा ‘जीवनयात्रा’ केवल बाँच्न वा यात्रा गर्नका लागि नभई यसले यात्रा गरेका बाटाहरूमा छोड्ने पदचिन्हहरूले पनि मूल्याङ्कन गर्ने रहेछन् भन्ने देखाउँछ । श्रेष्ठको जीवनका विविध पाटाहरूलाई कृतिले सूत्रात्मक रूपमा देखाएको छ । यो कृति आफैँमा एक इमानदार अभिव्यक्ति हो ।
कसैको जीवनी पढ्न चाहने वा आफ्नै वा अरु कसैको लेख्न चाहनेका लागि यो कृति आफैँमा एक उज्यालो बाटो बनेको छ ।

३.२. शैक्षिक मूल्य
‘जीवनयात्रा’ कृतिमा शिक्षासम्बन्धी अनेक मूल्य पाइन्छन् – विद्यालयहरूको स्थापना, शिक्षक र प्रअको रूपमा लेखक, शिक्षक आन्दोलन र प्रतिफल तथा शिक्षाको अवस्था । अन्य दृष्टिकोणले पनि यस कृतिको मूल्याङ्कन गर्न सकिन्छ । यस कृतिले मकवानपुरमा औपचारिक शिक्षाको इतिहास लेख्न पनि सजिलो बनाइदिएको छ ।

३.२.१. विद्यालयहरूको स्थापना
तत्कालीन अवस्थामा जिल्लाको केन्द्रको रूपमा मात्र नभई नाकाको रूपमा रहेको भीमफेदीमा विद्यालयको स्थापना, हेटौँडामा शिक्षाको सुरुआत, भुटनदेवी तथा आधुनिक माविको स्थापना र दुवैको अन्तर्कथाका साथै हेटौँडा स्कुल अफ म्यानेजमेन्टको स्थापना तथा सञ्चालनसम्बन्धी ऐतिहासिक तथ्यहरू उल्लेख गरिएका छन् । रात्रि विद्यालयको स्थापनामा पनि श्रेष्ठको भूमिका देखिन्छ । हेटौँडा कसरी शैक्षिक गन्तव्य बन्न पुग्यो र कसरी यहाँ शिक्षाको उज्यालोमा विपन्न समुदाय पनि आलोकित हुन पाएका छन् ? यी प्रश्नहरूको सरल जबाफ यस कृतिमा पाइन्छ ।

३.२.२. शैक्षिक व्यक्तित्व
देव श्रेष्ठको समग्र जीवन शिक्षामा नै समर्पित भएको देखिन्छ । पहिले शिक्षार्जन, त्यसपछि शिक्षकमा नियुक्ति, एकपछि अर्को विद्यालयको प्रअ, अनि विद्यालयको व्यवस्थापन समिति अध्यक्ष, महाविद्यालयको व्यवस्थापन समिति अध्यक्ष, विभिन्न ठाउँमा शैक्षिक सल्लाहकार आदि व्यक्तित्वलाई विचार गर्दा लेखक श्रेष्ठको जीवन शिक्षाका लागि नै समर्पित देखिएको छ । कुशल शिक्षक तथा कुशल प्रधानाध्यापक र कुशल व्यवस्थापकको रूपमा मकवानपुरे शिक्षाले श्रेष्ठलाई सम्मान गरेको छ । शिक्षक हुनु र शिक्षाका लागि सम्पूर्ण जीवन समर्पण गर्नुमा फरक हुने रहेछ । श्रेष्ठको समग्र जीवन आफैँमा एउटा शिक्षा हो ।

३.२.३. शैक्षिक व्यवस्थापक
देव श्रेष्ठ कुशल शैक्षिक व्यवस्थापक पनि हुन् । व्यवस्थापक पदका निम्ति उनका दुई व्यक्तित्व छन् – प्रधान अध्यापक र विद्यालय व्यवस्थापन समिति अध्यक्ष । हेटौँडाको पहिलो विद्यालयको रुपमा रहेको भूटनदेवी मावि तथा चर्चित विद्यालयको रूपमा रहेको आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयको प्रअको रुपमा श्रेष्ठले कुशल नेतृत्व र व्यवस्थापन प्रदान गरेका छन् । यसै गरी आरामावि र हेटौँडा स्कुल अफ म्यानेजमेन्टको व्यवस्थापन समितिको अध्यक्ष तथा सल्लाहकारको रूपमा आफ्नो कुशल व्यवस्थापकीय व्यक्तित्वको सुन्दर परिचय दिएका छन् ।

३.२.५. नेतृत्वकर्ता
प्रअ र विव्यस अध्यक्ष पद आफैँमा शैक्षिक नेतृत्वकर्ताको पद हो । हेटौँडाको शैक्षिक क्षेत्रमा अत्यन्त गर्व र श्रद्धाका साथ लिइने तीन शैक्षिक संस्था आरामावि, भुटनदेवी मावि र हेटौँडा स्कुल अफ म्यानेजमेन्टमा श्रेष्ठको नेतृत्वदायी भूमिका देख्न सकिन्छ । यस कृतिले दुई माविको प्रअ तथा आरामाविको विव्यस र हेटौँडा स्कुल अफ म्यानेजमेन्टको पनि विव्यस तथा सल्लाहकारमा रहेर निरन्तर काम गरेका छन् ।

३.३. ऐतिहासिक मूल्य
प्रस्तुत कृतिको ऐतिहासिक मूल्यलाई पनि दुई भागमा वर्गीकरण गर्न सकिन्छ – भौगोलिक इतिहास र शैक्षिक इतिहास ।

३.३.१. भौगोलिक इतिहास
प्रस्तुत कृतिमा मुख्यतः भीमफेदी र हेटौँडाको इतिहास पढ्न पाइन्छ । दुवै ठाउँको नामकरण र बस्ती विस्तारका बारेमा जानकारी पाइन्छ । कुनै वेलाको निकै चहलपहलपूर्ण र नाकाको रुपमा रहेको भीमफेदी बजार कसरी पछाडि पर्दै गयो, किन त्यहाँबाट सरकारी कार्यालयहरू, मानिसहरू हेटौँडा बसाइँ सरे र हेटौँडाको विस्तार कसरी भयो ? साथै हेटौँडा आसपासका बस्तीहरूको विकासको कथा पनि पढ्न पाइन्छ । आठ दश घर रहेको पीपलबोटबाट प्रादेशिक राजधानी बन्नुसम्मको हेटौँडा लेखकको आँखाअगाडि छ । पाठकले आफ्नै अगाडि इतिहास पाउँछन् । साथै भुटनदेवी मन्दिरको मिथकीय लोकविश्वास तथा सहिद स्मारकको स्थापनासमेत बारेमा पनि यसबाट यथेष्ट जानकारी पाउन सकिन्छ ।

३.३.२. शैक्षिक इतिहास
मकवानपुर कसरी शैक्षिक हब बन्न पुग्यो ? यसमा देव श्रेष्ठ र साथीहरूको योगदान कस्तो रहेको छ ? यस प्रश्नको जबाफ पनि पाइन्छ । साथै, अहिले शिक्षकले पाउने सेवा र सुविधा पहिले पाइरहेका थिएनन् । यसको लागि आन्दोलन भएको थियो । शिक्षकहरूको हकहितको लागि पहिलो आन्दोलन हेटौँडामा भएको र नेपाल राष्ट्रिय शिक्षक संगठनको स्थापना भएको इतिहास साक्षी छ । शिक्षा र शिक्षकको इतिहासका लागि अन्य स्रोत तथा सङ्केतहरू कृतिमा पर्याप्त छन् ।

३.४. राजनैतिक मूल्य
मानिस स्वभावैले राजनैतिक प्राणी हो । अझ बौद्धिक समुदायको विशेष अभिरुचि हुने गर्दछ । प्रस्तुत ‘जीवनयात्रा’ कृतिको अध्ययन गर्दा एक सचेत नागरिकको हैसियतले श्रेष्ठले ठुलो राजनीतिक योगदान गरेका छन् । इतिहासमा प्रसिद्ध चिसापानी आन्दोलन, हुप्र विरुद्धको आन्दोलन, थाहा आन्दोलन, प्रगतिशील चेतनाको प्रत्यक्ष र परोक्ष आन्दोलनमा श्रेष्ठको सहभागिता रहेको उल्लेख छ । व्यक्तिगत स्वार्थभन्दा निकै माथि उठेर पदलाई धरापमा पारी आन्दोलनमा लाग्नु चानचुने बुद्धिजीवीबाट हुने होइन । श्रेष्ठले प्राज्ञिक विवेकको प्रयोग गरी हरेक जनपक्षीय आन्दोलनमा प्रत्यक्ष र परोक्ष दुवै किसिमले लागेर निमुखा वर्गको हितको लागि सम्भव भएसम्मको कार्य गरेका छन् । राजनीति र राजनीतिकर्मीलाई विभिन्न किसिमले सकारात्मक सहयोग गरेको उल्लेख पाइन्छ । नेपालको राजनीतिमा सम्मानपूर्वक लिइने केही राजनेता र तिनीसित लेखकको सम्बन्ध केलाउन पनि यो पुस्तक उपयोगी छ । मकवानपुरको राजनीतिको बारेमा जान्न चाहनेले यस कृतिलाई अध्ययन गर्नैपर्ने देखिन्छ ।

३.५. सांस्कृतिक मूल्य
भीमफेदीमा मनाइने इन्द्रजात्रा लगायत तत्कालीन अवस्थाका विभिन्न मेला, चाडपर्व र उत्सवहरूको बारेमा पनि यसमा जानकारी पाइन्छ । यो पारिवारिक गन्थनको पुस्तक होइन । सामूहिक तथा सार्वजनिक सामाजिक चाडपर्वहरूको बारेमा यसमा जानकारी पाइन्छ ।
यसै गरी हेटौँडाकै प्रसिद्ध भुटनदेवी मन्दिरको बारेमा पनि पर्याप्त जानकारी पाइन्छ । भीमफेदी तथा हेटौँडाका संस्कृतिहरू यसमा धेरथोर जान्न पाइन्छ ।

३.६. पत्रकारितागत मूल्य
देव श्रेष्ठको जीवनको एउटा पाटो पत्रकारिता पनि हो । श्रेष्ठ आफैँमा पत्रकार हुन् । कुराकानी साप्ताहिक र हेटौँडा वाःपौको प्रकाशन तथा सम्पादनमा श्रेष्ठको मियो बनेर काम गरेका व्यक्तित्व हुन् । साथै कुराकानी र प्रयास साप्ताहिक प्रकाशित हुनुभन्दा पहिलेका मकवानपुरका पत्रिकाहरूको बारेमा पनि यसमा जानकारी पाइन्छ । मकवानपुरका पत्रपत्रिकामध्ये धेरै इतिहास भइसके तर कुराकानी साप्ताहिकलाई आजका पुस्ताले पनि उत्तिकै सम्मानका साथ सम्झिरहेका छन् । श्रेष्ठले पत्रकारिताको क्षेत्रमा पनि निकै ठुलो योगदान पुर्‍याएका छन् ।

३.७. साहित्यिक मूल्य
श्रेष्ठ साहित्यकार होइनन् भन्न पनि असजिलो छ । यस कृतिको सन्दर्भलाई विचार गर्ने हो भने यसको भाषा र शैली आफैँमा लोभलाग्दो छ । वेला वेलामा छोटा रचना र सम्पादकीय लेख्ने श्रेष्ठमा साहित्यिक खुबी रहेको र साहित्यको सम्मान गर्ने गरेको हेटौँडाको बौद्धिक समुदायले बुझेको छ । सयौँ मानिसको पहिलो रचना कुराकानीले छापेको छ र हेटौँडालाई साहित्यिक नगरी बनाउनमा कुराकानीसँगै देव श्रेष्ठको अतुलनीय योगदान छ । यस कृतिमा साहित्यिक कार्यक्रम तथा साहित्यिक–सांस्कृतिक कार्यक्रमको बारेमा पनि थोरै जानकारी दिइएको छ तर साहित्यिक–सांस्कृतिक इतिहासको अध्ययन गर्नेका लागि यो कृति अत्यन्त मूल्यवान् छ । मकवानपुरका प्रथम साहित्यिक व्यक्तित्व, गायक व्यक्तित्व तथा अन्य पक्षको बारेमा पनि यसले जानकारी उपलब्ध गराएको छ । लोककवि गणेशलाल श्रेष्ठको बारेमा यथार्थ जानकारी यसमा पाइन्छ ।

३.८. विविध मूल्य
‘जीवनयात्रा’ मा ‘मामाघर गएको सम्झना’मा तत्कालीन भौगोलिक तथा यात्राको परिवेशको सुन्दर दर्शन र बालमनोविज्ञान पाइन्छ । आज ती ठाउँले गरेको प्रगति र त्यो जमानाको अध्ययन गर्न सकिन्छ । ‘अङ्गदान गर्ने निर्णय’, ‘देश छाडेर जान्छन् किन ?’ र ‘हामी किन पछाडि छौँ’ प्रेरणामूलक सन्दर्भहरू हुन् । ‘भारत हाम्रो मित्र हो तर …’ पूर्णतः वैचारिक आलेख हो । ‘हेटौँडाका केही पर्यटकीय स्थलहरू’ भित्र मानव सेवा आश्रम, गुम्बा डाँडा, सहिद स्मारक, भुटनदेवी मन्दिर, कुष्माण्ड सरोवर, पाथीभरा मन्दिर, दिव्यसेवा निकेतन र मामाघरबारे सामग्रीहरू दिइएका छन् । ‘मानव सेवा आश्रम’ अत्यन्त प्रेरणादायी छ । यस कृतिको प्रेरणागत मूल्य रहेको छ ।

४. सीमाहरू
‘जीवनयात्रा’ जीवनीसित सम्बन्धित मूल्य भएको कृति हो । कृतिकारले आफूसित प्रत्यक्ष वा परोक्ष सरोकार राख्ने विषय, सन्दर्भ तथा विचारलाई राख्नुपर्छ । राखिएका सामग्रीसित आफ्नो सम्बन्ध पनि स्पष्ट पार्नुपर्छ । यस कृतिका कतिपय शीर्षक वैचारिक दृष्टिकोणले उपयुक्त, दार्शनिक दृष्टिकोणसे सुन्दर तथा सन्देशमूलक रहे पनि तिनीहरूको कृतिकारसित भावनात्मक सम्बन्ध मात्र रहेको देखाउँछन् ।
‘जीवनयात्रा’ का कतिपय उपशीर्षकहरू उमेरसँगै बग्नुपर्ने क्रममा राखिएको वा मिलाइएको पुष्टि हुँदैन । अझ अलिकति शृङ्खलित बनाउन सकिन्थ्यो । कतिपय सन्दर्भहरूले यथास्थान तिथिमितिको माग गरेका छन् ।

५. सन्देश र निष्कर्ष
राष्ट्रहित र समाज कल्याणका साथै निम्न वर्गको हकहितका लागि चट्टान झैँ उभिएको व्यक्तित्व देव श्रेष्ठको वैचारिक दृढता र त्यसप्रतिको निष्ठाको दर्शन कृतिमा पाइन्छ । जीवन उद्देश्यमूलक तथा सन्देशमूलक हुनुपर्छ । उद्देश्यका लागि जे जस्तो आँधीबेरी आए पनि, यात्राका अगाडि पहाड वा समुद्र नै आए पनि धैर्य र विवेकले काम लिनुपर्छ, वैरीसित सम्झौता गर्नुहुँदैन । जीवन आफ्नो त हो तर आफ्नो लागि मात्र हुनुहुँदैन । खेर जाने शरीरका अङ्गहरू अन्य कसैलाई काम लाग्छ भने दिनुपर्छ । स्वर्ग कतै होइन, जीवनमै सबै दुःख–सुख भोग्नुपर्छ । सम्भव भएसम्म देश र जनताको कल्याणमा समर्पित रहनुपर्छ । जीवनमा वैचारिकता तथा नैतिक आचरणको ठुलो मूल्य हुन्छ । नितान्म आफ्नो लागि भन्दा पनि आफू बाँचेर अरुका लागि पनि बाँच्नुमा जीवनको सार्थकता हो । कृतिका मुख्य सन्देश यस्तै छन् ।

‘जीवनयात्रा’ कृतिकार देव श्रेष्ठको जीवन र दर्शनलाई बुझाउने कृति हो । यो जीवनी मात्र होइन, आत्मकथ्य मात्र पनि होइन । आफैँले आफूलाई गरेको इमानदार मूल्याङ्कन हो, आफ्नो जीवनको सार्थकताको ऐना हो । सार्थक जीवनको साक्षात दर्शन हो । जीवन कस्तो हुनुपर्छ भन्ने सत्यापन गराउने अमूल्य ग्रन्थ हो । समय, परिवर्तन, वैचारिक उचाई, कर्तव्यनिष्ठता र दृढताको प्रतीक हो यो ‘जीवनयात्रा’ ।
(साहित्यमा ‘मकवानपुरको महक’ शृङ्खला ४८)