भीम विरागका दुई गजल: एक अध्ययन

सञ्जय साह मित्र
२०८३ भाद्र १७, बुधबार १७:५५

साहित्यकार भीम विरागको परिचय विभिन्न किसिमले आइसकेको छ । विराग मानवतावादी कवि, गीतकार, गायक तथा चिन्तक हुन् । साहित्यको अनेक क्षेत्रमा योगदान दिएका विरागका रचनाहरू अझै अनेक ठाउँमा छरिएर रहेका छन् । उनका रचनाहरू संकलन र सम्पादन गरी प्रकाशन गर्नुपर्ने आवश्यकता छँदैछ । बाराबाट प्रकाशन हुने नवप्रज्ञापन त्रैमासिकले २०७८ मा ९२औँ अंकलाई तत्कालीन अवस्थाको प्रदेश नम्बर २ गजल विशेषाङ्कको रुपमा प्रकाशित गरेको थियो । यस पत्रिकामा वीरगंज पर्साका भनी विरागका दुई गजल प्रकाशित छन् । दुवै गजल कालजयी छन् । मानवतावाद र राष्ट्रभावमा चुर्लुम्म डुबेका उनका गजलमा समसामयिकता पनि छ र शाश्वतता पनि ।

देशै दुखिरहेको बेला म हाँस्न सक्दिनँ
आँसु बोकी तिमीसँग माया गाँस्न सक्दिनँ

प्रथम गजलको आरम्भिका हो यो । यस शेरले एकातिर तात्कालिक परिवेशलाई बुझाएको छ भने वर्तमानमा पनि यो उत्तिकै सान्दर्भिक छ । यो गजल लेख्दाको समयमा देश आन्तरिक द्वन्द्वमा फसेको थियो र वर्तमान रसुवामा आएको भीषण बाढीको कठिन पीडा छ । दुवै सन्दर्भ वा यस्ता अन्य राष्ट्रिय पीडामा यो गजल उत्तिकै सान्दर्भिक हुन जान्छ । गजलको दोस्रो शेर पनि कम सान्दर्भिक होइन । यथाः

प्रीतिका बात छोड मनै रित्तिएछ मेरो
अँगालोभित्र ओठ जोडी म बाँच्न सक्दिनँ ।

गजलगो विरागमा रहेको विरागपन यसमा देख्न सकिन्छ अलिकति । गजलगो पीडाको घडीमा प्रीतिको पक्ष कमजोर हुने बताउँछन् । अनि तेस्रो शेरमा उनी अलिकति प्रतीकात्मक रूपमा तात्क्षणिक परिवेशलाई चित्रित गर्दछन्ः

मान्छेको सिकारी यहाँ मान्छे नै भएको छ
दाजुभाइ नासिएको देखेर म नाच्न सक्दिनँ ।

मानवतावादी कवि विरागको मानवतावादको दर्शन पनि यसमा छ । मान्छेले नै मान्छेलाई मारिरहेकोप्रति असन्तुष्टि पनि छ । मार्ने र मारिने दुवै दाजुभाइ नै हुन् । दाजुभाइमा मारामार चलिरहँदा आफ्नो मन दुःखी भएको र दुःखी मन नाच्न नसक्ने उनले अभिव्यक्त गरेका छन् । अर्को शेरमा मानवतावाद र राष्ट्रवादको मिश्रण यसरी गर्दछन् उनीः
शान्तिको प्रतीक थियो विश्वमै देश हाम्रो
कुन अबुद्धको आँखा लाग्यो भाँच्न सक्दिनँ ।

विश्वमा शान्तिको प्रतीक र गौतम बुद्धको देशको रुपमा पहिचान बनाएको हाम्रो देशमा कसैको आँखा लागेको आशंका गर्छन् उनी । आँखा लगाउनु एउटा टुक्का पनि हो । गजलकार विरागले चतुराइपूर्वक टुक्काको उपयोग गरेका छन् ।

अनि अर्को शाश्वत शेर गजलगो लेख्छन् यसमाः
कसैको मुहार उज्यालो देखिँदैन आजभोलि
फोका कति मुटुमा छन् म साट्न सक्दिनँ ।

देशको अवस्था र पीडा दर्शाएर गजलकार विरागले आफ्नो चाहनालाई प्रत्यक्ष रुपमा कस्तो देश हुनुपर्ने हो भन्ने भावना पोखिसकेका छन् । यद्यपि प्रत्यक्ष रुपमा गजलकार भन्दछन्ः

सबै मिली फूल रोपौँ हसाऔँ है देशलाई
आमाका आँसुसँगै कसैलाई साट्न सक्दिनँ ।

सबैभन्दा मूल्यवाद देश हुने यसमा बताइएको छ । आमा र देशलाई पर्यायवाची शब्दको रुपमा प्रयोग गरिएको छ । आमाको आँसुलाई कसैसित साट्न सकिने बताउँदै गजलकार विराग सबैले मिलेर फूल रोप्नुपर्ने र देशलाई हसाउनु पर्ने आह्वान गर्दछन् । गजलकार विरागको पहिलो गजल पूर्णतया राष्ट्रवादप्रति समर्पित रहेको छ ।

अनि दोस्रो गजल पनि निकै सशक्त रहेको छ । दोस्रो गजलमा पनि मानवता नै मुख्य विषयको रुपमा आएको छ । दोस्रो गजलको आरम्भिका यस्तो छः
विषलाई पिएर कसरी बाँचिरहेछ मान्छे
मृत्युलाई अँगालेर पनि हाँसिरहेछ मान्छे ।

निःसन्देह, साहित्यकार विराग मानवतावादी गजलकार पनि हुन् । मानवता र नेपाली राष्ट्रियतालाई गजलकार विरागले सिर्जन धर्मको मूल प्रवाहमा राखेका छन् । अनि त मानिसका अभ्यन्तरका पीडालाई पनि उनी खोतल्दछन् । विष र मृत्युलाई जितेर मानिस बाँचिरहेको सम्वेदित पक्षलाई उजागर गर्दछन् । बाँच्नु र हाँस्नुको साइनोलाई गजलकारले देखाएका छन् सहजतापूर्वक, हार्दिकताका साथ ।

दोस्रो शेर यस्तो छः
च्यातिन्छ तन्कियो कि कमजोर सारै हुन्छ मन
आफैँले आफ्नो मुटु कसरी टाँकिरहेछ मान्छे ।

मलम लगाउने मानिसको अभाव भएको पक्ष यसमा देखिएको छ । मानिसको मन च्यातिँदा आफैँले आफूलाई सान्त्वना दिनुपर्ने, आफूले नै आफ्नो मन टाँक्नुपर्ने सत्यलाई उजागर गरिएको छ । मन निकै कमजोर हुने पक्षलाई देखाउँदै सम्भव भएसम्म बलियो बनाउनुपर्ने अप्रत्यक्ष धारणा पनि यसमा अभिव्यक्त भएको पाइन्छ । गजलको तेस्रो शेरमा उनी भन्छन्ः
छोपिँदैन जब केहीले जीवनका कुनै अङ्ग जब
कात्रो नै बेरेर सिरमा किन मात्तिरहेछ मान्छे ।

सबै मानिस एक किसिमको हुँदैन । जीवन पनि एक किसिमको हुँदैन । जब कुनै समस्या पर्छ तब मात्र जीवनलाई फरक दृष्टिकोणले हेर्दछौँ । मानिसले हेर्ने दृष्टिकोणमा जीवन निर्भर हुन्छ बुझाइको सन्दर्भमा । कोही शिरमा कात्रो बेरेर मात्तिएको पनि देखिन्छ । हो, क्षणिक वा तात्कालिक परिवेशमा कतिपयमा आवेश वा निर्देशित मस्तिष्कले काम गरेको हुन्छ तर गजलकार यसमा असहमति दर्ज गराउँछन् ।

गजलको चौथो शेर यस्तो छः
ठुलो चोट खाई चुपचाप सहनेहरू धेरै छन्
सियोको घोचाइमा कसरी नाचिरहेछ मान्छे ।

दुई विपरीत ध्रुवको चिन्तनमा रचित यस शेरको पहिलो पङ्क्तिमा कतिपय मानिस यस्ता हुन्छन् जो ठुल्ठुला चोट चुपचाप सहन्छन् । ठुला चोट सहेर बस्नेहरू पनि रहेका छन् । मानिस परिस्थितिको दास हुन्छ । परिस्थितिले उसलाई सहने बनाउन सक्छ, बनाइरहेको हुन्छ । अनि, उही मानिस कहिलेकाहीँ सानो घोचाइले पनि रन्थनिन्छन् । यो पनि सम्भव छ कि उही मानिस कतै ठुला चोट सहन्छन् र कतै सियोको घोचाइमा पनि रन्थनिएर नाच्न थाल्दछन् । मानिस फरक तथा मानिसको प्रकृति पनि फरक हुन्छ । गजलको अन्तिम वा पाँचौँ शेर यस्तो छः

हाँसेर साँझलाई र रोएर रात काटिरहेछन्
मुटुभित्र व्यथाको सागर साँचिरहेछ मान्छे ।

मानिसको मनभित्र अनेक पीडाहरू छन् । पीडा र व्यथा लिएर मानिस बाँचिरहेका छन् । पीडा र व्यथा भूगोललाई पनि हुन सक्छ । देशको पनि पीडा हुन्छ । मानिसको पीडा हुन्छ । जो पीडामा हुन्छ, उसको साँझ, बिहान तथा रात पनि पीडामा नै बित्छ । अझ मुटुको पीडा त सबैभन्दा बढी पीडित तुल्याउने हुन्छ । अनि, मानिसहरूलाई पीडा लुकाएर बाँच्नुपर्ने हुन्छ । अरुलाई देखाउन साँझमा हाँस्नु पर्ने र एकान्त रातमा रुनुपर्ने स्थिति हुन्छ । मुटुमा अपार पीडा बोकेर मानिस बाँचिरहेका हुन्छन् ।

यथार्थमा मानिसको बारेमा कविता लेख्ने, मानिसका व्यथा बुझ्ने, मानिसको अवस्था बुझाउने तथा मानवलाई मानव नै भएर बस्नुपर्छ भन्ने साहित्यकार भीम विराग मानवलाई उच्च स्थान दिलाउने मानवतावादी गजलकार पनि हुन् । उनका उपर्युक्त दुई गजलले पनि साहित्यकार भीम विरागलाई मानवतावादी गजलकारको रूपमा रहेको साबित गर्छन् नै ।
(साहित्यमा मकवानपुरको महक : शृङ्खला ४७)