गर्नै नपाएको स्वागत

सञ्जय साह मित्र
२०८३ असार १८, बिहीबार ०७:२४

स्वागत गर्न नपाउँदाको अवस्थामा मनमा पछुतोको भाव उम्रिरहन्छ । अहिले पनि मेरो मनमा यो भाव उम्रिरहेकै छ । हेटौँडाबाट मेरो पैतृक गाउँ अत्यन्त फरक परिवेशमा पुगेका दुई मित्रलाई मैले खाजासम्म खुवाइन पाइनँ । पानीको लागि त सोधेको जस्तो पनि लाग्छ, अलिकति दही खाएर जानुहोस् । स्पष्ट सम्झना त हुन सकेन तर दही पनि नखाइकन फर्केको जस्तो लाग्छ ।

परिस्थिति अति विशिष्ट थियो ।

गत बैसाख २९ (२०८३) का दिन दुई हेटौँडेली मित्र राम अविकास र मसान उपासक पुर्नी गेडही, मेरो जन्मभूमि, आइपुगे । अरु बेला हो भने दृश्य नै फरक हुन्थ्यो । अलग्गै खुसी हुन्थ्यो मनभित्र । स्वागतको पृथक शैली हुन्थ्यो, भाव हुन्थ्यो । देख्नेबित्तिकै मनमा एक आश्चर्य उम्रियो । खुसी लागेको जस्तो पनि भयो, हल्का मुस्कानको एक स्पर्श मेरो अनुहारमा आयो होला पनि । नआओस् पनि कसरी, एक युगपछि अविकास गेडही आएका छन् र पहिलोपटक उपासकको आगमन भएको छ । अभिवादन आदानप्रदान स्वाभाविक छ तर मेरोतर्फबाट भएको अभिवादन भने स्वाभाविक पनि हुन गएको होला । मलाई सम्झना छैन । यस कुरोको पनि पछुतो रहिरहनेछ ।

बैसाख २९ गते मङ्गलवार । दिउँसोको समय । गेडहीस्थित घरको वरिवरि घुइँचो निकै बाक्लो थियो । आगन्तुकहरूको उत्कर्षको समयमा अति व्यस्तता हुनु अति स्वाभाविक पनि हो । पीडा र पीडा अनि फेरि पनि पीडा, पीडाको महासागरमा तैरिरहेको थिएँ । त्यस दिन मेरा परम पूज्य पिताको हाम्रो सांस्कृतिक तथा पारिवारिक परम्पराअनुसार तेह्रौँ तिथि थियो । अविकासजी र उपासकजी आइपुग्दा श्राद्धकर्मको औपचारिक विधि सम्भवतः भर्खर पूरा भएको थियो ।

बैसाख १७ गते मध्यरात्रीमा घरबाट फोनमा बुवाको स्वास्थ्य खराब भएको र तत्काल शिवनगर पुर्‍याउनुपर्ने भन्ने कुरा आएपछि तुरुन्तै श्रीमान्–श्रीमती गरुडाबाट गेडहीका लागि हिँडेका थियौँ । गेडही पुगेर बुवालाई स्कुटरमा राखी शिवनगरस्थित एक निजी अस्पतालमा भर्ना गर्‍यौँ । करिब एक घन्टाको उपचारपछि चिकित्सकले वीरगंज लैजाने सल्लाह दिए । म शिवनगरबाट आवश्यक तयारीका लागि गरुडा आएँ र केही पैसा लिई शिवनगर पुगेँ । बुवाको अवस्था स्थिर पनि थिएन । तत्काल एम्बुलेन्समा वीरगंजको लागि रिफर गरेपछि म र मेरा ठुलाबाका छोरा जेमिलाल साह एम्बुलेन्समा चढ्यौँ । बाटोमा अचानक मेरो मनमा एउटा भाव उम्रियो – माई फादर इज नो मोर । मोबाइलको स्क्रिन आफैँ उज्यालियो, हल्लिएर होला, बिहानको ४ बजेर ४९ मिनेट भइसकेको थियो । लगत्तै भाइ जेमिलालले एम्बुलेन्स रोक्न लगाए, अक्सिजन निकै कम लिइरहनुभएको थियो बुबा । वा, लिन छोडिसक्नु भएको थियो । धरती पूरै उज्यालिएको थिएन । मानिसहरु पनि बाहिर निस्किइसकेका थिएनन् । छिटो नजिकको कुनै स्वास्थ्य केन्द्रमा पुर्‍याउनुपर्ने बाध्यता थियो । बाराको हरनहिया पुग्न पाँचदेखि सात मिनेटसम्म लागेको हुनुपर्छ बढीमा । एउटा निजी अस्पताल, बन्द थियो तर बोलाउँदा एक स्वास्थ्यकर्मी बाहिर आए । छामे, हेरे, जाँचे र भनिदिए – उहाँ गइसक्नु भएको छ ।

सुनेको छु – पहाडतिर कम भइसकेको छ तर हाम्रो समाजमा श्राद्धको भोज खुवाउने चलन उत्कर्षमा छ । पहिले आफन्तले अलिकति पैसा पनि दिनुपथ्र्यो तर आजभोलि यो नातामा सीमित हुन पुगेको छ । पहिलेदेखि नै चलन के रहेको छ भने गाउँका आफ्नो जातका मान्यजनहरूलाई बसाल्नुपर्छ र मान्यजनहरूको निर्णयअनुसार खुवाउनुपर्छ । हामीले पनि मान्यजनहरूलाई बसालेका थियौँ, मान्यजनहरूले चटैया माग गरेका थिए । चटैयाको अर्थ हुन्छ करिब बीस गाउँका जातहरूलाई खुवाउनुपर्ने । हामीले गमाह स्वीकार गर्‍र्यौँ । हाम्रो गमाहमा मेरो आफ्नो गाउँ गेडही, जयनगर, सखुअवा, दीपही र पोठियाही गाउँ आउँछन् । वर्तमानमा हाम्रो कानु जातका मानिसहरूले ४ मन चामल (भात) खान्छन् भन्ने अनुमान छ । हामी दाजुभाइको पहिले नै सल्लाह भएको थियो – कच्ची होइन पक्की खुवाउने । कच्चीको अर्थ हुन्छ – भात, दाल, तरकारी, दही र अन्य । पक्कीको अर्थ हुन्छ – पुरी, तरकारी, जिलेबी (जेरी), चिउरा, दही र अन्य । हाम्रो प्रस्तावलाई मान्यजनसहितको भेलाले स्वीकार गरेको थियो । शान्ति भोज बैसाख २९ गते मङ्गलबार नै थियो । जात, आफन्त र गाउँलेसमेत गरी १,२००देखि १,६०० जति मानिसले भोज खालान् भन्ने पूर्वानुमान थियो । जब दुई हेटौँडेली मित्र गेडही आए तब त्यत्तिवेला सम्भवतः सबैलाई भोज खुवाउने अन्तिम तयारी चलिरहेको थियो ।

मनभित्र विशाल त्रास थियो – यत्तिका मानिसलाई खुवाउन कसरी सकिएला ? यद्यपि अनुभवीहरूकै सल्लाह र निर्देशनमा सबै कुरो तयार पारिएको थियो तर पनि सम्पन्न नहुँदासम्म मनमा डर हुनु स्वाभाविक थियो ।

यस किसिमको यज्ञमा धेरै किसिमका मानिसहरू आउँछन्, निम्त्याइन्छ । बोलाउनै पर्ने हुन्छ । मानसम्मान गर्नैपर्नेहरू, मानसम्मान खोज्नेहरू, सहयोग गर्नेहरू, मुख फुलाउनेहरू, हार्दिकतापूर्वक स्वीकार गर्नेहरू । अनि जो यज्ञकर्ता हुन्छ, सम्भव भएसम्म सबैलाई हेर्नुपर्छ । यथोचित सम्मान गर्नुपर्छ । एकातिर पिताजीको शोक र अर्कोतिर जिम्मेवारी । जिम्मेवारीको बोधले शोकको उत्कर्षमा पनि व्यस्त बनाउँदो रहेछ । पहिलोपटक मैले यस किसिमको अनुभूति पाएको हुँ । एकान्तमा रोइरहने म, राति वेला कुवेला बिथोलिने म, श्राद्धको दिन पनि रोएको थिएँ । मेरो क्रन्दन सुन्ने, मेरो पीडा बुझ्ने सम्भवतः कोही भएनन् । पिताजीको आशीर्वादको हात मेरो टाउकोमा आउन बन्द भइसकेको थियो । मलाई असाध्यै माया गर्ने मेरा पिताजी गाउँलेहरू, धार्मिक व्यक्तित्त्व, मठ र मन्दिरका साधुहरू सबैका दृष्टिमा परम समाजसेवी, धार्मिक र सहयोगी हुनुहुन्थ्यो । धेरै साधु तथा धार्मिक व्यक्तित्त्वहरू उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्न आएका थिए । सयौँ मानिस थिए, सबै किसिमका ।

हाम्रो सामाजिक मान्यता के रहेको छ भने जसको श्राद्धको भोज खान्छौँ तिनको नाममा पानी पिउँछौँ । अर्थात्, पानीले तरण गर्दछ भन्ने लोकआस्था छ । त्यस दिन, हाम्रो अनुमानमा १,३००देखि १,४०० मानिसले भोज खाएको हुनुपर्छ । अहिले पूर्ण निश्चित छुइनँ तर करिब साढे चार बजेदेखि सुरु भएको भोज राति दश बजेसम्म चलिरह्यो । यतिका धेरै मानिसले खाए, सयौँ मानिसको भोजन तिनको घर पुर्‍याइयो वा लगे तर हेटौँडाबाट मलाई माया गरेर, सम्मान गरेर, मेरा पिताजीप्रति श्रद्धा र सम्मान प्रकट गर्न, मलाई सहानुभूति दिन, पीडामा मलम लगाउन पुगेका दुई मित्रलाई मैले चियासम्म पनि सोध्न पाइनँ । साहित्यिक हृदय भएका दुवै मित्रले मेरो अवस्था र त्यहाँको तत्कालीन वातावरण बुझेको हुनुपर्छ, परिस्थितिको आँकलन गरेको हुनुपर्छ, अनुमान लगाएको हुनुपर्छ । त्यसभन्दा अघि गरुडातिर मसित भेट हुँदाको अवस्थामा मैले स्वागत गरेको हुनुपर्छ । मलाई लाग्छ, अविकासजी र उपासकजीति म सधैँ खुल्ला छु । हामीबिच हाम्रो परिस्थिति लुकेको छैन, हुँदैन । मेरो तत्कालीन परिस्थिति यस्तो थियो कि मैले यथार्थमा स्वागत गर्न नपाएको जस्तो लागिरहेको छ ।

हरेक संस्कृतिका मनिसले आफ्नो संस्कृति र सांस्कृतिक परिवेशलाई राम्ररी बुझेका हुन्छन् ।

अविकासजी केही महिना हाम्रो परिवेशमा घुलमिल गरेका व्यक्तित्त्व हुन् । मित्र उपासकजी पनि मलाई राम्ररी चिन्दछन् । मैले कुनै अवहेलना गरेको छैन र सम्मानकै भावले नै हेरेको हुँ । मलाई पछुतो छ, मैले स्वागत गर्न पाइनँ । त्यस दिनको भौतिक परिवेशलाई राम्ररी देखेका विचारवान् दुवै मित्रले यस तथ्यलाई विचार गरेको हुनुपर्छ, गर्छन् । अहिले पनि मलाई किन हो किन, दुवै हेटौँडेली मित्रलाई स्वागत गर्न नपाउँदो पछुतो लागिरहन्छ ।

(साहित्यमा मकवानपुरको महक : शृङ्खला ४५)