वरिष्ठ साहित्यकार मित्रलाई भारतमा ‘राजा विशाल सम्मान’

तु खबर संवाददाता
२०८३ भाद्र ३०, मंगलवार ०६:१५

वरिष्ठ साहित्यकार तथा तु खबरका सल्लाहकार / स्तम्भकार सञ्जय साह मित्रलाई भारतको वैशालीमा ‘राजा विशाल सम्मान’ ले सम्मानित गरिएको छ ।

बज्जिका, हिन्दी र नेपाली भाषामा साहित्य तथा अनुसन्धान र समीक्षा लेखिरहेका मित्रलाई भारतको वैशाली जिल्लाको लालगंजमा लिच्छवी साहित्य–संस्कृति तीर्थ ले ‘राजा विशाल सम्मान’ प्रदान गरेको हो ।

चर्चित साहित्यकार संजय पंकजको अध्यक्षतामा भएको कार्यक्रममा आयोजक संस्थाका कोषाध्यक्ष संतोष चौधरीले मित्रलाई सम्मान प्रदान गरेका हुन् ।

कार्यक्रममा बिहार विधानसभामा पश्चिम चम्पारणको सिकटाका निर्वाचित विधायक समृद्ध वर्मा र वैशालीको लालगंज विधानसभा क्षेत्रका निर्वाचित विधायक संजयकुमार सिंहसहित विभिन्न जिल्लाका प्रतिष्ठित साहित्यकारको सहभागिता रहेको थियो ।

भारतको बिहारमा सम्मानित साहित्यकार मित्रका नेपाली र बज्जिका भाषामा विभिन्न विधाका गरी डेढ दर्जनभन्दा बढी कृति प्रकाशित छन् ।

मित्रसँगै अन्य चार जना नेपाली साहित्यकारलाई पनि कार्यक्रममा सम्मानित गरिएको छ । बज्जिका प्रज्ञा प्रतिष्ठान नेपाल (काठमाडौँ) का अध्यक्ष इन्द्रजीत सहनी, अनलाइनमा बज्जिका कार्यक्रम संचालक सञ्जय महतो राज, शिवचन्द्र प्रसाद साह र रुपेश रोदनलाई “शोध प्रोत्साहन सम्मान”ले सम्मानित गरिएको हो ।

बज्जिका भाषाको जन्मभूमि मानिएको वैशालीमा नेपालीय बज्जिका साहित्यका रहरुलाई सम्मानित गरेपछि साहित्यकारहरुले खुसी व्यक्त गरेका छन् ।

कार्यक्रममा मन्तव्य व्यक्त गर्दै साहित्यकार मित्रले लिच्छवि संस्कृतिको खोजी र संरक्षण जरुरी रहेको बताएका छन् ।

साहित्यकारहरुले वैशाली जिल्लाको वसाढस्थित राजा विशालको दरबारको भग्नावशेष, अति प्राचीन शिव मन्दिर, नवनिर्मित बौद्ध स्तुप, अशोक स्तम्भसहितको शताब्दियौँ पुरानो बौद्ध बिहार, अभिषेक पुष्करणीसहित पर्यटकीय क्षेत्रहरुको भ्रमण गरेका थिए ।