कृष्णभीरको सडक खुल्न अझै १५ दिन लाग्ने

तु खबर संवाददाता
२०८३ भाद्र १६, मंगलवार १९:४१

पृथ्वीराजमार्गअन्तर्गत कृष्णभीरमा पहिरोका कारण सडक अवरुद्ध भएपछि काठमाडौँको मुख्य लाइफलाइन मानिने यो राजमार्गको यातायात प्रभावित भएको छ । सडक खुलाउन अझै कम्तीमा १० देखि १५ दिन लाग्ने भएको छ ।

भोटेकोशीमा आएको ठूलो बाढीका कारण त्रिशूली नदीमा पानीको बहाव बढेपछि कृष्णभीर क्षेत्रमा सडकको तल्लो भाग कटान भएको हो । सडकको तल्लो भाग कटानसँगै माथिल्लो भूभागमा समेत चिरा परेपछि पहिरो खसेर राजमार्ग अवरुद्ध भएको सडक विभागले जनाएको छ ।

अवरुद्ध सडकलाई १५ दिनभित्र सञ्चालनमा ल्याउने गरी सडक विभागले काम अघि बढाएको छ । विभागले प्राविधिक तथा भौगर्भिक विज्ञसहितको टोली कृष्णभीरमा परिचालन गरी सडक तत्काल सञ्चालनमा ल्याउने विकल्पबारे अध्ययन थालेको छ ।

कृष्णभीरमा स्थलगत अनुगमनपछि सडक विभागका सहसचिव चुणाराज ढकालले नदीमा आएको ठूलो बहावका कारण सडकको तल्लो भाग कटान भएको र माथिल्लो भूभागमा समेत चिरा परेका कारण पहिरो खसेको बताएका छन् ।

राजमार्गलाई उच्च प्राथमिकतामा राखेर तत्काल सञ्चालनमा ल्याउने गरी काम अघि बढाइएको विभागले जनाएको छ । विज्ञहरूको प्राविधिक रायका आधारमा सम्भव भएसम्म १० देखि १५ दिनभित्र राजमार्ग खुलाउने प्रयास भइरहेको छ ।

हालका लागि वैकल्पिक रुट तथा स्थानीय सडक प्रयोग गरेर यातायात सञ्चालन गर्ने तयारीसमेत गरिएको छ । पहिरो पन्छाएर तत्काल सिंगल लेनको बाटो सञ्चालनमा ल्याउन सकिने र सडकको भित्तो कटिङ गरेर केही माथिबाट सडक खुलाउन सकिने सम्भावनाबारे पनि विभागले अध्ययन गरिरहेको छ ।

यस घटनाले नदी करिडोरमा निर्माण हुने राजमार्गलाई आगामी दिनमा थप दिगो र विपद्–प्रतिरोधी बनाउनुपर्ने आवश्यकता देखाएको विभागले जनाएको छ । नदीमा आउन सक्ने उच्च बहावलाई ध्यानमा राखेर सडकको उचाइ बढाउने, वैकल्पिक लिंक तथा रुट विकास गर्ने, अग्ला पुल निर्माण गर्ने र आवश्यक स्थानमा साना सुरुङ बनाउनेजस्ता संरचनालाई प्राथमिकता दिनुपर्ने विभागको भनाइ छ ।